हाम्रो पालिका

राजमार्गमा गोरु तस्करको सक्रियता

By Dhadingnews.com

May 14, 2014

धादिङ– रातको समय पारेर अबैध ढंगवाट गोरु तस्करी गरिरहेको आरोपमा धादिङको बैरेनीवाट समातिएका  १८ वटा गोरु सहित ७ जना व्यापारी पक्राउ परे लगत्तै विना कारवाही प्रहरीवाट छुटेपनि घटनालाई गुपचुप पारिएको छ ।

 पृथ्वीराजमार्गमा पर्ने बैरेनी गाविसको वडा नम्बर ९ सुत्ेकरीढुङ्गावाट मोटरमा राखेर लैजाने तयारी अवस्थामा राखिएको ९ हल गोरु सोमवार विहान राती २ वजे तिर स्थानीय युवाहरुले गोरु तस्करलाई नियन्त्रणमा लिएका थिए ।  सडक छेउमा गोरु बांधेर ढुवानीका लागि ट्रकको खोजीमा रहेका ९ जनामध्ये चार जनालाई स्थानीयवासीले नियन्त्रणमा लिई रातीनै इलाका प्रहरी कार्यालय गजुरीलाई बुझाएको भएपनि प्रहरीले तस्करहरुलाई कारवाही गर्नुको साटो छुटकारा दिएको स्थानीयवासीको आरोप छ । चार जना पक्राउ परेपछि भाग्दै गरेका अन्य ३ जनालाई पनि स्थानीयले नियन्त्रणमा लिए थिए । प्रहरी नियन्त्रणमा रहेका तस्करहरुलाई छुटाउन विभिन्न शक्तिकेन्द्रवाट दवाव आएपछि प्रहरीले स्थानीयको मागको सुनुवाई नगरी तस्करहरुलाई उन्मुक्ति दिएको प्रहरी माथि आरोप लागेको छ । लामो समयदेखि अबैधढंगवाट गोरुको तस्करी गर्दै आएकाहरु पक्राउ परेलगत्तै  छुटेका थिए । जिल्लाका विभिन्न  स्थान वाट पछिल्लो समय गोरु तस्करीमा बृद्धि हुंदै जान थालेको भन्दै बैरेनीका युवाले त्यस्ता कार्य नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गर्दै आएको भएपनि प्रहरीले भने वेवास्ता गरेका कारण तस्करहरुको चलखेल बढ्न पुगेको हो । धादिङको विभिन्न गाउंबस्तीवाट किनेर ल्याईएका गोरु रातको समयमा राजमार्गमा जम्मा पारेर अबैध रुपमा भारत तर्फ लैजाने गिरोह बर्षौदेखि सक्रिय रहंदै आएको भएपनि प्रहरी प्रशासन मौन रहने गरेको सर्वसाधरणको भनाई छ । अबैधढंगवाट लगिने गोरुहरु  मासु प्रयोजनका लागि बंगलादेश पु¥याउने गरेको युवाहरुको दावी छ ।