किशोर–किशोरीमा बढ्दो असुरक्षित यौन
704 पटक पढिएको
नवीन लुइँटेल
सूचना र सञ्चारको बढ्दो विकासक्रमसँगै अत्यन्त महŒवपूर्ण मानिने यौनको विषयमा विश्वभरअचेल किशोर–किशोरीहरूले नौलो एवं पृथक् तबरबाट आफूलाई प्रस्तुत गरिरहेको पाइन्छ । विशेष गरी किशोरावस्था र त्यो अवस्था पार गरिरहेका युवायुवतीको जीवनशैली, मूल्यमान्यता एवं परम्परामा व्यापक परिवर्तन आइसकेको छ ।
आफूलाई आधुनिक भन्न रुचाउने किशोर–किशोरीमा पश्चिमा समाजको प्रभाव तीव्र रूपमा बढिरहेको छ । तसर्थ, यिनीहरूमा परिवर्तन देखिनु कुनै नौलो कुरा भएन । समयको बहावसँगै किशोरावस्थामा उत्पन्न हुने यौन जिज्ञासा र प्रभावका विषयमा पनि बेलाबेलामा विभिन्न चर्चा परिचर्चा हुने गरेको पाइन्छ । समयको माग र आवश्यकतासँगै किशोर अवस्थाका नेपाली युवाहरूको जीवनशैली पनि अरू समाजभन्दा भिन्न रहन सकेको छैन, यौन प्रसंगका सवालमा । सोमबार विश्व एड्स दिवस मनाइँदै छ । सन् २०१३ को विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार एड्सका कारण ३ करोडको ज्यान गइसकेको छ । अहिले पनि साढे ३ करोडकै संख्यामा एचआईभी एड्सको भाइरसबाट पीडित छन् । एड्स रोग लाग्ने प्रमुख कारण असुरक्षित यौन सम्पर्क नै भएको चिकित्सकले बताएका छन् ।
केही वर्षयता काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न सहरमा किशोर–किशोरीबीच बढ्दो असुरक्षित यौन क्रियाकलापका कारण प्रतिदिन बढ्दो रूपमा रहेको एचआईभी एड्सको संक्रमणले झन् विस्फोटक रूप लिन सक्ने संकेत देखिएको छ । एचआईभी एड्स तथा यौनजन्य अन्य संक्रमणहरूको खतराबारे अचेल व्यापक रूपमा प्रचारप्रसार एवं चेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि किशोर–किशोरीमा असुरक्षित यौनका क्रियाकलाप रोकिएका छैनन् । सरकार तथा सरोकारवालाले यौन सम्पर्कका उपायहरूको उपलब्धता एवं युवा वर्गको व्यवहारमा परिवर्तन ल्याउने ठोस कार्यक्रमको अवलम्बन गर्न नसक्दा ठूलो संख्यामा किशोर–किशोरीहरू जोखिमतर्फ धकेलिइरहेका छन् भन्दा अत्युक्ति नहोला ।
अन्य कुराहरूको तुलनामा नेपाली किशोर–किशोरी यौनको सवालमा अगाडि देखिन थालेका छन् । परिवार नियोजनसम्बन्धी एक संस्थाले गरेको सर्वेक्षणको तथ्यांकअनुसार नेपालका किशोर–किशोरीमध्ये ६४ प्रतिशतले १७ वर्ष पुग्नुअगावै यौन सम्पर्क राख्ने गरेका छन् । यो संख्यामा पनि थोरै किशोर–किशोरीले मात्र आफ्नो पहिलो यौन सम्पर्कको बेला अस्थायी साधनको प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । २० प्रतिशतभन्दा पनि कमले मात्रै कन्डमको प्रयोग गरेको पाइएको छ । आफ्नो पहिलो यौन सम्पर्कको बेलामा कुनै किसिमको झन्झट बेहोर्न चाहँदैनन्, किशोर–किशोरी । उनीहरूमा अस्थायी साधनको प्रयोग गर्नाले यौन क्रियाकलापमा सन्तुष्टि नआउने भ्रम छ । पछिल्लो समयमा काठमाडौं, ललितपुर, भक्तपुर, विराटनगर, पोखरा, धरानलगायतका सहरी इलाकामा यस्ता क्रियाकलाप ह्वात्तै बढेको पाइन्छ । सहरबजारदेखि लिएर विभिन्न पार्क तथा चोकचोकमा आजकलका युवायुवतीहरू सँगै आपत्तिजनक अवस्थामा भेटिन्छन् । प्रायः भर्खरै किशोरावस्थामा प्रवेश गरेका किशोर–किशोरी यसरी हिँडिरहेका हुन्छन् । साथै किशोर–किशोरीले दुई वा दुईभन्दा बढीसँग यौनसम्पर्क गर्ने गरेका छन् । केटाहरूको तुलनामा केटीहरू कम मात्र यौनको सवालमा अग्रसर भएको देखिन्छ, तर यसको मतलब केटीहरू यौनको सन्दर्भमा निष्क्रिय भने पक्कै होइनन् ।
हुन त नेपालमा कम उमेरमा विवाह गर्नेको संख्या कम छैन । नेपालको पछिल्लो जनसंख्या अनुसार १० देखि २४ वर्ष उमेर समूहका नागरिकको जनसंख्या कुल जनसंख्याको एक तिहाइ अर्थात ३३ प्रतिशत रहेको छ । यो उमेर समूहमध्ये ४० प्रतिशतभन्दा बढी किशोरीले १९ वर्षसम्ममा विवाह गरिसकेको पाइन्छ भने किशोरको विवाह उमेर त्योभन्दा केही अधिक रहेको पाइएको छ । विवाहअगावै यौनसम्पर्क राख्ने किशोरको संख्या पनि नेपालमा कम छैन । स्वास्थ्यको सवालमा पनि किशोरहरू लापर्बाही गर्छन् । यौन सम्पर्कको कुरामा कन्डमको प्रयोग गर्न अझै पनि किशोरहरूले झन्झट मान्ने गर्छन् ।
यसकारण पनि जोखिमपूर्ण ढंगले यौनरोग मौलाइरहेको छ । त्यस्तै, यसरी बढ्दै गएको असुरक्षित यौनसम्पर्कले गर्दा २० वर्षमुनिका किशोरीमा असुरक्षित गर्भपतनको समेत समस्या उत्पन्न हुने गरेको पाइएको छ । नेपालमा वैधानिक मानिएको गर्भपतन सेवा लिनेमध्ये कम्तीमा ५ प्रतिशत किशोरीहरू रहेको एक तथ्यांकले देखाएको छ । नेपालमा परिवार नियोजनका साधनको प्रयोग गर्ने नागरिकको जनसंख्या ४८ प्रतिशत रहेको भए पनि कन्डमको प्रयोग गर्ने भने ५ प्रतिशत मात्र पाइन्छन् । तर, यौन स्वास्थ्यमा सबैभन्दा राम्रो कन्डमलाई लिने गरिन्छ । यो एचआईभी संक्रमणलाई रोक्ने सबैभन्दा प्रभावकारी र सर्वसुलभ माध्यम हो र यसको प्रयोगका लागि सर्वत्र सहजै उपलब्धता छ । तर, आम सर्वसाधारणले यो प्रयोग गरेको पाइँदैन । त्यसैले, एचआईभी संक्रमणलाई रोक्न सकिने, सबैभन्दा प्रभावकारी र सर्वसुलभ मानिएको कन्डमको प्रयोगलाई सहज बनाउन सकिए यौनजन्य रोगबाट बाँच्न सकिएला ।
राजधानी दैनिकबाट