संरक्षण हुन सकेन ऐतिहासिक कान्द्राङ गढी

1619 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
कान्द्राङगढी,- नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा निर्माण भएको बिश्वास गरिएको ऐतिहासिक कान्द्राङ गढी प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।
धादिङ जिल्लाको महादेवस्थान गाविसको वडा नम्बर ५ कान्द्राङमा रहेको ऐतिहासिक गढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो । नेपाल एकिकरण हुनुभन्दा पहिले तत्कालिन मकवानपुर राज्य अन्र्तगतपर्ने कान्द्राङमा सेन वंशका राजाहरुले आफ्नो राज्य जोगाउन गढी स्थापना गरेको जनश्रुती रहेको छ ।
जिर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुङ्गाको पर्खाल लगाईएको छ भने गढी नजिकै तीन वटा ठुला ठुला सुरुङहरु देख्न सकिन्छ । घांस र झाडीले छोपिएको सुरुङ सुरक्षाका निम्ति वनाईएको हुन सक्ने अनुमान धेरैको छ । गढी रहेको स्थान उचाईमा रहनुका साथै त्यहांबाट धादिङ,मकवानपुर,गोरखा र चितवन जिल्लाका विभिन्न भुभागहरु सजिलै संग देख्न सकिन्छ । तत्कालिन शासकहरुले पनि दुष्मनहरु आफ्नो राज्यमा प्रवेश गर्न नपाओस भन्नाका लागि गढीको निर्माण गरि सुरक्षा व्यवस्था मिलाएको हुन सक्ने बुढापाकाहरु वताउंछन । केही बर्ष अघि सम्म गढीमा शिलालेख रहेको भएपनि संरक्षणका निम्ति कसैले चासो नदिंदा ति शिलालेखहरु अहिले हराईसकेका छन ।
तत्कालिन सेन वंशहरुको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकिकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । पृथ्वीराजमार्गको मलेखुवाट भण्डारा जोड्ने लक्ष्यका साथ निर्माण भईरहेको मलेखु भण्डारा सडक खण्डको छेवैमा पर्ने कान्द्राङ गढीलाई संरक्षण र प्रचार प्रसार गर्न सके पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने महादेवस्थान गाविसका सामाजिक कार्यकर्ता सुनवहादुर तामाङ बताउंछन । गढीको नजिकै हिउंद बर्षा जहिले पनि मोटर चल्ने भएकाले यस क्षेत्रमा पर्यटकिय सम्भावना रहेको तामाङको भनाई छ ।
ऐतिहासिक महत्व बोकेको कान्द्राङ गढीको संरक्षणका लागि राज्यको तर्फवाट कुनै चासो नदेखाईएपनि धादिङको गजुरीका रहेको नेपाली सेनाको सवुज गणको सैनिक टोलीले केही दिन अघि गढी क्षेत्रको सरसफाई गरेको थियो । ऐतिहासिक महत्व बोकेको कान्द्राङ गढीलाई संरक्षण गरेर पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न राज्यको तर्फवाट चासो देखाइनुपर्ने धेरैको सुझाव छ ।