धादिङका ९ गाविसका महिलाको निशुल्क स्वाथ्य परीक्षण

623 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  २ वैशाख – धादिङका ९ गाविसमा आङ खसेका महिलाहका लागि २ हप्ते बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी एवं नेदरल्याण्डको महिलाका महिला नामक संस्थाद्वारा सञ्चालित कार्यक्रममा मनमोहन मेमोरियल मडिकल कलेज तथा शिक्षण अस्पतालका स्त्री तथा प्रसुती विशेषज्ञ डा. मनोर दिन सैयदका साथै महिलाको लागि महिलाका तर्फबाट डा. अन्नामरी स्वार्ट, डा. नेट्टी स्वाफ्समा, डा.विल्मो डिर्नवर्ग र डा. प्रतिक्षा थापालगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरेको थियो ।

जिल्लाको सल्यानकोट, फूलखर्क, मुलपानी, बुढाथुम, बसेरी, आगिन्चोक, सल्यान्टार, त्रिपुरेश्वर र ज्यामरुङ गरी ९ वटा गाविसका आठसय महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उनीहरुमध्ये तीनसय जनाको रिङ पेसारी (खसेको आङलाई रोक्ने विशेष प्रकारको चुरा) प्रयोग गरिएको कार्यक्रम संयोजक उमा लोहनीले जानकारी दिनुभयो । चिकित्सकले अनावश्यक रुपमा पाठेघर निकाल्ने गरेको भन्दै गाउँमै आएर स्वास्थ्यकर्मीले निशुल्क उपचार गरिदिने काम सह्रानीय भएको स्थानीय बासिन्दाले बताएका थिए ।

आफूले हेरेका आठसय जना मध्य १५ जनाको मात्रै पाठेघर निकाल्नुपर्ने टोलीको निश्कर्ष रहेको प्रसुती विशेषज्ञ डा. मनोर दिन सैयदले बताउनुभयो । ‘आङ खसेका हरेक महिलालाई पाठेघर निकाल्नु पर्दैन,’ डा सैयदले भन्नुभयो, ‘हामीले धेरै महिलाको उपचार ब्यायामबाट नै गर्‍यौं, थोरैलाई मात्रै रिङ प्रयोग गरिएको छ ।’

वैकल्पिक उपचार पद्धती भएपनि दोस्रो चरणको आङ खसेका महिलाहरुलाई पाठेघर नै निकालिदिने प्रवृति गलत भएको भन्दै यो विषयमा थप अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।