निजामति सेवा दिवस धादिङमा विभिन्न कार्यक्रमका साथ सम्पन्न

1890 पटक पढिएको

सम्पादक: Dhading News

निजामती सेवा दिवसको अवसर पारेर निजामति कर्मचारीहरुद्धारा धादिङबेसीमा निकालिएको प्रभातफेरी ।  तस्बिर : केशव अधिकारी /धादिङ न्युज
निजामती सेवा दिवसको अवसर पारेर निजामति कर्मचारीहरुद्धारा धादिङबेसीमा निकालिएको प्रभातफेरी ।
तस्बिर : केशव अधिकारी /धादिङ न्युज

धादिङ–निजामति सेवाको मान्यता, अनुशासन ईमान्दारिता र नैतिकता भन्ने मुल नाराका साथ आईतबार धादिङ लगायत देश भर निजामति सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । धादिङमा दिवस मनाउने क्रममा आयोजना गरिएको कार्यक्रामलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निजामति कर्मचारीहरु अनुशासित र इमान्दारीपूर्वक सेवाग्राहीको सेवामा निरन्तर रुपमा लागि रहने बताउनु भएको छ । राष्ट्र सेवकको भावनाले समर्पित निजामति कर्मचारीहरुले कानुनी र नीति नियमलाई पालना गरी काम गर्नु पर्ने र यदि कसैले कानुनलाई मिचेर काम गर्छ भने त्यस्ता कर्मचारीहरुलाई कानुन बमोजिम कारबाहि हुने प्रजिअ नेपालले बताउनु भयो । पछिल्लो समयमा देश भर निजामति कर्मचारीहरुले भ्रष्टाचार गरि रहेको भन्ने तथ्य सहितका समाचार बाहिर आउनेक्रम बढि रहेकाले जिल्लाका कर्मचारीले राज्यले तय गरेको ऐन नियम र निर्देशन भित्र रहेर काम गर्नुपर्ने उहांले वताउनु भयो । कोही कसैको दवावमा रहेर काम नगर्न नेपालले निजामति कर्मचारीहरुलाई निर्देशन दिनुभयो । यसैगरी सोही कार्यक्रममा वोल्दै नेपालले प्रहरी र जनता भनेको नङ र मासु जस्तै सम्बन्ध भएकाले जनताको सेवामा मुस्कान सहितको सेवा भन्ने नियमलाई पालना गर्न नेपाल प्रहरीहरुलाई आग्रह गर्नु भयो । नेपाल प्रहरीहरुले आफ्नो काम प्रति इमान्दरीताका साथ–साथै नेपाल सरकार गृहमन्त्रालयले जारी गरेको कानुनी निर्देशिका अनुसार काम गर्नु पर्ने बताउनु भयो ।
यसै गरी कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाल सरकारले निजामति कर्मचारीलाई दिँदै आई रहेको तलब, भत्ता कार्यालय सहयोगी देखि सह–सचिव तह सम्मको सेवा सुविधा सम्मान हुनु पर्ने माग गरेका थिए । त्यस्तै आईतबार विहान भएको घैटो फुटाइ प्रतियोगितामा जिल्ला स्वास्थ्य कार्यालयकी गंगा देवकोटा विजयी हुनु भएको छ । विभिन्न प्रतियोगिताबाट विजयी खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायत कार्यक्रमका अतिथिहरुले मेडल प्रमाण पत्र प्रदान गरिएको थियो । निजामति दिवसको अवसरमा आयोजित कर्मचारीहरु बीचको भलिबल प्रतियोगितामा नेपाल निजामति कर्मचारी यूनियकको समूह विजयी भएका थिए भने ब्याडमिन्टन प्रतियोगितामा ट्राफिक प्रहरीका प्रकाश बहादुर सिंह र जिल्ला वन कार्यालयका रामकुमार श्रेष्ठ विजयी हुनु भएको थियो । यसै गरी निजामति दिवसको अवसरमा जिल्लामा कार्यरत एक जना महिला र एक जना पुरुषलाई उत्कृष्ठ जेष्ठ कर्मचारीको रुपमा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा जिल्ला हुलाक कार्यालयकी सारदा श्रेष्ठ र मध्यमाञ्चल सिंचाई सव डिभिजन कार्यालयका कार्य बहादुर गुरुङ रहेका छन् । दिवसकै अवसरमा दिवस मुल समोराह समितिले मुरली भञ्ज्याङ स्थित स्वाबलम्वी बहिरा प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेलकुद सामाग्री उपलब्ध गराएको छ । निजामति सेवा दिवस मूल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षता रहेको कार्यक्रममा कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष राजेन्द्र मान सिंह भण्डारी, राष्ट्रिय अनुसन्धान केन्द्र धादिङका प्रमुख मुकुन्द श्रेष्ठ, नेपाल कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका अध्यक्ष कृष्ण बहादुर पौड्ल लगायत विभिन्न संघ संगठनका निजामति कर्मचारी युनियनहरु लगायत सञ्चारकर्मीहरुको आतिथ्य रहेको थियो । २०१३ साल भदौ २२ गते देखि नेपालमा निजामती सेवा ऐन आएको र यसैको सम्झनामा २०६२ साल देखि यो दिवस मनाउन थालिएको हो । यसै गरी निजामति सेवा दिवस मुल समारोह समिति धादिङले आईतबार धादिङबेसीमा प्रभातफेरीको समेत आयोजना गरेको थियो ।