काठमाडौ, जेठ २७ – पार्टीको नवौं महाधिवेशन नजिकिंदै गर्दा नेकपा एमालेका दुवै पक्ष आआफ्नो पक्षमा माहोल तताउन लागिपरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुवैले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफैं सक्षम भएको दावी गरेका छन् ।
महाधिवेशनको लागि नेता नेपालले केही दिनअघि आफ्नो नीति तथा विचार सार्वजनिक गर्नुभएको थियो ।
ओलीले पनि आफ्नै नीति सार्वजनिक गर्नुभएको छ । ओलीको नीति यस्तो छ :
महाधिवेशनका ऐतिहासिक अभिभारा
नेकपा ९एमाले० ले शान्ति, लोकतन्त्र, परिवर्तन, राष्ट्रियता एवं राष्ट्रिय एकता जस्ता मूल्यहरूको प्रतिनिधित्व गर्छ । यो पार्टी कमजोर हुँदा कसरी हिंसाका पक्षधरहरू शक्ति बलियो बने, अधिनायकवादले कसरी शिर उठायो, मुलुक यथास्थितिको चक्रव्यूह र प्रतिगमनको भुँवरीमा फँस्यो, राष्ट्रिय एकता खलबलिने गरी कसरी जातीय–क्षेत्रीय अतिवाद फस्टायो र राष्ट्रिय अस्मिता कमजोर बन्न पुग्यो– निकट अतीतका घटनाक्रमलाई हामीले बिर्सेका छैनौं ।
त्यसैले यो महाधिवेशन पार्टीको आन्तरिक जीवनका लागि मात्रै होइन, सिङ्गो राष्ट्रिय राजनीतिकै लागि महत्वपूर्ण छ । नीति र नेतृत्व निर्माणको सर्वोच्च मञ्च महाधिवेशनबाट सही निर्णय गर्न सक्दा कसरी पार्टीले सङ्कटपूर्ण मोडमा पनि राजनीतिलाई सही दिशावोध गर्न सक्छ भन्ने कुरा हामीले पार्टीका चौथो र पाँचौं महाधिवेशनबाट स्पष्ट अनुभूति गरेका छौं भने महाधिवेशनले यस्ता अभिभारा सही ढङ्गले पूरा गर्न नसक्दा कसरी पार्टीसँगै राष्ट्रसमेत सङ्कटमा फँस्न पुग्छ भन्ने शिक्षा दोस्रो र सातौं महाधिवेशनले विशेष रूपमा दिएका छन् । म सम्पूर्ण कमरेडहरूलाई नवौं राष्ट्रिय महाधिवेशनलाई नीति निरूपण र नेतृत्व निर्माणका दृष्टिले ऐतिहासिक बनाउन प्रभावकारी भूमिकाका लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।
समृद्ध नेपालका लागि सबल नेकपा (एमाले)
हामीले यस महाधिवेशनका लागि ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं १’ भन्ने मूल नारा तय गरेका छौं । ती उपलब्धिहरू त्यतिबेला मात्रै संस्थागत हुनेछन्, जतिबेला नेपाली श्रमजीवी वर्गको पार्टी नेकपा ९एमाले० राष्ट्रिय राजनीतिको केन्द्रभाग र नेतृत्वदायी भूमिकामा स्थापित हुनेछ ।
बुर्जुवा वर्ग केन्द्रभागमा स्थापित र राजनीतिक वर्चस्व कायम गर्न सफल भयो भने मुलुक क्रमशः एकाधिकार पुँजिवादी खाडलतिर धकेलिंदै जानेछ, जनताको बहुदलीय जनवादी र समाजवादी लक्ष्यबाट विमुख हुँदै जानेछ र अन्ततोगत्वा क्रान्तिको प्रतिफल कुलीन वर्गको मुठ्ठीमा सीमित हुन पुग्नेछ । श्रमजीवी वर्गले पुँजिपति वर्गसँग सहकार्य गर्दै अगाडि बढिरहेको र सामाजिक–आर्थिक रूपान्तरणका अभिभारा अझै बाँकी रहेको परिप्रेक्ष्यमा क्रान्तिले त्यतिबेला मात्रै निष्कर्ष साँचो अर्थमा पाउनेछ, जतिबेला हामी सामन्तवादका बाँकी अवशेष समाप्त पार्दै जनताको हितमा सामाजिक–आर्थिक रूपान्तरणलाई सुनिश्चित गर्न सक्नेछौं ।
द्वन्द्वका घाउ निको पार्दै दिगो शान्तिका आधार निर्माण गर्ने, शासन प्रणालीको मात्रै होइन सिङ्गो समाजको लोकतान्त्रिकरण गर्ने, जातीय–क्षेत्रीय अहङ्कार र सङ्कीर्णताका प्रभाव समाप्त पार्दै खलबलिएको सामाजिक सद्भावलाई पुनः व्यवस्थित र समृद्ध गर्ने दायित्व हाम्रा सामु छ । महिला–पुरुषबीचका, क्षेत्र–क्षेत्र र जाति–जातिबीचका असमानतालाई समाप्त पारेर साँचो समानता कायम गर्ने र सिङ्गो समाजलाई आधुनिक, वैज्ञानिक र समुन्नत बनाउने अभिभारा हाम्रा सामु छ । मुलुक अब तानाशाहीतिर पछाडि फर्कन सक्दैन । उग्रवामपन्थ र अराजकतातिर पछि फर्कन सक्दैन । मुलुकलाई राजनीतिक स्थायित्व र दिगो शान्तिको दिशातिर अगाडि बढाउने दायित्व हाम्रा सामु छ ।
कृषिको व्यवसायीकरण, जलस्रोतको अधिकतम सदुपयोग, पर्यटनको विकास र औद्योगीकरणका माध्यमबाट गरिबी, अभाव र बेरोजगारीलाई हटाउँदै श्रम शक्तिको विकास गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । राष्ट्रिय एकतालाई अझ बलियो बनाउने, सामाजिक सद्भावलाई अझ गाढा पार्र्ने र जनतालाई सुविधा र समृद्धिको अवसर उपलव्ध गराउने गरी सङ्घीय ढाँचाको निरूपण गर्नु छ र यसका लागि निर्धारित समयमा संविधान निर्माण गर्ने काममा अगुवाइ गर्ने अभिभारा पनि हाम्रै काँधमा छ । यी दायित्वका अतिरिक्त कमजोर बनेको राष्ट्रियतालाई सुदृढ गर्ने र समृद्ध नेपालको दिगो जग बसाल्ने महत्वपूर्ण दायित्वहरू एकतावद्ध, सबल, गतिशील र वैचारिक रूपले स्पष्ट नेकपा ९एमाले०को नेतृत्वमा मात्रै पूरा गर्न संभव छ । लोकतन्त्र र शान्तिका पक्षमा वातावरण सकारात्मक देखिए पनि परिवर्तन र जनताको बहुदलीय जनवादको सुदृढीकरणका लागि भने शक्ति सन्तुलन अझै अनुकूल बन्न सकेको छैन । यी सबै अभिभारा पूरा गर्न महाधिवेशनको काँधमा ज्यादै ठूलो जिम्मेवारी रहेको तथ्य स्पष्ट छ ।
वैचारिक स्पष्टताको खाँचो
राष्ट्रिय राजनीतिलाई सही दिशाबोध गर्नसक्ने पार्टी निर्माण गर्नका लागि वैचारिक– राजनीतिक स्पष्टता सर्वाधिक महत्वपूर्ण आधार हो । माक्र्सवाद–लेनिनवादका सार्वभौम सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने क्रममा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन भएको थियो । जननेता कमरेड मदन भण्डारीको अगुवाइमा प्रतिपादित जवज नेपाली क्रान्तिको मौलिक कार्यक्रम मात्रै होइन, यो नेपाली क्रान्तिका समग्र व्यवहारलाई मार्गदर्शन गर्ने सिद्धान्त समेत हो, अर्थात् यो मार्क्सवादको नेपाली संस्करण हो । मार्क्सवादका नाममा, क्रान्तिका नाममा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालकै सन्दर्भमा पनि प्रचलनमा रहेका विसर्जनवादी र जडसूत्रवादी परम्पराबाट जबजले आफूलाई आधारभूत रूपमै अलग गरेको छ ।
यसले मार्क्सवादको सान्दर्भिकता र समाजवादको भविष्यप्रति अविचल निष्ठालाई कायम राख्दै माक्र्सवादको रक्षा, प्रयोग र विकासको धारलाई तीव्र पारेको छ । क्रान्तिलाई हिंसाको पर्यायवाची ठान्ने, सर्वहारा अधिनायकत्वको नाममा जनवादी–समाजवादी व्यवस्थालाई एकदलीय, अलोकतान्त्रिक, नोकरशाही स्वरूप दिने मान्यतालाई अस्वीकार गर्दै जबजले जनताको सचेत, जागरुक र सङ्गठित पहलकदमीको बलमा समाजको शान्तिपूर्ण रूपान्तरण गर्ने, जनवादी– समाजवादी व्यवस्थालाई लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्ने र यी उद्देश्य प्राप्तिका लागि पार्टी जीवनको लोकतान्त्रिकरण गर्ने मान्यता विकास गरेको छ । क्रान्तिकारी आन्दोलनको लोकतान्त्रिकरण, राज्यसत्ताको लोकतान्त्रिकरण र पार्टी जीवनको लोकतान्त्रिकरण जवजका आधारभूत पक्षहरू हुन् । क्रान्तिकारी रूपान्तरण यसको अविचलित लक्ष्य हो र लोकतान्त्रिक बाटो यसको सम्झौताहीन मान्यता । यी उद्देश्य पूर्ति गर्ने गरी क्रान्तिकारी ध्येय, जनसेवाको कार्यशैली र लोकतान्त्रिक आचरणको पार्टी निर्माण गर्नु यसको सङ्गठनात्मक सिद्धान्तको आधारशीला हो ।
जबजको श्रेष्ठता
गएका दुई दशकमा नेपाली क्रान्तिका व्यवहारले जवजको सहीपनालाई प्रामाणिक ढङ्गले पुष्टि गरेको छ । जबजको महत्वपूर्ण लक्ष्यका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु, यथास्थितिवाद, नवउदारवाद र संवैधानिक राजतन्त्रको सीमाभन्दा बाहिर निस्कन तयार नभएको नेपाली काङ्ग्रेस समेत संविधानसभा, गणतन्त्र र सामाजिक न्यायका बिषयमा सहमत हुन वाध्य हुनु तथा मुलुकलाई आक्रान्त पार्ने गरी उग्रवाद र हिंसाको बाहक बनेको माओवादी शान्तिपूर्ण बाटो र लोकतन्त्रको मूलधारमा आइपुग्नु यसको वैचारिक श्रेष्ठताका सटिक दृष्टान्त हुन् ।
२०६२/६३ को परिवर्तनको वैचारिक स्रोत जबज नै थियो भन्ने तथ्य संसद पुनःस्थापनामै सीमित हुन चाहने र त्यसलाई अस्वीकार गर्ने दुबै गलत प्रवृत्तिलाई चिर्दै प्रतिनिधिसभाको ऐतिहासिक घोषणा, संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनमुखी लोकतन्त्रको निर्माणसम्म यसले गरेको अगुवाइबाटै स्पष्ट हुन्छ । राज्य पुनःसंरचनाका प्रश्नमा होस् वा समाजवाद उन्मुख अर्थतन्त्रका पक्षमा, महिला, दलित, श्रमजीवी, सीमान्तकृत र उत्पीडित समुदायका एजेण्डाका पक्षमा– जबजको मार्गदर्शनमा नै आजका प्रमुख राजनीतिक प्रश्नहरू समाधानको दिशामा उन्मुख छन् ।
मुख्य कमजोरीः जबजलाई सही ढङ्गले आत्मसात गर्न नसक्नु
यस्तो सही सिद्धान्त र विचार हुँदाहुँदै पनि हामीले यसलाई सही ढङ्गले रक्षा, प्रयोग र विकास गर्ने कुरामा अपेक्षित ध्यान दिन सकेनौं । हाम्रा कतिपय निर्णय, व्यवहार र आचरण जबजसँग सङ्गति मिल्ने गरी विकास हुन सकेनन् । जता भत्केको छ, त्यतै दैलो देख्ने र जहाँ ढुङ्गा खस्छ, त्यहीँ निशाना हानेको दाबी गर्ने जस्ता नेतृत्वका आचरण र व्यवहारका कारण जबज जस्तो सही सिद्धान्त बोकेको पार्टी अघिल्लो दशकमा क्रमशः कमजोर बन्दै गयो । राजतन्त्रविरुद्ध सङ्घर्षको स्पष्ट दिशा लिन नसक्दा पार्टीको लोकतान्त्रिक छवि कमजोर भयो भने माओवादी उग्रवामपन्थ विरुद्ध वैचारिक सङ्घर्ष अगाडि बढाउन नसक्दा शान्तिप्रतिको निष्ठालाई धमिलो पार्यो ।
नेपाली काङ्ग्रेससँग सहमति र विमतिका बिन्दु सही ढङ्गले छुट्याउन नसक्दा पार्टीको क्रान्तिकारी पहिचान कमजोर हुन पुग्यो । २०४६ सालपछिको असफलता मूलतः नवउदारवादी राजनीति र काङ्ग्रेस नेतृत्वको असफलता थियो । तर हाम्रो पार्टी समेत त्यस असफलताको भागीदार बन्न वाध्य भयो । गाउँबाट बढेको माओवादी उग्रवामपन्थ र सहरमा सङ्गठित भइरहेको प्रतिगमन–प्रतिक्रान्तिलाई पार्टीले समयमै चिन्न, चिर्न र असफल पार्न सकेन । यसको मूल्य हाम्रो पार्टीले मात्रै होइन, सिङ्गै देशले चुकाउनु पर्यो ।
अघिल्लो संविधानसभामा पार्टीले खानु परेको ठूलो धक्का यस्तै व्यवहारको परिणाम थियो । त्यसलाई सच्याउनुको साटो हामीभित्र माओवादी उग्रवामपन्थसँग लहसिने, नेकपा (एमाले) लाई मुख्य शक्तिका रूपमा विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास गुमाउने र प्रकारान्तरले पार्टीलाई विसर्जनको दिशातिर धकेल्ने प्रवृत्ति देखा परे । जवजलाई सही ढङ्गले आत्मसात गर्न र दिशानिर्देशित हुन नसक्नुले पार्टीभित्र विभिन्न समस्या सिर्जना गरे र दक्षिणपन्थ र उग्रवामपन्थ विरुद्ध प्रतिरोध गर्ने पार्टीको सामथ्र्यलाई कमजोर पारे । जवजलाई सबैको शिरमा ठिक्क हुने टोपी जस्तो बनाउँदा र यसलाई आफ्ना सङ्कीर्ण हित सिद्ध गर्ने साधनका रूपमा प्रयोग गर्दा पार्टीको पहिचान नै कमजोर हुने स्थिति उत्पन्न भयो । हजारौं हजार कार्यकर्ताहरूको सुझबुझ, अडान र भूमिकाले आज पार्टी यस्ता गलत प्रवृत्तिबाट मुक्त त भएको छ, तर पनि कतिपय समस्या मौजुद नै छन् ।
गलत चिन्तन र प्रवृत्तिहरू
लामो समयसम्म पार्टीमा जनताको बहुदलीय जनवादप्रति पूर्वाग्रह राख्ने, यसलाई पार्टीभित्र उत्पन्न समस्याको स्रोत ठान्ने र उग्रवामपन्थ र वामपन्थको भेद छुट्याउन नसक्ने जस्ता प्रवृत्ति देखा पर्दै आएका छन् । पार्टीको भविष्यप्रति विश्वास गुमाएर कहिले उग्रवामपन्थको पछाडि कुँद्ने र कहिले कथित नयाँ विचारको खोजी गर्ने सोच यस्तै विसर्जनवादी प्रवृत्तिका परिणाम हुन् ।
महाधिवेशनको बहसका क्रममा पनि जनताको बहुदलीय जनवाद सिद्धान्त बनेकै छैन, गएको बीस बर्षमा यसको प्रयोग र विकासमा केही पनि काम भएन, यो देखिने र सुनिने भएन, र अब केही कुरा थपेर यसलाई सिद्धान्तको रूप दिनुपर्छ भन्ने आग्रहपूर्ण तर्क नसुनिएका होइनन् । पार्टीले सरकारमा रहँदा जनमुखी कार्यक्रमका माध्यमबाट गरेका लोकप्रिय कामहरूलाई उपेक्षा गर्ने, स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माण र सामाजिक रूपान्तरणका क्षेत्रमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने, ज्यान हत्केलामा राखेर उग्रवामपन्थ र दक्षिणपन्थका विरुद्ध हजारौं कार्यकर्ताहरूले गरेको प्रतिरोध र बलिदानलाई देख्दै नदेख्ने र जवजकै मार्गदर्शनमा भइरहेका युगान्तकारी राजनीतिक परिवर्तनलाई अस्वीकार गर्ने यस्ता तर्कलाई खण्डन मात्रै गर्न सकिन्छ । तर उदेक त त्यतिबेला लाग्छ, जतिबेला त्यस सिङ्गो अवधिमा पार्टीको मुख्य नेतृत्वमा रहनुभएका कमरेडले नै जवजलाई खोपिको देउता बनाइयो भन्ने टिप्पणी गर्नुहुन्छ ।
क्रान्ति सम्पन्न भइसकेकाले जवजको कार्यक्रमको पनि सान्दर्भिकता नरहेको जिकिर पनि यसबीचमा सुनिए । त्यसरी नै, २०६२/६३ को परिवर्तनलाई पुरानो पुँजिवादी क्रान्तिको चस्माबाट हेर्दै परस्पर प्रतिष्पर्धी वर्गको सहकार्यबाट परिवर्तन संभव भएको तथ्यलाई महसुस नगर्ने र जनवादी क्रान्ति पूरा भएको तर समाज चाहिँ दलाल पुँजिवादी बनेको निष्कर्ष निकाल्ने, क्रान्तिमा श्रमजीवी वर्गको भूमिका, जवजको मार्गदर्शन र आजको शक्ति संरचनामा श्रमजीवी वर्गको उपस्थितिलाई उपेक्षा गर्ने सोच पनि प्रकट भए । नेपाली जनवादी क्रान्तिको प्रक्रियालाई अस्वीकार गर्ने या सामन्तवादका अवशेषहरूलाई समाप्त पार्न भूमिसुधार र भूमि व्यवस्थापन, जातीय–लैङ्गिक उत्पीडन विरुद्ध सामाजिक–सांस्कृतिक आन्दोलनको आवश्यकतालाई असान्दर्भिक ठान्ने मान्यता समेत देखा परे । पार्टीको लोकतान्त्रिकरणलाई अस्वीकार गर्ने चिन्तन पनि प्रकट भए, भइरहेका छन् ।
पार्टी जीवनको लोकतान्त्रिकरण
पार्टीको लोकतान्त्रिकरण जबजका तीनवटा आयाममध्येको एक हो, यो शान्तिपूर्ण ढङ्गले क्रान्ति सम्पन्न गर्ने र लोकतान्त्रिक विधिद्वारा जनवादी सत्ता सञ्चालन गर्ने क्रान्तिको मौलिक सिद्धान्तसँग अविभाज्य ढङ्गले जोडिएको नीतिगत अवधारणा हो । जबजले परिकल्पना गरेको क्रान्तिको अगुवाइ गर्न सक्ने पार्टी निर्माण र सञ्चालन गर्ने माध्यम हो । यो पार्टीभित्रका सम्पूर्ण उर्जा, सामथ्र्य र विविधतालाई एकीकृत गरेर पार्टीमा नयाँ गति सिर्जना गर्ने माध्यम हो । लोकतान्त्रिकरणले गुटबन्दी सिर्जना ग¥यो र बहुपदीय सङ्गठनात्मक ढाँचाले बहुकेन्द्र निर्माण गर्यो भन्ने आक्षेप लगाउनु भनेको नाच्न नजान्नेले आँगनलाई दोष लगाए जस्तै हो । यस्ता आग्रहहरूमा एकल नायकत्वको पुरातनपन्थी अवधारणा अभिव्यक्त भएको तथ्य स्पष्ट देख्न सकिन्छ । पार्टी जीवनको लोकतान्त्रिकरण यस उचाइमा उठिनसकेको र पार्टीभित्र बहुपद नभएकै अवस्थामा २०५४ सालमा पार्टी विभाजन भएको तथ्यले पनि पार्टी जीवनको लोकतान्त्रिकरण विरुद्धका तर्कहरू कति आधारहीन छन् भन्ने पुष्टि गर्दछ ।
नीतिमा एकरूपता र नेतृत्वमा सहमतिको प्रयास
जे होस्, लामो वहस छलफलपछि हामीले महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेजहरूका मुख्य बिषयहरूमा नीतिगत एकरूपता कायम गरेका छौं । जवजलाई आठौं महाधिवेशनले मार्गदर्शक सिद्धान्तको रूपमा परिभाषित गरिसकेकै छ । हामीले यसमा थप स्पष्टता ल्याउँदै हिजो पनि जवज सिद्धान्तकै रूपमा प्रस्तुत भएको, नेपाली क्रान्तिको व्यवहारमा यसको सफल प्रयोग र परीक्षण भइरहेको र २०६२/६३ को परिवर्तनलाई मार्गदर्शन गर्ने मान्यताको रूपमा रहेको निष्कर्षका साथ हामीले यसलाई पुनःपुष्टि गरेका छौं । जवजको रक्षा, प्रयोग र विकासका सन्दर्भमा यो अत्यन्त महत्वपूर्ण निष्कर्ष हो ।
त्यसरी नै, नेपाली क्रान्ति सामन्तवादका अवशेषहरू उन्मूलन गर्ने र जनताको बहुदलीय जनवादी व्यवस्था सुदृढ गर्ने चरणमा रहेको निष्कर्षसहित जबजको कार्यक्रमलाई अब सामाजिक आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको ठोस कार्यक्रमका रूपमा अगाडि सार्ने निर्णयमा पुगेका छौं । पछिल्लो राजनीतिक परिवर्तन जवजले परिकल्पना गरे जस्तै शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको, यसमा श्रमजीवी र पुँजिपति वर्गको संयुक्त नेतृत्व रहेको र आगामी दिनमा श्रमजीवी वर्गले प्रतिष्पर्धा र पहलकदमीका माध्यमबाट श्रेष्ठता हासिल गर्दै सामाजिक आर्थिक रूपान्तरणलाई तीव्रता दिनु पर्ने र जवजलाई सुदृढ गर्दै समाजवादी दिशामा अघि बढ्नु पर्ने निर्णय गरेका छौं ।
त्यसरी नै, समाजको चरित्र निरूपण गर्दै नेपाली जनताको लामो सङ्घर्षको फलःस्वरूप क्रमशः कमजोर बन्दै गएको सामन्तवाद राजतन्त्रको अन्त्यसँगै विघटनको दिशामा गएको र समाज प्रारम्भिक अवस्थाको पुँजिवादी चरणमा प्रवेश गरेको निष्कर्ष निकालेका छौं । नीतिगत प्रश्नमा भएको यो सहमतिले नेतृत्व निर्माणमा पनि सहमतिका लागि आधार प्रदान गरेको छ । आत्मकेन्द्रित, पूर्वाग्रही र निषेधको प्रवृत्ति त्याग्न सक्ने हो र राष्ट्र, जनता र आन्दोलनका सर्वोपरि हितहरूलाई केन्द्रबिन्दुमा राख्न सक्ने हो भने सहमतिका आधारमा नेतृत्व निर्माणको संभावना पैदा भएको छ ।
नेतृत्व हस्तान्तरणको प्रश्न
पार्टी जीवनको लोकतान्त्रिकरणलाई अझ समृद्ध बनाउने र पार्टीलाई आजको चुनौती सामना गर्न सक्षम बनाउने गरी यतिबेला नेतृत्व हस्तान्तरणको प्रश्न प्रबल रूपमा उठेको छ । एकपटक क्रान्तिको नेतृत्व गरेपछि कम्युनिष्ट पार्टी बिना जनअनुमोदन सधैभरि सत्तामा रहिरहन राजनीतिक वैधता प्राप्त भएको ठान्ने र पार्टीको मुख्य नेता पनि आजीवन नेतृत्वमा टाँसिरहने प्रवृत्ति अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखा परे, जसले पार्टीलाई क्रमशः जनताबाट अलग्याउने र नेतृत्वलाई पनि कार्यकर्ताबाट विच्छेद गराउने काम गर्यो । विभिन्न मुलुकमा समाजवादी सत्ता पतनका लागि यो प्रवृत्ति समेत कारकको रूपमा रहेको निष्कर्षका साथ नेतृत्वको कार्यावधिको सीमा तोक्ने अवधारणा विकसित हुँदै आएको छ ।
हामीले क्रान्तिपछि पनि पार्टी जनताबाट आवधिक रूपमा अनुमोदित भइरहनु पर्ने निष्कर्षसँगै पार्टी जीवनको लोकतान्त्रिकरणको महत्वपूर्ण बिषयका रूपमा नेतृत्व कार्यकालको सीमा निर्धारण र नेतृत्व हस्तान्तरणको बिषयलाई अगाडि बढाउँदै आएका छौं । यो नेतृत्वको व्यवस्थापनको मात्रै प्रश्न होइन । यो त योजनावद्ध ढङ्गले नेतृत्व विकास गर्ने र पदीय जिम्मेवारीभन्दा बाहिर रहेर पनि राष्ट्र, जनता र आन्दोलनको सेवा गर्न सकिन्छ भन्ने नयाँ संस्कार अवलम्बन गर्ने बिषय पनि हो । जबजले हामीलाई संगठन व्यवस्थापनमा पहलकदमी–प्रतिष्पर्धा–श्रेष्ठता र नेतृत्वको सुस्पष्ट आधार दिएको छ ।
यो आधार न त सहकार्य र कमरेडली भावना प्रतिकूल विषय हो, न यो पुस्ता हस्तान्तरणको विपरीत मान्यता हो । न त यो विपरीत वर्गका पार्टीसँग प्रतिष्पर्धा गर्ने र आफूभित्र चाँहि माथिबाट पद तोकीदिने असङ्गत फर्मुला नै हो । यसको मूल मर्मलाई बुझ्न नसकेर या बुझ पचाएर घुमाई–घुमाई नेतृत्व आफैले लिन प्रयाश गर्ने र नेतृत्व हस्तान्तरणको नीतिगत प्रश्नलाई पदप्रतिको आशक्ति भनेर लाञ्छना लगाउन खोज्ने दोहोरो मापदण्ड बिडम्बनापूर्ण छ । आफूबाहेक अरुले पार्टीको नेतृत्व गर्नै नसक्ने मनोदशा बोकेर कसरी नयाँ नेतृत्व निर्माण हुन सक्छ र राष्ट्रले नयाँ नेतृत्व पाउन सक्छ रु म स्पष्ट गर्न चाहन्छु, अब पार्टी छिटोछिटो नयाँ नेतृत्व हुँदै नयाँ पुस्तामा नै जाने स्थिति सुनिश्चित गर्नुपर्छ । म त्यसका लागि मार्गप्रशस्त गर्दै अघि बढ्न चाहन्छु ।
युवाः उर्जा, गति र सपनाका स्रोत
राज्यका गलत नीतिहरू, उग्रवामपन्थ, भयावह बन्दै गएको उपभोक्तावाद र सामाजिक विकृतिहरूको प्रभाव नेपाली युवाहरूमा परेको छ । विकृतिको सिकार बन्नु युवाहरूको दोष होइन, हाम्रो राजनीतिक–सामाजिक संरचनाको दोष हो । विकृतिबाट मुक्त गर्दै उनीहरूभित्र अन्तरनिहित उर्जा, गतिशीलता र स्वप्नदृष्टिलाई समाज रूपान्तरण र राष्ट्र निर्माणमा लगाउने दायित्व हाम्रो जस्तो जिम्मेवार पार्टीको हो । हामीले यही काम गर्दै आएका छौं । पार्टीको निरन्तरको प्रयाशका फलःस्वरूप पार्टीमा पाका कार्यकर्तासँगै युवाहरूको पनि प्रभावशाली उपस्थिति देखिन थालेको छ ।
हिजो उग्रवामपन्थबाट बन्दुक बोकाइएका, गलत काममा प्रयोग गराइएका, अञ्जानमा गल्ती गरेका या खालि ‘करिअर’ को पछाडि कुँदिरहेका हजारौं युवाहरू पार्टीमा सम्मिलित हुँदै आएका छन् । हामीलाई यो क्रमलाई अझ प्रोत्साहित गर्नुपर्छ, यो पार्टीको उर्जा स्रोत हो । पार्टीको झण्डा कुनै पनि सामाजिक अपराधलाई ढाकछोप गर्ने कुरामा प्रयोग हुन सक्दैन भन्ने कुरा निर्विवाद छ । तर विगतमा गरेको कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अगाडि बढ्न चाहनेहरूका निम्ति ढोका बन्द गर्ने नीति कुनै अर्थमा पनि जिम्मेवार होइन ।
आजका युवालाई अनुचित ढङ्गले आरोपित गरेर होइन, जिम्मेवार ढङ्गले रूपान्तरण गर्दै नयाँ बाटो र भविष्यतिर अगाडि बढाएर नै हामीले आफ्नो दायित्व पूरा गर्न सक्छौं । समाजमा अपराधीकरण बढ्दै गएको छ र हाम्रो पार्टी पनि यसको निशाना बन्दै आएको छ । यसको पछिल्लो कडीका रूपमा ६ महिना अगाडि मात्रै हामीले पार्टीका केन्द्रीय सदस्य, मुस्लिम समुदायका अगुवा सहयोद्धा कमरेड महमुद आलमलाई गुमायौं । यी अपराधका पछाडि कुनै नवप्रवेशी ‘आवारा गुण्डा’ वा ‘डन’ होइन, पार्टीले पटक–पटक पत्याएर महत्वपूर्ण जिम्मेवारी दिएकै व्यक्तिको हात थियो भन्ने कुरा स्पष्ट भइसकेको छ । राजनीतिक अपराधीकरणको अन्तरनिहित कारणको गहिराइमा नपुगी युवा पुस्तालाई अपमानित गर्नु यो कस्तो तर्क हो ?
महाधिवेशन र अस्वस्थ गतिविधि
पार्टी महाधिवेशन केबल नीति या नेतृत्वको जीतहारको मञ्च होइन, आफैमा एउटा विशाल प्रशिक्षण कार्यक्रम पनि हो । यो पार्टीमा नयाँ संस्कारको विकास गर्ने महत्वपूर्ण अवसर पनि हो । तर महाधिवेशनको पूर्वसन्ध्यामा केही साथीहरूबाट महाधिवेशनको समग्र प्रक्रियालाई नै अस्वस्थ रूप दिन भइरहेको प्रयाशबाट म चिन्तित छु । एकातिर नीतिगत मतभिन्नता छैन भन्ने र अर्कोतिर ‘डनवाद’ र ‘धनवाद’ का विरुद्धको सङ्घर्षका नाममा पार्टीलाई यो कित्ता र त्यो कित्तामा विभाजित गर्ने गतिविधिबाट म दुखी छु । जबजसँग पटक्कै मेल नखाने यस्ता कतिपय प्रवृत्तिहरूले पार्टी जीवनलाई नोक्सान पुर्याउँछन् भन्ने कुरामा सबै कमरेडहरूलाई हेक्का राख्न आग्रह गर्दछु ।
मेरो जीवनः किताबको खुल्ला पाना
मेरो जीवन किताबको खुल्ला पाना जस्तै छ । त्यसलाई जो कसैले जुनसुकै बखत र बिन्दुबाट पनि अध्ययन गर्न सक्छ । आफ्नो सक्रिय राजनीतिक जीवन–यात्राको ४५ बर्षभन्दा बढी समय मैले राष्ट्र, जनता र क्रान्तिको सेवामा व्यतीत गरेको छु । जतिबेला सिङ्गो मुलुक राजतन्त्रको तानाशाही बुटमुनि छटपटाउँदै थियो र कम्युनिष्ट आन्दोलन विभाजन, विखण्डन र अकर्मण्यताको सिकार बनेर निष्प्रभावी अवस्थामा थियो, हामीले झापा विद्रोहका माध्यमबाट समाजलाई नयाँ उर्जा, गति र दिशा दिने पहल गरेका थियौं । झापा विद्रोहले एकैसाथ राजतन्त्र विरुद्ध बलिदानी सङ्घर्ष र दक्षिणपन्थी अवसरवाद विरुद्ध कम्युनिष्ट आन्दोलनमा नयाँ गति, उर्जा र एकताको नयाँ थालनी गरेको थियो । त्यसैले त वीपी कोइराला जस्ता भिन्न धारका नेताले समेत त्यहाँ अभिव्यक्त उत्सर्ग र उर्जाको हार्दिक प्रशंसा गरेका थिए ।
यी पङ्क्तिहरू लेखिरहँदा म आदरणीय कमरेड रामनाथ दहाल सहित त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहयोद्धाहरूलाई सम्झेर भावुक बनिरहेको छु । जनताको मायाले बाँच्न सफल भएर आज म तपाइँहरूका बीचमा छु । झापा आन्दोलनको क्रममा देखा परेका व्यक्ति हत्या र विदेशको अन्धानुकरण जस्ता उग्रवाम गल्तीलाई सच्याउन, देशैभरि छरिएर रहेका क्रान्तिकारीहरूलाई एकत्रित गर्दै पार्टीको क्रान्तिकारी पुनर्गठन गर्न र त्यसलाई जनताको बीचमा स्थापित गर्न मैले आफ्नो सम्पूर्ण शक्ति, समय र उर्जा खर्चेको छु । १४ बर्ष लामो जेलजीवनमा होस् या जेलबाहिरको कष्टसाध्य भूमिगत परिवेशमा, अथवा पञ्चायती तानाशाही र राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको स्थापनाका लागि नीति निर्माणको तहमा र कार्यान्वयनको स्तरमा, आफ्नो सामथ्र्य प्रयोग गरेको छु ।
जनताको बहुदलीय जनवादको प्रतिपादनमा कमरेड मदन भण्डारीको निकट सान्निध्यमा रहेर भूमिका खेलेको छु, सरकारमा रहेर पार्टीको लोकप्रियता अभिवृद्धि गर्न योगदान गरेको छु र उग्रवाम र दक्षिणपन्थका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्दै आएको छु, अनेकौं धम्की र चुनौतीको सामना गरेको छु । सातौं महाधिवेशनमा प्रस्तुत गरिएको पार्टी जीवनको लोकतान्त्रिकरणसम्बन्धी अवधारणा आठौं महाधिवेशनद्वारा पार्टी जीवनको अङ्ग बन्न पुगेको छ । आज मेरो लोकतन्त्रप्रतिको निष्ठामा औंला ठड्याउनेहरूलाई खालि यत्ति भन्नु छ– आफ्नै सहयोद्धा, कमरेड र अग्रजलाई अपमानित गर्ने र परपीडामा रमाउने संस्कार बोकेका साथीहरूले भिन्नभिन्न वर्गहित, आस्था र लक्ष्य भएका शक्तिहरूलाई समेट्दै देशलाई अगाडि बढाउने राष्ट्रिय दायित्वमा कस्तो योगदान पुर्याउन सक्लान् ?
आन्दोलनमा उत्पन्न अपसंस्कृति
यसबीच, मेरो शारीरिक अस्वस्थतामाथि ‘राजनीति’ गर्ने प्रयास गरिएको देखेर म असाध्यै चिन्तित छु । यति लामो राजनीतिक अभियानमा साथीहरूलाई समाजवादी संस्कृति त परै छाडौं, सामान्य मानवीय संस्कार पनि सिकाउन नसकेको कमजोरीका लागि म स्वयं आत्मालोचित छु । मलाई थाहा छ– यो संसारमा कोही पनि मान्छे अजम्बरी छैन । जीवन र मृत्युबीच पातलो धागोको सम्बन्ध छ भन्नेबारेमा पनि हामी सबै जानकार नै छौं । यो जीवन तपाइँहरू सबैको सद्भावको उपहार हो र यसलाई म राष्ट्र, जनता, लोकतान्त्रिक पद्धति निर्माण, कम्युनिष्ट आन्दोलनको सफलता तथा समग्र मानवताको सेवामा अर्पित गर्न चाहन्छु ।
यसबीच, मेरो स्वास्थ्यस्थितिप्रति चिन्ता जाहेर गरेर उपचारका लागि सहयोग पुर्याउने सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री र नेपाल सरकार, सभामुख र सबै सभासद्हरू, सञ्चारकर्मीहरू, देश र विदेशका रहेका लाखौं नेता, कार्यकर्ता र शुभचिन्तकहरू तथा उपचारमा सङ्लग्न चिकित्सकहरूप्रति म आभारी छु । पार्टी सञ्चालन गर्ने बिषय एकल नायकत्वको नभएर टिम वर्कको बिषय हो । पार्टीको मुख्य नेता कुनै म्याराथुन धावक होइन, ऊ सामूहिक नेतृत्वको एउटा अङ्ग हो । यस अर्थमा ऊ विचार, सङ्गठन र समग्र नेतृत्वको एउटा सहजकर्ता हो । पार्टी निर्माण र सञ्चालनको यस मान्यतामा विश्वास गर्ने मेरा लागि स्वास्थ्य कुनै प्रतिकूलताको बिषय होइन भन्ने विश्वास पनि म कमरेडहरू समक्ष प्रकट गर्न चाहन्छु । पार्टीमा शारीरिक रुपमा दुब्ले ख्याउटे व्यक्ति नेता हुँदा ‘नायवी’ चलाउनु पर्ने झण्झट आउँछ र ‘धमर्धुस’ व्यक्ति नेता हुँदा ऊ पार्टीको भीमसेन हुन्छ भन्ने कुरामा मलाई भ्रम छैन ।
उज्यालो अनलाईनवाट