७ मंसिर, जाजरकोट । जाजरकोटको भुर गाविसमा गत विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
भूर गाविसको भूतचौरबाट भेरी नदीमा खसेको ना ३ ख १४०८ बसका बेपत्ता यात्रुहरुको खोजी गर्ने क्रममा आइतबार थप ३० जनाको शव निकालिएपछि मृतकको संख्या ३५ पुगेको हो ।
आइतबार थप ३० वटा शव भेटिएको र एकत्रित गरी जाजरकोटको खलंगा लैजाने तयारी भैरहेको आफन्तको खोजीमा टनास्थल पुगेको निरज खड्काले जानकारी दिए ।
दुर्घटनाको बेला बसमा ५० भन्दा बढी यात्रु रहेको अनुमान गरिए पनि संख्या भने एकीन हुन सकेको छैन ।
सडकबाट झण्डै ५० मिटर तल खसेर नदीमा डुबेको बसलाई चार दिनको प्रयासपछि आइतबार सडकमा निकालिएको छ ।
नदीमा हरारहेका यात्रुहरुलाई खोज्न नेपाली सेना र पोखराबाट ल्याइएका भाडाका गोताखोरहरु परिचालित छन् ।