महाधिवेशनको महाभारत

683 पटक पढिएको

सम्पादक: Dhadingnews.com

mahadhibeshan_20140702112106काठमाडौ, असार १७ – नेकपा एमाले पर्यटन इलाका कमिटीले त्रिशूली नदीको चरौँदीदेखि कुरनिटारसम्म २५ किलोमिटर दूरीको र्‍याफ्टिङ आयोजना गर्‍यो, १२ चैत ०६७ मा। र्‍याफ्टिङका लागि निम्त्याइएका थिए, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, अर्का नेता केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम।

 

र्‍याफ्टिङ स्थलसम्म जान लैनचौरस्थित नेपाल स्काउटको कार्यालय अघिल्तिर भेला हुनेमा अध्यक्ष खनालसँगै नेपाल र ओली पनि थिए। नेपाल र ओली र्‍याफ्टिङका लागि त्रिशूलीसम्मै जाँदै थिए। तर, खनालचाहिँ ‘माधव नेपाल र केपी ओलीलगायतका कमरेडहरूलाई बिदाइ गर्न मात्र म यहाँ आएको हुँ’ भन्दै त्यहीँबाट छुट्टएि।

 

त्यतिबेला एमालेभित्रको शक्ति संघर्ष उत्कर्षमा थियो, नेपाल-ओली एक समूहमा रहेर खनाल-गौतम विरोधी कित्ताको नेतृत्व गर्थे। कस्तो संयोग ! त्यही बेला गुटबन्दीको एउटा कित्तामा उभिएका खनाल-गौतम र्‍याफ्टिङमा सहभागी नै भएनन्। विरोधी कित्ताका नेतृत्वकर्ता नेपाल र ओलीचाहिँ सँगसँगै र्‍याफ्टिङमा गए।

 

भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। यही कुरा नेपाल र ओलीमा पनि यति बेला लागू भएको छ। एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिलाई ३ जेठ ०५० मा निल्ने त्रिशूली (नारायणी)मा त्यस दिन सँगै हेलिन पुगेका तिनै नेपाल र ओली यतिबेला एकअर्काविरुद्ध आरोप-प्रत्यारोपसहित १९-२५ असारमा हुने पार्टीको नवौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्।

 

दुवैका रणनीति

महाधिवेशनमा अध्यक्षका प्रत्याशी वरिष्ठ नेता नेपाल र स्थायी समिति सदस्य ओलीका पक्ष/विपक्षमा उनीहरूनिकट मुखपत्र तथा नेता-कार्यकर्ताबीच दाबी-प्रतिदाबीसहित घोचपेच चलिरहेको छ। दुई प्यानलबीचको कुटिल खेल, छेडखानी, एक पक्षले अर्कोलाई लगाउने आरोप र प्रतिनिधि तानातान देख्दा लाग्छ, यी दुई खेमा एउटै पार्टीभित्र रहेर निर्वाचन लडिरहेका छैनन्, उनीहरू एकअर्कालाई राजनीतिक रूपमै सिध्याउने भरपूर प्रयत्न गररिहेका छन्।

 

आठौँ महाधिवेशनमा खनाल र ओलीले पनि पनि प्यानल बनाएरै निर्वाचन लडेका थिए। तर, त्यस बेला अहिलेजस्तो एकअर्काविरुद्ध कठोर प्रहार र चलखेल भएको थिएन। नवौँ महाधिवेशनको सँघारमा आइपुग्दा दुई पक्षबीच भने पानी बाराबारको अवस्था छ।

 

महाधिवेशनबाट अध्यक्ष र पदाधिकारी-लगायतका पद आफ्नो पोल्टामा पार्न नेपाल-ओली दुवै समूहले विशेष र गोप्य योजनाहरू बनाएका छन्। सरकारमा ओली समूहको बाहुल्य भएकाले २६ जनाभित्रको मनोनीत सभासद्, राजदूत, राजनीतिक नियुक्तिलगायत प्रलोभन देखाएर आफूपक्षीय प्रतिनिधिहरूलाई तान्न खोजेको गुनासो नेपाल समूहको छ। तर, तलैदेखि नेपाल-ओलीको प्यानल बनेर निर्वाचनमार्फत प्रतिनिधिहरू आएकाले दुवै पक्षबाट प्रलोभनमा पर्ने सम्भावना कमजोर देखिन्छ।

 

नेपालको सचिवालय केन्द्रीय सदस्य योगेश भट्टराईले हाँकिरहेका छन्। खास गरी सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, विजय पौडेल, ठाकुर गैरे र रामकुमारी झाँक्री प्रतिनिधि निर्वाचनमा नेपाल पक्षबाट कहाँ कसलाई उठाउने, कसलाई जिताउन कस्तो कार्यनीति अपनाउनेजस्ता कार्यमा खटिएका थिए। पछिल्ला दिनमा उनीहरू प्रतिनिधिहरूलाई ओली समूहमा जान नदिने, बरू त्यस समूहका प्रतिनिधिहरू आफ्नो खेमामा तान्ने ध्याउन्नमा केन्दि्रत छन्। नेता नेपाल आफैँ पनि बिहान ५ बजेदेखि नै सक्रिय हुन्छन्। प्रतिनिधिहरूको नम्बर संकलन गरेर फोन गर्ने, नेताहरूलाई परिचालन गर्ने काम उनी आफैँ गररिहेका छन्।

 

ओली समूहबाट सूचना संकलन गर्ने, आफ्नो समूहका प्रतिनिधिहरूलाई अर्को कित्तामा जान नदिने, सम्भव भएसम्म नेपाल पक्षका प्रतिनिधिलाई आफ्नो समूहमा भित्र्याउनेलगायत जिम्मेवारीको संयोजन राजन भट्टराई, भानुभक्त ढकाल, विष्णु रमिाल, काशीनाथ अधिकारी, विन्दा पाण्डे, गोकुल बास्कोटा, महेश बस्नेतलगायतले लिएका छन्। वामदेव गौतमले आफू पक्षधर प्रतिनिधिहरूलाई एक ढिक्का राख्न किरण गुरुङलाई जिम्मा दिएका छन् भने ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत नेता स्वयंले नेपाल समूहका भनेर चिनिएका प्रतिनिधिहरूलाई फोन गरेर आफ्नो प्रभावमा पार्ने प्रयास जारी राखेका छन्।

-इ कान्तिपुर डट कमवाट