वैदेशिक रोजगारीको क्रममा छ महिनामै ४६१ नेपालीको मृत्यु
710 पटक पढिएको
काठमाडौँ, ५ माघ । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धिभएसँगै विदेशिएका नेपाली कामदारको ती मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । यस आर्थिक वर्षको सुरुको छ महिनामै ४६१ जना नेपालीको मृत्यु भएको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी मलेसियमा २०७ जनाको मृत्यु भएको छ । त्यसैगरी, साउदी अरबमा १२८, कतारमा ६९ , दुबईमा २७, कुवेतमा, १५, बहराइनमा ६, दक्षिण कोरियामा तीन र जापान, ओमान, रुसमा एक÷एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४५८ पुरुष र तीन जना महिला छन् ।
तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ७७ जनाको विदेशी भूमिमै मृत्यु हुने गरेको छ । यसमा रोजगारीबाहेक पढ्न र अन्य कार्यको क्रममा विदेशमा मृत्यु भएका नेपाली समावेश गरिएको छैन ।
यस बाहेक पनि ठूलो सङ्ख्यामा भारतमा र भारत हुँदै अवैधानिकरूपमा तेस्रो मुलुकमा विदेशिएका नेपालीको मृत्यु हुने गरे पनि त्यसको तथ्याङ्क नेपाल सरकारसँग छैन । अवैधानिकरूपमा गएकाहरूको स्वदेशमा शव ल्याउन समेत अप्ठयारो पर्ने गरेको छ ।
–ः २५ ः–
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चालु आवको छ महिनामा प्राकृतिक मृत्युका कारण ११९ जना, सुतिरहेको अवस्था (कार्डियाक अरेस्ट) का कारण ११८, आत्महत्याका कारण ५४ जना, कार्यक्षेत्रमा काम गर्दै गर्दा ५२ जना, सडक दुर्घटनाका कारण ४६ र हृदयाघातका कारण ३३ जनाको मृत्यु भएको छ ।
विदेशी रोजगारदाताले दिएको विवरणको आधारमा यो तथ्याङ्क तयार पारिए पनि यथार्थमा भने अधिकांश कामदारको मृत्यु कामको सिलसिलामै हुने गरेको छ ।
सडक दुर्घटनाका कारण मृत्यु भएका र कार्यक्षेत्रमा काम गर्दै गर्दा मृत्यु भएका कामदारलाई मात्रै रोजगारदाता र त्यहाँको सरकारबाट क्षतिपूर्ति दिने प्रावधानका कारण रोजगारदाताले ती कारण मृत्यु भएकालाई पनि अन्य कारण मृत्यु भएको भनी क्षतिपूर्ति दिन नमानेको देखिएको छ ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लले कार्यस्थलमै व्यस्त रहने मजदुरको अन्य कारण मृत्यु हुने सम्भावना न्यून हुने भएकाले विदेशी रोजगारदाताले पठाएको विवरणलाई शङ्कास्पद रहेको बताउनुहुन्छ ।
बोर्डको वार्षिक कार्यक्रम मै यो विषयलाई समावेश गरी मृत्युको कारण र उनीहरूलाई दिइने क्षतिपूर्तिका लागि पहल गर्ने कार्यक्रम बनाइएको उहाँले जानकारी दिनुभयो ।
वैदेशिक कामदारको रूपमा दुबईमा लामो समय काम गर्नुभएका रमेश गिरी कार्यक्षेत्रमा काम गर्दागर्दै धेरै कामदारको मृत्यु हुने गरेपनि कानुनी झन्झट पनि ब्यहोर्न नपर्ने र क्षतिपूर्ति पनि दिन नपर्ने भएका कारण रोजगारदाताले सुतिरहेको अवस्था (कार्डियाक अरेस्ट) र प्राकृतिक मृत्यु जस्ता कारण भएको कागजात तयार पार्ने गरेको बताउनुहुन्छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली दिनभर घाममा काम गर्नुपर्ने, ठूला–ठूला घर बनाउँदा भारी बोक्ने, अग्ला ताडीको रुखमा गएर ताडी काट्ने, उद्योगमा गहु्रङ्गो वस्तु बोक्ने, गर्मी वातावरणमा अनकन्टार क्षेत्रमा गएर भेँडा चराउने जस्ता जोखिमपूर्ण काम गर्ने गरेका छन् ।
त्यसरी काम गर्दा मृत्यु भएकालाई रोजगारदाता सङ्घ संस्थाले रक्सी खाएर मृत्यु भएको, प्राकृतिक रूपमै मृत्यु भएको जस्तो बहाना बनाएर सोहीअनुरूपको ‘मेडिकल रिपोर्ट’ तयार पार्न लगाउने गरेको कामदार गिरीको अनुभव छ ।
मृत्यु भएका कामदारको पक्षमा बोलिदिने, कानुनी लडाइँमा सहयोग गर्ने र प्रहरीमा उजुरी हाल्ने कोही नहुने भएकाले रोजगारदाता संस्थाले मृत्युको अन्य कारण देखाएर क्षतिपूर्ति दिने आफ्नो दायित्वबाट भाग्ने गरेका छन् ।
मृतकलाई जस्तै कामकै सिलसिलामा घाइते भई अङ्गभङ्ग भएकालाई रोजगारदाता संस्थाले क्षतिपूर्ति दिनुपर्ने प्रावधान भए पनि अधिकांश नेपाली कामदारले चेतनाको अभावमा त्यस्तो क्षतिपूर्ति पाउने गरेका छैनन् । मागिहाले पनि निकै थोरै रकम लिएर चित्त बुझाउने गरेका छन् ।
बोर्डले वैधानिकरूपमा वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएमा परिवारलाई तीन लाख र मृतकको एक छोरा वा छोरीलाई विद्यालय तहको शिक्षा निःशुल्क पढाउन छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।
त्यस्तै अङ्गभङग भएका र कडा रोग लागेकालाई रु तीन लाखसम्म सहायता दिने गरेको छ । यसअघि रु डेढ लाखमात्रै सहायता दिने गरिएकामा गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले रु तीन लाख बनाउने निर्णय गरेको थियो । यी सुविधाबारे पर्याप्त जानकारी नहुँदा कतिपय मृतकका परिवार र अङ्गभङ्ग भएका कामदार सहायता लिन बोर्डसम्म पुग्ने नगरेको कार्यकारी निर्देशक काफ्ले बताउनुहुन्छ ।
चालु आवको छ महिना अवधिमा बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र अङ्गभङ्ग भएकालाई रु सात करोड ५४ लाख सहयोग दिएको छ ।
बोर्डले तथ्याङ्क राख्न सुरु गरेयता २०६४ सालदेखि हालसम्म तीन हजार ७७१ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । यसमा सबैभन्दा बढी मलेसियामा एक हजार ३४०, साउदी अरबमा एक हजार १५, कतारमा ८२०, युएई (दुबई)मा २९६, कुवेतमा १११ जनाको मृत्यु भएको छ ।
बहराइनमा ५५, दक्षिण कोरियामा ४५, ओमनमा ३७, लेबननमा २०, जापान, अफगानिस्तानमा र इजरायलमा सात÷सात रुसमा तीन, श्रीलङ्कामा दुई र माल्दिभ्स, लिबिया, जर्मनी, अमेरिका र पपुवा न्यूगिनीमा एक÷एक जना नेपाली कामदारको मृत्यु भएको छ ।
नेपालबाट प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा युवा रोजगारीका लागि बिदेसिने गरेका छन् । राम्रो कमाइ गरी घर परिवारलाई राहत दिने उद्देश्यसहित विदेशिएका युवाको ठूलो सङ्ख्यामा कमाइको साटो नेपालमा शव मात्रै फर्कने गरेको छ ।