शिक्षा/स्वास्थ्य

धादिङमा क्याम्पस संख्या चौध पुग्यो

By Dhading News

August 02, 2014

धादिङबेसी– उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि धादिङ जिल्लाको गाउं गाउंमा स्नातक तहको पढाई हुने क्याम्पसले त्रिभुवन विश्व बिद्यालयवाट सम्वन्धन पाउने क्रम बढ्न थालेको छ । जिल्लामा अहिले सम्म चौध वटा क्याम्पसले त्रिभुवन विश्व बिद्यालयवाट सम्वन्धन प्राप्त गरिसकेका छन । यसरी सम्वन्धन पाएका मध्ये सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमखी क्याम्पसमा स्नातकोत्तर तहको पढाई हुंदै आईरहेको छ भने वांकी १३ वटा क्याम्पसमा स्नातक तहको पढाई संचालन हुने गरेको छ । अहिले सम्म धादिङको क्षेत्र नम्बर ३ मा ८ वटा, क्षेत्र नम्बर २ मा ४ वटा र क्षेत्र नम्बर १ मा २ वटा क्याम्पस संचालनमा आईसकेका छन । यसरी संचालनमा आएका मध्ये क्षेत्र नम्वर तीनमा धुनीवेसी जिवनपुर,मच्छ्रिन्द्र खानीखोला, सिम्ले महाकाली भुमेस्थान, नमुना वागेश्वरी बैरेनी,धादिङ बहुमुखी बैरेनी,आदर्श गजुरी,जयवागेश्वरी रिचोकटार( वेनिघाट) र चन्द्रोदय क्याम्पस विशालटार ( वेनिघाट) मा रहेको छ । त्यसैगरी जिल्ला सदरमुकाम समेत रहेको क्षेत्र नम्बर २ मा नीलकण्ठ,गणेशहिमाल,सिपि धादिङबेसी र बुढीगण्डकी क्याम्पस मैदीमा रहेको छ भने क्षेत्र नम्बर १ मा सल्यानटार क्याम्पस सल्यानटार ,नेत्रावती क्याम्पस त्रिपुरेश्वर रहेका छन । जिल्लामा स्थापना भएका मध्ये सिपि र गणेश हिमाल निजी प्रयासमा स्थापना गरिएको हो भने अन्य क्याम्पस सामुदायिक तहवाट संचालनमा रहेका छन ।