खाना मात्र होइन, पानी पनि छैन चेपाङबस्तीमा

619 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

धादिङ, वैशाख १५ – धादिङको महादेवस्थान गाविस– ३ स्थित बु्रसबाङका चेपाङ समुदाय बर्षौदेखि खानेकुरासंगै खानेपानीको पनि समस्या झेल्दै आईरहेका छन ।

सवैभन्दा पिछडिएको बस्तीका रुपमा चिनिएको ब्रुसबाङ पुग्न पृथ्वीराजमार्गको मलेखुवाट भर्खरै निर्माण भएको भण्डारा–मलेखु सडक हुँदै कान्द्राङगढी भएर जानुपर्छ ।

यहाँका चेपाङहरु प्रत्येक दिन एक गाग्रो पानीका लागि कम्तिमा तीन घन्टाको उकालो ओराले बाटो हिंडन बाध्य छन् । ब्रुसबाङ गाउँमा २७ घरपरिवार चेपाङ समुदायको मात्र बसोबास छ ।

गाउँ नजिकै खानेपानीको मुहान नभएका कारण यहाँका चेपाङ परिवार एक गाग्रो पानीको जोहो गर्न विहान झिसमिसे अध्यारोमा घरवाट बाङकुर्तीको भीर तर्फको ओरालो झर्ने गर्दछन । गाउँ भरीको लागि एउटा मात्र कुवा भएकाले कुवामा ढिला पुग्दा पालो पर्खनुपर्ने भएपछि कुवामा पहिला पुग्न सबैले अँध्यारोमै घर छाड्नुपर्ने बाध्यता रहेको स्थानीय पूर्णवहादुर चेपाङले वताउनुभयो । गाउँवाट डेढघण्टा तल रहेको कुवामा पुगेर पालो पर्खेर पानी भरेर घर आईपुग्दा तीनदेखि चार घण्टासम्म लाग्ने भएपनि हरेक दिन त्यहि प्रक्रिया नदोहो¥याए पानी खान नपाईने चिन्ता स्थानीयबासिन्दामा छ ।

बारीमा वर्षको एक बाली मकै बाहेक केही फल्दैन

समुद्री तहवाट १८ सय ७३ मिटरको उचाईमा रहेको ब्रुसबाङमा अन्नको नाममा बर्षको एक वाली मकै मात्र फल्ने गर्दछ । माघमा छरेको मकै कात्तिक महिनामा मात्रै पाक्ने भएकाले यहाँका वासिन्दालाई बर्षैभरी जस्तो खानेकुरा र हरेक दिन खानेपानीको मात्र चिन्ता हुने गरेको गाउँका अगुवा टेकवहादुर चेपाङले बताउनुभयो ।

खानेपानीको समस्या भएकै कारण ब्रुसबाङवासीले गाईबस्तुलाई समेत दुई दिन विराएर खानेपानी खुवाउने गरेका छन ।  चेपाङहरुले गाईबस्तुलाई पानी खुवाउन दुई दिन बिराएर खोलामा लैजाने गर्दछन । गाउँबाट चारघण्टा टाढा रहेको खोलामा गाईबस्तुलाई पानी खुवाउन लैजाँदा गोठालाले पनि नुहाई धुवाई गर्न पाउनृ नत्र नुहाउन समेत नपाउने टेकबहादुरले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य र आधारभुत अधिकारबाट बञ्चित चेपाङ समुदायको उत्थानका लागि  जिल्लाका सरकारी तथा गैरसरकारी निकायले काम गरिरहेको दावी गरेपनि ब्रुसबाङवासीको जिवनचर्यामा भने खासै परिवर्तन आउन नसकेको नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले बताउनुभयो । स्थानीय समुदायको सिप विकास र वजार प्रवद्र्धनका लागि दीर्घकालिन कार्यक्रम संचालन नगरी ब्रुसबाङबासीको जीवनस्तरमा सुधार आउन नसक्ने जितेन्द्रको दावी छ । संचारमाध्यमले ब्रुसबाङको समस्यालाई पटक पटक उजागर गरेकै कारण केही सरकारी तथा गैर सरकारी निकाय गाउँसम्म पुगेरसमस्या पहिचानका लागि चासो देखाउन थालेका छन ।

स्थानीयबासिन्दाको माग अनुसार जिल्ला विकास समिति, महादेवस्थान गाविसका साथै गैर सरकारी संस्था शान्ति नेपालको पहलमा व्रुसबाङको प्रत्येक घरमा सोलार जडान गरिनुका साथै आकाशे पानी संकलन गर्न दुई हजार लिटरको प्लाष्टिक ट्याङकी पनि वितरण गरिएको छ । अघिल्लो बर्ष बर्षापछि मात्रै ट्याङकी गाउँ पुगेकाले पानी संकलन गर्न नसकिएको र संकलित पानीले धेरै नै राहत दिएको गाउँका पूर्व जनप्रतिनिधि सिद्धिवहादुर चेपाङले वताउनुभयो ।

-उज्यालो अनलाईनबाट