ब्रुसबाङका चेपाङलाई खानेकुरा र पानीको सधैं दुःख

745 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-केशव अधिकारी

ब्रुसबाङ÷धादिङ जिल्लाको दक्षिणी भेगको अति विकटमा रहेको बु्रसबाङस्थित चेपाङबस्तीमा केही महिना यता अन्नपात र पानीको संकट शुरु भएको छ ।यो समस्या पहिलो पटक देखा परेको भने होईन । आफ्नो जमिनमा फलेको अन्नले तीन महिना मात्रै धान्ने हुँदा बाँकी नौ महिना बु्रसबाङका चेपाङहरूलाई खानेकुराको संकट हुने गर्दछ । अम्दानीको श्रोत केही नभएका चेपाङहरू हरेक वर्ष महिनौं दिनसम्म चरम अन्न संकटको सामना गर्न बाध्य हुने गरेका छन् । घरमा खानेअन्न नहुंदा चेपाङबस्तिका ससाना केटाकेटी,गर्भवती,विरामी तथा जेष्ठनागरिकहरु सबैभन्दा बढि प्रभावित हुने गरेका छन ।
DSC09642 DSC09622घरमा खानेकुरा केही नभएपछि आफूहरू अहिले ‘ढुंगा खाऊँ कि माटो खाऊँ’ भन्ने अवस्थामा पुगेको बु्रसबाङका चेपाङहरू बताउँछन् । धादिङको महादेवस्थान गाविस वडा नम्बर–३ मा पर्ने बु्रसबाङमा २६ परिवार चेपाङ बसोवास गर्दै आएका छन् । महाभारत शृंखलाअन्तर्गत पर्ने दक्षिणी धादिङको सबैभन्दा माथिल्लो बस्तीका रूपमा बु्रसबाङलाई लिने गरिन्छ । एक बाली मात्र हुने भिरालो पखेराबारीमा फागुनमा छरेको मकै कात्तिक महिनामा मात्र पाक्ने हुँदा तीन महिना आफूहरूले मकैको ढिंडो र खोले खाए पनि बाँकी समयमा भने अन्न संकट हुने गरेको उनीहरू बताउछन् ।
चेपाङ समुदायका लागि घरवरिपरिको बारीको कान्ला र जंगलमा भेटिने सिस्नु र मासिदै गएको जंगली कन्दमूल प्राण धान्ने मुख्य आधार हुने गरेको बु्रसबाङका अगुवा ७६ वर्षिय टेकबहादुर चेपाङले बताउनुभयो । खोरिया बारीमा उव्जिएको अन्न सकिएपछि बु्रसबाङका चेपाङ परिवारले पुस महिनादेखि सिस्नु, टाँकीको मुन्टा, बेथेको सागका साथै गिट्ठा भ्याकुर खाएर जीवनयापन गरिरहेका छन् । बु्रसबाङका चेपाङ महिलाहरूका अनुसार सबै घरमा पुसदेखि खाने अन्न सकिएको छ । गाउँ नजिकै ज्याला मजदुरी गर्न जाने कुनै ठाउँ नभएको र टाढा जानका लागि आर्थिक अभाव भए पछि हातमुख जोर्ने उपाय नभएर जंगली कन्दमूल खाएर जीवन धान्न बाध्य हुनुपरेको बुद्धिमाया चेपाङले बताउनुभयो ।

घरमा अन्न सकिएपछि हरेक दिन खानेकुराको खोजी गर्न बिहानै जंगलतिर जानुपर्छ भने अर्कोतिर गाउँमा खानेपानीको पनि त्यत्तिकै दुःख छ । पानीको एक मात्र मुहान गाउं देखि तीन घन्टा तल बाङकुर्तिको भिरमा रहेको छ । गाउंवाट कुवामा पुगेर पानी ल्याउनुपर्दा अर्को बाध्यताले गर्दा बु्रसबाङका चेपाङ महिलाहरूको दैनिकी निकै कष्टकर बन्दै गएको छ । खानेपानीको व्यवस्था गर्न यहांका प्रत्येक घरमा एक एक वटा दुई हजार लिटरको प्लाष्टिक ट्याङकी वितरण गरिएको भएपनि अघिल्लो बर्ष भदौमा संकलन गरिएको पानी अहिले निख्रिसकेकाले पानीको जोहो गर्न गाउंवाट तीनघण्टा तल पुग्नुको विकल्प नरहेको स्थानीय सिद्धिवहादुर चेपाङले वताउनु भयो ।
धादिङ जिल्लाको जोगीमारा, धुषा, महादेवस्थान, बेनीघाट, गजुरी, पीडा गाविसका माथिल्लो बस्तीमा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ भने कुम्पुर, गोगनपानी, थांक्रे , नौबिसे लगायतका गाविसमा भने केही संख्यामा चेपाङहरू रहेका छन् । जिल्लाको १० गाविसका गरी चेपाङहरूको जनसंख्या झन्डै १८ हजार रहेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङ बताउनुहुन्छ ।
ब्रुसबाङमा खानेपानी र खाद्यान्न संकट मुख्य समस्याका रुपमा खाद्यअधिकारकर्मी राजेन्द्र बस्नेत बताउनुहुन्छ । बस्तिमा खानेपानी,खाद्यान्न, शिक्षा,स्वास्थ्य, विकास जस्ता कुनैपनि आधारभुत विकास र अधिकारहरु सहजरुपमा पुग्न नसकेकाले ब्रुसबाङका वासिन्दा बर्षौदेखि अत्यन्तै कष्ठ सहेर जिवन निर्वाह गर्न वाध्य भएको बस्नेतको भनाई छ । आयआर्जनको कुनै श्रोत नभएका कारण उनिहरुलाई खानेकुराको संकट पर्दा वजारमा गएर अन्नकिनेर ल्याउन पनि समस्या हुने गरेको छ । बढ्दो जनसंख्या र संरक्षणको अभावले जंगली कन्दमुलसमेत लोपहुने अवस्थामा पुगेकाले ब्रुसबाङवासीलाई जिवन निर्वाह गर्न निकै सकस हुने गरेको हो ।