धादिङ पोखरा सम्पर्क समितिमा शुभकामना आदान–प्रदान तथा क्यालेण्डर लोकार्पण

822 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 हरि पन्त
पोखरा – धादिङ–पोखरा सम्पर्क समितिले नववर्ष २०७० को शुभकामना आदान–प्रदान तथा वार्षिक क्यालेण्डर लोकार्पण कार्यक्रम सोमबार सम्पन्न गरेको छ । समितिले प्रत्येकवर्ष शुभकामना आदान–प्रदान तथा क्यालेण्डर प्रकाशन गर्दै आएको छ । क्यालेण्डर प्रकाशनबाट प्राप्त आम्दानीले धादिङ जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयमा छात्रवृत्ति, राहत वितरण गर्दै आएको छ । समितिले क्यालेण्डर प्रकाशनबाट प्राप्त आम्दानीले गतवर्ष धादिङको ब्रुसवाङमा रहेका चेपाङहरूलाई खाद्यन्न तथा लत्ताकपडा प्रदान गरेको थियो ।
DSC02426सोमबार पोखरामा आयोजित एक कार्यक्रममा समितिद्वारा प्रकाशित २०७१ को क्यालेण्डरको लोकार्पण धादिङ मुलरीभञ्ज्याङ –४, निवासी ८१ वर्षीय वयोवृद्ध दुवलनारायण श्रेष्ठले गरेका थिए । त्यस अवसरमा बोल्दै श्रेष्ठले धादिङ समितिले पोखरामा निकै प्रशंसनीय काम गरेको भन्दै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले भने–‘पोखरामा धेरै धादिङवासीहरू हुनुहुन्छ । सबैलाई साथमा लिएर सहमति, सहकार्य र एकताको हातमा हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गर्दछु ।’
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णकुमार श्रेष्ठले धादिङवासीहरू एकहुनु आजको प्रमुख आवश्यकता भएको बताए । सल्लाहकार परिषदका अध्यक्ष एवं पूर्व अध्यक्ष रुद्रप्रसाद खनालले समाजिक क्षेत्रमा धादिङ समितिले अग्रणी भूमिका खेलेको भन्दै आगामी दिनमा पनि आफ्नो गरिमा र छविलाई कामय राख्न आग्रह गरे । समितिका सल्लाहकार एवं पूर्व वरिष्ठ उपाध्यक्ष केदार धमलाले समितिले पोखरामा गर्विलो इतिहास कायम गरेको भन्दै इतिहासलाई सदा कायम राख्न सबै धादिङवासी एकजुट हुनुपर्नेमा जोड दिए । क्यालेण्डर प्रकाशन समितिका संयोजक गुणप्रसाद सापकोटा (भरत)ले सुख, दुःख जेजस्तो भएपनि सबैको सहयोगले क्यालेण्डर प्रकाशन भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । धादिङ सहयोग संस्थाका अध्यक्ष वेनी पाठकले दुःखमामात्र समिति खोज्ने परम्परा बसेको भन्दै सुखमा समेत समितिको खोजी गरी सहकार्य गरी अघि बढ्न धादिङ वासीलाई आग्रह गरे । समितिका कोषाध्यक्ष लालप्रसाद पाठकले सबैको सहयोग र सद्भावले नै समिति अघि बढेको भन्दै एक मन र एकतावद्ध हुने सन्देश नयाँवर्षले दिओस भनि कामना गरे । समितिका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्सालले शुभकामना एवं स्वागत मन्तव्य र कार्यक्रम संचालन सचिव गोकर्ण अधिकारीले गरेका थिए ।
त्यसअवसरमा धादिङ निवासी वयोवृद्धहरू दुवलनारायण श्रेष्ठ, देवकुमारी लम्साल, लक्ष्मी अर्याल, वेदनीधि धरेल, हीरामाया श्रेष्ठ, पदमकुमारी धरेल, हेमाकुमारी शर्मालाईलाई सम्मान गरिएको थियो । धादिङको गतिविधि, समितिले गरेको कार्यहरू समेटेर प्रकाशित क्यालेण्डर समितिको संयोजक गुणप्रसाद सापकोटा
(भरत), उपसंयोजक हरि पन्त र सदस्यहरूमा सुदर्शन बसौला, समिर अर्याल र योगप्रसाद सापकोटा (नवराज) रहेका थिए भने समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल र कोषाध्यक्ष लालप्रसाद पाठकको विशेष सहयोग रहेको थियो ।