मलेसियामा एक वर्षमा तीन सय ६१ नेपालीको मृत्यु

643 पटक पढिएको

सम्पादक: Dhading News

f2231ad30acb196c44d5d0030ef54b38_Lक्वालालम्पुर– मलेसियामा २०१४ मा तीन सय ६१ नेपालीले ज्यान गुमाएका छन्। यहाँस्थित नेपाली दूतावासका अनुसार कारखानामा काम गर्दागर्दै दुर्घटनामा परी ११ जना, दीर्घ रोगबाट ५२ जना, सवारी दुर्घटनामा ३६ जना, आत्महत्या गरी ४६ जनाले ज्यान गुमाएका छन्। बाँकी २ सय १६ नेपालीको मृत्युको कारण खुलेको छैन। तीमध्ये कतिपय सुतेको अवस्थामा मृत भेटिएको दूतावासले जनाएको छ।
दूतावासको तथ्यांकअनुसार सबैभन्दा धेरै सेप्टेम्बर महिनामा ४४ जनाको मृत्यु भएको छ। डिसेम्बरको सम्पूर्ण तथ्यांक नआइसके पनि अहिलेसम्म १५ नेपालीले ज्यान गुमाइसकेका छन्।
यहाँस्थित नेपाली राजदूत निरञ्जनमान बस्न्यातका अनुसार मलेसियामा नेपालीले ज्यान गुमाउनुको प्रमुख कारण यहाँको वातावरण र सवारी नियम बुझ्न नसक्नु र बिरामी हुँदा कम्पनीले समयमा उपचार नगराउनु हो। यहाँका कम्पनीले नेपाली कामदार बिरामी पर्दा समयमै अस्पताल नलग्ने गरेकाले पनि नेपालीले अकालमै ज्यान गुमाउनु परेका घटना धेरै भएको उनले बताए। यो वर्ष मात्रै उपचारमा भएको लापरबाहीका कारण ५२ नेपालीले ज्यान गुमाएका छन्।
त्यस्तै सवारी नियम थाहा नपाउनाले पनि उल्लेखीय मात्रामा नेपालीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। यो वर्षमात्रै ३६ नेपालीको दुर्घटनामा ज्यान गएको छ। यहाँ आउँदा नेपालीले अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्छ। अभिमुखीकरण तालिममा विषेशगरी सवारी नियमबारे सिकाइन्छ। तर मेनपावरले तालिमै नदिएर नक्कली प्रमाणपत्र बनाई पठाउने गरेकाले यहाँ धेरै नेपालीले दुर्घटनामा ज्यान गुमाउनु परेको बस्न्यात बताउँछन्।
उनका अनुसार यहाँ आएर नेपालीले आत्महत्या गर्नुको कारण पारिवारिक तनाव, भनेको काम र तलब नमिल्नु, रोजगारदाताले दिने मानसिक तनाव प्रमुख कारण हुन्। सन् २०१४ मा मात्रै मलेसियामा ४६ नेपालीले आत्महत्या गरेका छन्।
कतिपय नेपालीले सुतेकै अवस्थामा ज्यान गुमाएका छन्। खानपानमा ध्यान नदिनु,गर्मीमा काम गरेर आवश्यक मात्रामा पानी नपिउनु, गुणस्तरहीन मदिरा सेवन गर्नु लगायत कारण यस्तो स्थिति आउने गरेको दूतावासको भनाइ छ।