मोरङको सिसवनी–१ का विनोदकुमार महतोेले ५ वर्ष अघिदेखि पालेको एउटै खसीको तौल ९३ किलो छ । अनौठो ब्यबहार देखाएपछि महतोले सो खसी विक्रि नगरी पाल्दै आएका छन् । राँगोजत्रै खसीको ब्यबहारले जो कोहीलाई आश्चर्य चकित बनाउने गरेको छ । खसीको ब्यबहारबाट प्रभावित भएर स्थानीय तथा बटुवाले समेत खानेकुरा दिने र पूजा गर्ने गरेका छन् । बडेमानको खसीको ब्यवहार विचित्रको छ । गाउँमा हुने धार्मिक कार्यक्रमको भक्तिसंगीत सुन्नासाथ खसी कार्यक्रम स्थलमा जाने गर्छ । विराटनगर–रंगेली सडकखण्डको रामचौकका महतोले खुल्ला छोडेको खसी ५ किलोमिटर वरपर हुने सबै धार्मिक अनुष्ठानमा पुग्ने गरेको छिमेकी रामेश्वरदेव मण्डलले बताए । ०६४ मा सप्तरीको माहुलीबाट किनेर ल्याएको जमुनापारी जातको खसीले ०६८ चैत १३ देखि १८ सम्म आयोजित यज्ञमा पहलोपटक चमात्कारिक ब्यवहार देखायो । ‘यज्ञ सुरु भएदेखि नसकिएसम्म खसीले यज्ञस्थल छोडेन’, महतो भन्छन्, ‘यज्ञको विसर्जन गर्न मानिससँगै नदीसम्म गयो, खसीले धार्मिक ब्यवहार देखाएपछि आमाले खसी बिक्रि गर्न दिनुभएन ।
पटक पटक खसी बेच्ने जमर्काे गरेका महतोकी आमाको ०६८ चैत २५ गते मृत्यु भएपछि दाहसंस्कार गर्न पनि खसी मलामीको अघि–अघि लाग्यो । त्यस घटनादेखि महतोले खसी बेच्ने निर्णयमा परिवर्तन गरे । ‘जनावर हो, तर मानिसको भन्दा सभ्य र संस्कारयुक्त ब्यवहार गर्छ, त्यसैले बेच्ने निर्णय बदलें’, महतोले भने । ०६९ जेठमा पनि गाउँमा भएको ठुलो यज्ञमा पनि खसीले यज्ञमासमेत यज्ञस्थल नछाडेको स्थानीय बताउँछन् ।
सात वर्ष लागेको खसी हाल ९३ किलोको भएको छ । छिमेकी गाविस नोचाका शैयद आलमले गत वर्षको रमजानमा खसीलाई एक लाख ५० रुपैयाँ दिएपनि खसी नबेचेको महतोको भनाई छ । ‘ठुलो खसी पालेर के गर्छस ? खसीले दाईँ गर्दैन, गाडा र हलो तान्दैन भनेर धेरैले बेच्ने सल्लाह दिए’, महतोले भने, ‘तर,पैसा भन्दा संस्कार र धर्म ठुलो भनेर खसी बेचेको छैन ।’