नेविसंघकै लागि तीन पटक विवाह सारिसके

582 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

this is last page

उर्मिला थपलिया, पूर्व केन्द्रीय सदस्य नेविसंघ
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि सहमति दिइसकेको छैन, तर उर्मिला थपलियाले महामन्त्रीको उम्मेदवार बन्न तय भइसकेको आफ्नो विवाहको मिति तीनपटक सारिसकिन् । नेविसंघको राजनीति, पार्टीको अवस्था र व्यक्तिगत जीवनबारे उर्मिलासँग तरुणले गरेको कुराकानी :
० ‘कुन पदमा’ उठौं भनेर फेसबुकमा छलफल चलाउनु भएको थियो नि ?
– धेरैले अध्यक्षमै उठ्नुपर्छ भनेर सुझाव दिए । तर म आफूलाई महामन्त्रीको उम्मेदवारमा सजिलो महसुस गर्छु ।
० सभासद्को उम्मेदवार भइसक्नुभएको होइन र ?
– हो, जिल्लाले समानुपातिक उम्मेदवार त बनायो, तर केन्द्रले सभासद् बनाएन ।
० फेरि विद्यार्थी राजनीतिमै फर्किनु हुन्छ ?
– विद्यार्थी राजनीति गरें, त्यसको नेतृत्वमा पुग्न खोज्नु स्वाभाविक हो । निर्वाचित पदाधिकारी बनेर काम गर्ने इच्छा छ । त्यो इच्छा यो महाधिवेशनबाट प्राप्त हुनेछ भन्ने आशा राखेकी छु ।
० महाधिवेशन चाहिँ हुन्छ ?
– हुने भनेर मिति तोकिएर पटक–पटक रोकिएको अवस्था हो । यसपटक पनि हुँदैन कि भनेर शंका गर्नु स्वाभाविक हो । तर यसपटक महाधिवेशन हुन्छ भन्ने कुरामा म आशावादी छु ।
० के आधारले भन्दै हुनुहुन्छ यी कुरा ?
– अध्यक्ष रञ्जीत कर्ण सभासद् भइसकेका छन् । उनी यो पद जसरी भए पनि हस्तान्तरण गर्न चाहन्छन् । जिल्ला र क्याम्पसहरूमा अधिवेशन भइरहेको छ । त्यसकारण पनि अधिवेशन हुन्छ भन्ने लागेको छ ।
० पद हस्तान्तरण गर्न नेविसंघमा महाधिवेशन नै हुनुपर्छ र ?
– अधिवेशन नभई पद हस्तान्तरण भएको विगत नेविसंघसँग छ । यद्यपि यो इतिहास लेख्ने अवसर हो । यो अवसरलाई ऐतिहासिक बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । अखिल र अखिल क्रान्तिकारी दुवैले नेतृत्व छनोट गरिसके । लोकतन्त्रिक पार्टी कांगे्रसले पनि टीके प्रथाको अन्त्य गरी खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने वातावरण बनाउनुपर्छ ।
० नेविसंघको अधिवेशन नगर्दा के हुन्छ कांगे्रसलाई ?
– नेविसंघ भनेको कांगे्रसको नेता उत्पादन गर्ने नर्सरी हो । नर्सरीमा घामपानी र मलजलको सन्तुलन मिलायो भने मात्र बिरुवा हुर्किन्छ । कांगे्रसले भ्रातृसंस्थाको अधिवेशन नगरेकै कारण नेतृत्व जाममा परेको छ ।
० नेविसंघलाई लोकतान्त्रिक पार्टीको भ्रातृसंस्था भन्न लाज लाग्नुपर्ने होइन ?
– बेइज्जतै भइसक्यो नेविसंघको । पार्टी लोकतान्त्रिक भन्ने अलोकतान्त्रिक चरित्र देखाउनाले यो लाजमर्दो स्थिति सिर्जना भएको हो । अखिलमा नवीना लामा मसँगैकी हुन् । उनी कहाँ पुगिन्, मेरो हैसियत पूर्वकेन्द्रीय सदस्यमै छ ।
० कसले गर्दा अधिवेशन नभएको ?
– कुनै एक व्यक्तिलाई दोष दिने ठाउँ छैन । पार्टीको शीर्ष नेतृत्व नै यसको जिम्मेवार हो । पार्टीमा जहिलेसम्म यो साठी र चालीसको भागबन्डा लगाइन्छ, तबसम्म यो समस्या रहिरहन्छ ।
० जसको हातमा कमान्ड छ, उसले जिम्मा लिनुपर्दैन ?
– पार्टीभित्र दुई खेमा छ, यो खेमाले जहिले पनि नेतृत्व मेरो मान्छे आउनुपर्छ भन्छ । अब यसरी पार्टी चल्दैन, नेतालाई गाली गरेर समस्या समाधान हुँदैन । त्यसैले शीर्ष नेतृत्वले यसको निकास दिन ढिला गर्नुहुँदैन ।
० तपाईं चाहिँ कुन गुटको ?
– यो प्रश्न नै मेरा लागि दुर्भाग्य हो । पार्टीभित्र यस्तो प्रश्न गर्ने वातावरण बन्न दिनु हुँदैन । म व्यक्ति चिन्दनँ, कांग्रेसको अनुशासित कार्यकर्ता हुँ ।
० कति भयो राजनीतिमा संलग्न भएको ?
– स्कुलको विद्यार्थी हुँदादेखि नै नेविसंघमा छु । ०५२ सालदेखि नै धादिङको नीलकण्ठ स्कुलबाट राजनीति प्रारम्भ गरें । त्यसबेला म ६ कक्षामा पढ्थें ।
० तपाईं अहिलेसम्म विद्यार्थी ?
– हो, अहिले विश्वभाषा क्याम्पसमा फ्रेन्च भाषा अध्ययन गर्दैछु । त्यसअघि रसियन भाषा पढें ।
० राजनीति गर्नकै लागि क्याम्पस भर्ना हुनुभएको हो ?
– केही न केही त गर्नैप¥यो नि । त्यत्तिकै बस्नुभन्दा कलेजमा अध्ययन गरे ज्ञान हासिल हुन्छ र सँगै राजनीतिलाई अघि बढाउन सकिन्छ ।
० फ्रेन्च भाषा सिकेर के गर्नुहुन्छ ?
– ज्ञान हासिल गर्नु आफैंमा राम्रो हो । यही काम गर्छु भनेर फ्रेन्च भाषा मैले सिकेकी होइन । भाषा, साहित्य र संस्कृतिको अध्ययनले जीवनमा धेरै कुराको अर्थ राख्ने रहेछ ।
० नेविसंघमा महामन्त्री भइछाड्ने ?
– भात, पानी तिर्खा नभनी देशभरि गएर संगठन गरियो । महामन्त्रीमा ग्यारेन्टी जित्छु भनेर लड्न लागेकी होइन । देशभरका साथीभाइमाझ मेरो अवस्था कस्तो रहेछ, जान्ने इच्छा छ ।
० के गर्नुभएको छ ?
– आफैंले बेलिविस्तार लगाउन सुहाउँदैन होला । तर मैले संगठनका लागि धेरै गरेको छु जस्तो लाग्छ । नेविसंघको अवधारणा, संगठन विस्तार र पार्टीका लागि जुझारु कार्यकर्ता उत्पादनका लागि मैले धेरै त्याग गरेकी छु ।
० राजनीतिबाहेक के गर्नुहुन्छ ?
– कांगे्रसको शुभेच्छुक संस्था लेखक संघको केन्द्रीय सदस्य पनि हुँ । मेरो चारवटा पुस्तक सार्वजनिक भइसकेका छन् भने दुईवटा निस्कने क्रममा छन् । मेरो पुस्तक हाम्रो पुस्ताकालय भन्ने अभियान सञ्चालन गरेका छौं । गाउँगाउँमा पुस्तक पुगोस् भन्ने उद्देश्यले हामीले यो अभियान सञ्चालन गरेका हौं ।
० विवाह गर्नुभयो ?
– गरेको छैन, तर इन्गेजमेन्ट भइसक्यो । यही नेविसंघको अधिवेशनले गर्दा तीनपटक विवाहको मिति सरिसकियो । अब असारमा चाहिँ पक्कै हुन्छ ।
० अधिवेशनले विवाहलाई के फरक पार्छ ?
– विवाह गरेपछि केही समय घरपरिवारलाई दिनुप¥यो । संगठनका लागि यति धेरै मेहनत गरेकी छु, अधिवेशनका बेला पारिवारिक समस्या आइनलागोस् भनेर विवाहको मिति तीनपटक सारेकी हुँ ।
० दुलाह सोझो परेछन् जस्तो छ ?
– त्यसो होइन, दुवैजनाको सहमतिमा मिति सारेका हौं । मेरो समस्यालाई उहाँले मनन गरिदिनुभएको हो ।
० दुलाहा कहाँ फेला पार्नुभयो ?
– उहाँले पहिलेदेखि नै मलाई मन पराउनुहुँदो रहेछ । उहाँ मोहन आचार्य । पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको सहयोगी हुनुहुन्छ । महेन्द्र मरासनीमार्फत कुरा आयो, त्यसपछि मैले पनि उहाँलाई मन पराउन थालें ।
० मन पराउँन थाल्दा उहाँको बडिल्याङ्ग्वेज कस्तो थियो नि ?
– त्यो त म कसरी भन्न सक्छु । केटा मान्छेको हाउभाउ सबैलाई थाहा भएकै हो नि ।
० डाइरेक्ट प्रस्ताव राख्न सक्नु भएन छ नि ?
– नराखे पनि के भयो र । उहाँले मन पराउनुभयो, मैले पनि यत्तिको साथीबाट जीवनयात्रा सरल बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालें । हामी दुवै सन्तुष्ट छौं ।
० मन बुझाउन डेटिङ जानुहुन्छ होला नि ?
– फुर्सद खोइ डेटिङ जाने ? उहाँ जहिले व्यस्त, म कहिले रुकुम पुगेकी हुन्छ, कहिले रोल्पा ।

-नेपाल व्रिटेन डट कमबाट