प्रवास समाचार

विदेशमा बस्ने नेपालीलाई फास्ट ट्रयाकबाट एमआरपी

By Dhading News

December 14, 2014

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालीका लागि फास्ट ट्रयाकमा मेसिन रिडेबल पासपोर्ट  एमआरपी वितरण गर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले हस्तलिखित पासपोर्ट समयमै विस्थापित गर्न आवेदन पाएको एक सातामै एमआरपी जारी गर्ने तयारी भएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन  आइकाको  सन् २०१५ को नोभेम्बरसम्म सबै हस्तलिखित राहदानी विस्थापित गर्न समयसीमा तोकेको छ । सो समयसम्म एमआरपी वितरण सक्न विदेशस्थित नेपाली नियोगमा प्राप्त आवेदन फास्ट ट्याकमा काम हुन लागेको विभागका महानिर्देशक थापाले बताए ।

उनले भने,‘नियोगबाट आउने गुनासो कम गर्न र हस्तलिखित पासपोर्ट समयमै प्रतिस्थापन गर्न एक सातामै नियोगमार्फत आएका निवेदनमा पासपोर्ट जारी गर्ने तयारी गरेका छौं ।’ विभागले नेपाली नियोगहरुलाई मासिक कम्तीमा दुईपटक पासपोर्टका फारम पठाउन आग्रह गरेको छ ।