‘ढुकुटीले बेहाल’: ७ बंगालाका करोडपतिको सडकको बास
646 पटक पढिएको
काठमाडौं,फागुन २० – चार वर्षअघि उनको जीवन देखेर लोभिनेहरुको ताँती नै हुन्थ्यो । राजधानीको मैतिदेविमा उनको ६ वटा घर थियो । चुच्चेपाटीमा विशाल बंगाला थियो । बंगालाबाट निस्कदा स्यान्ट्रो कारको ढोका खोलीदिने स्टाफ हुन्थ्यो । स्यान्ट्रो नभए विकल्पमा आइटेन हुन्थ्यो । सारीको लप्का मिलाउँदै त्यही आईटेनमा उनी सहर परिक्रमा गर्थिन् । तर, आज तीनै मन्जु यतिबेला झोलामा दुई–चार पोका चियापत्ति बोकेर ‘किन्ने हो’ भन्दै जीवनको पथ पहिल्याउदै हिँड्छिन् । उनको जीवनमा अनिकाल छ । अनिकाल जोगाउन उनी चियापसल चहार्दै हिँड्छिन् ।
उनको जीवनमा यतिछिटै यस्तो परिवर्तन आउनुको एउटै कारण हो ‘ढुकुटी’ । ढुकुटीले उनको करोडको सानलाई कल्पनाको दुनियाँमा धकेलिदिएको छ । ‘पहिले सबैले दिदि नमस्कार भन्थे, मैतिदेवि मन्दिर वरिपरि सबैको हाई–हाई थियो,’ वर्तमान प्रति विस्मित भावसहित मैतिदेविको आफ्नो पुरानो घर देखाउँदै मन्जुले भनिन्, ‘अहिले त्यता जान पनि लाज लाग्छ ।’
ढुकुटीकै कारण बंगालाबाट झरेर कंगाल बन्न आइपुगेकी मन्जुको कापीको पानामा २५ करोडभन्दा धेरै लिनुपर्ने हिसाब छ र दिनुपर्नेहरुले दिएका चेकहरु पनि करिब १० करोडको छ । ‘आफू ईमानदार भएर नै यस्तो भएको हो,’ आफूले लिनुपर्नेहरुको रकम र नामसहितको हिसाबको कागज देखाउँदै उनले भनिन्, ‘तर के गर्नु यी कापीका पानामा भएको हिसाबले न दाल किन्न सकिन्छ न त चामल नै, त्यसैले चिया बेच्दै हिँडेकी छु ।’ ढुकुटीबाट धेरै पैसा कमाउने उनको अभिप्सा थियो । त्यसैले थोरै पैसामा उनको आँखा परेन । थोरै खानेहरुले थारै रकम लिएर हिँडे धेरै कमाउने आस गर्दा गर्दै उनको सबै सम्पत्ति डुब्यो ।
कार्कीका श्रीमान् बाबुकाजी शेर्पा पहिले नेपाली सेनामा जागिरे थिए । बिरामी हुन थालेपछि उनले जागिर छाडे । पसल शुरु गरे । बिरामी झनै बढेपछि उनले पसल बेचे । पसल बेचेको पैसाले घर किनेर बस्न थाले । तर अहिले कार्की दम्पत्तिलाई ति सब सपनाजस्तो लाग्छ ।
के–के गुम्यो मन्जुको ?
मैतीदेविमा उनको पहिलो घर थियो । पसिना बेचेरै उनले करोडौं पर्ने घर खडा गरेकी थिइन् । महंगो मेहनतले बनेको तिनै घर कयौं ढुकुटी पार्टीले रंगिए । तर अहिले सोे घरमा पनि अरुनै बस्छन् । ढुकुटीले डुबाएर आफूले तिर्नुपर्ने मान्छेले गुण्डा ल्याएर दैनिक धम्काउन थालेपछि उनले यो घर पनि छाडेर जानुप¥यो । महाबौद्धमा मञ्जुको कपडा पसल थियो । चीन, थाइल्याण्ड जस्ता देशहरु मन्जुको व्यापारिक केन्द्रहरु थिए । दैनिक रुपमा चार लाखको व्यापार हुन्थ्यो । चार वटा ट्याक्सी दैनिक आम्दानी बोकेर उनकोमा हाजिर हुन्थे । ठीक त्यतिबेला उनलाई ढुकुटीको मतलब थिएन ।
ढुकुटी खेल्नुभन्दा अघि उनको आफ्नै सम्पत्ति करिब १ करोड २० लाख थियो । साथीहरुकै संगतमा महिलाहरुको समुह बनाएर उनले ढुकुटीको औपचारिक सुरुवात गरिन् । मञ्जुको त्यस्ता महिलाहरुसँग चिनजान भयो जो ढुकुटी खेलका स्टाइकरहरु थिए । तिनै स्टाइकरहरुको प्रहारबाट मन्जु अभाव र अनिकालको गोलपोस्ट तिर धकेलिइन् ।
मन्जुले ढुकुटी खेल्दाको गन्तव्यबारे पहिले कहिल्यै कल्पना पनि गरेकी थिइनन् कि ढुकुटीले जीवन बर्बाद पार्नेछ । सुरु सुरुमा ढुकुटीकै पैसाले ७ वटासम्म घर जोडेर घरजग्गाको समेत व्यापार थालेकी मञ्जु अहिले भने अरु कसैको घरमा भाडामा बस्नुपरेको छ ।
भाडाको घरमा कार्की दम्पतिको बास छ । खुल्ला होइन गुप्त स्थानमा किनकी उनलाई मृत्युको डर छ । ‘कतिबेला कुन गुण्डाले धम्काउने थाहा हुदैन,’ उनले भनिन्, ‘धेरैको धम्कीले अहिले कता कता मनमा डर मात्रै आइरहन्छ । कतिले तलाई अहिल्यै ट्वाइलेटमा हाल्दिन्छु भन्छन् ।’
दिनुपर्ने मानिसले दैनिक गुण्डासँगै ल्याएर धम्काउँछन्, आफूले लिनुपर्ने मानिसहरु सम्पर्कमै छैनन् । ‘प्रहरीबाट सधै पत्र आइरहन्छ । आफ्नो डुबाउनेहरु कता छन् पत्तो छैन,’ मञ्जु भन्छिन्, ‘कानुन सबैलाई बराबर हुनुपर्ने हो, तर यहाँ यस्तै रहेछ ।’
आफूले पैसा दिनुपर्ने मानिसहरुले रातारात घर कब्जा गरे, तर दिनुपर्ने मानिसले भने उल्टै थर्काउने गरेका छन् । ‘कतिचोटी पुलिसले पक्रेर लगे, धेरै गुण्डाहरुले धम्काए, अझै मार्छौं भन्छन्,’ उनले आँखाभरि आँशु पारेर भनिन्, ‘मर्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ कहिलेकाहीँ ।’
राजधानीका चलेका रेष्टुरेन्टहरुमा मञ्जु वाइनको नसासँगै उड्ने गर्थिन् । ‘मैले गर्न बाँकी केही राखिँन जीवनमा,’ मञ्जुले जीवनका रंगीन दुनियाँ प्रति मुख खोल्दै वर्तमानको दुस्कर जीवनबारे बोलिन्, ‘आज त कहिले टेम्पो चढ्ने पैसा पनि हुन्न । १० रुपैयाँ नभएर चढिसकेको टेम्पोबाट उत्रेकी छु ।’
कुनै बेलाको जीवन सम्झिँदा मञ्जु यतिबेलाको आफ्नो जीवन प्रति रुष्ट हुन्छिन्, ‘अब पनि के बाँच्ने जस्तो लाग्छ ।’
‘यस्तो हुन्छ भन्ने थाहा थिएन,’ उनले भनिन्,‘ नेखेल्ने भन्ने मान्छे नै हुन्न थियो, सबै जना चिने जानेकै हो भनेर बुझेको थिएँ तर अहिले यस्तो भयो, सरकारले कडा गरेदेखि उठ्थ्यो की ?’
उनको ज्वाई खाडी मुलुकमा पसिना बगाउँछन् । ‘ज्वार्इंले बाहिरबाट केहि खर्च पठाउनुहुन्छ,’ आफ्नो गुजाराबारे बोलिन्, ‘एक दिन छोरीको उपचारको लागि ५ हजार नपाएर छट्पटिनुप¥यो ।’
ढुकुटीको विगतले पोतेको अनुहार प्रति दुःख पोख्दै उनी भन्छिन्, ‘यस्तो हुन्छ भन्ने थाहा भएको भए कहाँ खेल्थेँ र ?’
-रातो पाटी डट कमवाट