नव वर्षमा संविधान बन्ने अपेक्षा

620 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कपिलदेवा सापकोटा ( प्रकाश)

समय गतिशील छ । यसको प्रभाव अविच्छिन्न रुपमा अघि बढिरहन्छ । दिन, महिना र वर्ष हुँदै २०७० साल हामीबाट विदा भएको छ । ७ वर्ष अघिदेखि बन्न नसकेको संविधान दोस्रो निर्वाचन पश्चात केहि प्रक्रिया भने अगाडि बढेको छ । यो वर्ष जनताका आगामी दिन थप कष्टकर नबनोस् । तथापि कामना गरौँ २०७१ ले प्रत्येक नेपालीमा सुख, शान्ति र समृद्धिको बहर ल्याउनेछ साथै संविधान पनि ।
चालु वर्षको विदाई र नयाँ वर्षको स्वागतमा यसपटक पनि उसैगरी जुटेका छौँ हामी । पुराना क्यालेण्डर झुण्डिएका ठाउँमा नयाँ क्यालेन्डर झुण्डिन थालिसकेका छन् । खुसियाली शुभकामनाका कार्ड आदन प्रदान भइरहेका छन् । नयाँ वर्षको स्वागतार्थ हर्षोल्लास र उमङ्गका ज्वारभाटाहरु प्रत्येकका मनमा उडिरहेका छन् । भोलि आउने नयाँ विहानीको जागरणमा नै हामी जुरमुराई रहेका छौँ । त्यस्तै आउने अनेकौँ आस्थाका हाम्रा दिनमा नयाँ वर्षको दिन विशेष उल्लेखनीय रहन्छ ।पौराणिक, धार्मिक, सामाजिक, ऐतिहासिक आदि कारणले गर्दा पनि यस पर्वका रुपमा स्वीकार गरिएको पाइन्छ ।
वसन्त ऋतुको विशेष उल्लास, उमङ्ग र उत्साहमा नववर्ष पर्व धुमधामसँग मनाइन्छ । वसन्त पञ्चमी, फागू पर्व, नयाँ वर्ष जस्ता पर्वलाई आश्रय बनाएर आफूलाई ऋतुहरुको राजा सावित गरेको छ वसन्त ऋतुले । वसन्त ऋतुमा रक्त संचार तिब्र हुन्छ । यस अवधिमै कोइली पाँचवटा स्वरले खुसीमा गाउन थाल्दछ । पवनशीतल, मन्द र सुगन्धयुक्त हुन्छ । वसन्त ऋतुमा कामदेव उछीप्त हुन्छन् । भनिन्छ, वसन्तमा काम वासनाले अधिक सताउँछ । त्यसैले काम वासनाको पूर्तिको लागि वसन्त ऋतु नै श्रेष्ठ ऋतु हो ।
हामीले मनाउने नयाँ वर्ष विक्रम संवत्मा आधारित छ । विक्रम संवत् हामीहरुको राष्ट्रिय सम्वत् हो । हाम्रो नेपाली समाजमा रहेको वर्षको वैशाख १ गते नयाँ वर्ष मनाउने गरिन्छ । वि.सं. १९६०मा तत्कालिन प्रधान–मन्त्री चन्द्र शमसेरले विक्रम संवत्को अड्डा अदालतमा प्रयोग गर्ने परम्परा बसालेका थिए ।
नेपालीहरुले खुसी मनाउने नयाँ वर्षको दिन भौतिक परिवर्तनसँगै आउने प्राकृतिक परिवर्तन, धरातलीय जीवनका लागि आनन्दमय घडी हुने भएकाले प्राकृतिक परिवर्तनलाई तिथी, रीति, कला, बेला, दिन, महिना र वर्षमा परिभाषित गरी जीवनयापनका तथ्याङ्कको गणना गर्ने भएकोले वर्ष परिवर्तनलाई दिवसीय पर्वको रुपमा स्थान दिई मनाइँदै आएको छ । एक आपसमा नौलो अनुभूतिको सञ्चार गर्दै भेटघाट गर्ने एक अर्कामा शुभकामना आदन प्रदान गर्ने रमाइला समारोहमा उपस्थित हुन आमन्त्रण पत्रद्वारा आग्रह गर्ने, साथीभाइबीच भोज गर्ने जस्ता आडम्बरी र हल्का किसिमका दिनचर्याहरु प्रत्येक नव वर्षमा हुने गर्दछ । जसले राष्ट्र तथा सामाजिक उन्नति निमित्त कम भन्दा कम योगदान दिदैन ।
नेपाली आकाशले ७० वटा नव वर्ष झुल्काइसकेको छ यो वर्ष पनि नेपालीको घर दैलोमा सन्तोषजनक ढंगले सकुसल हाँस्न सकेनन् । समस्याका पहाडले बलेसी छेक्ने दुखियाका आँगनीमा कुनै पनि नयाँ वर्ष तेजिलो घाम बोकेर झुन्केन । हत्केलामा ठेला उठाएर बेचिएका पसिनाका धाराहरुमा नयाँ वर्ष एक छाक खाने, एक झुम्रो लगाउने सपनाको साकार रुप लिई तैरिएन । महंगीसँगै घरेलु हिंसाद्वारा क्षतविक्षत लोपोन्मुख अस्तित्व बोक्नेहरुका निमित्त नयाँ वर्ष शारीरिक तागत र समानताको न्यायिक तराजु बनेर आएन ।
यो पटक पनि हामी माझ नव वर्ष २०७१ साल उदाएको छ । देश पूर्ण रुपमा हाँस्न नपाएको विस्मात दोश्रो संविधान चुनाव पश्चात् मुस्कुराहट महंगीले ढाड सेकेका नेपालीहरुका खातिर सकारात्मक संकेत हुन सक्दछ । उत्साह, उमङ्ग, उल्लास हराएको नेपालीको बार्दलीमा नी मानवीय हर्षोल्लासहरु फर्किऊन् । पोख्त, परिपक्व र दवावरहित संविधान बन्ने मुस्कानमा चारैतिर खुसीयालीका दीप प्रज्वलित गर्दै भाँचिएका वासन्ती मुनाहरु फुलाउँदै सर्वत्र अखण्डता सहअस्तित्व र मेलमिलापको सराहनीय सन्देश हुँदै यसै वर्ष भित्र संविधानको सम्पूर्ण कार्य पुरा होस् भन्दै यस नयाँ वर्षले स्थायी शान्तिसँगै महंगीको सौगातमय सुवास ल्याओस् हामी सवै मिली यही हार्दिक शुभकामना अर्पण गरौँ ।