पर्यटन

राजमार्ग मात्रै हो त धादिङ्गको चिनारी ?

By Dhading News

March 30, 2015

–अमर अधिकारी

नेपालको कुल क्षेत्रफलको २८.२ प्रतिशत भाग ओगट्दै, नेपाल अधिराज्यको ७५ जिल्ला मध्ये १२ औं स्थानमा रहेको धादिङ्ग, उत्तरी सिमाना भोटको इलाका देखि दक्षिणमा महाभारत पर्वतमाला सम्म फैलिएको नेपालको एक मात्र जिल्ला पनि हो । यस जिल्लाको उत्तरमा तिव्वतसंग जोडिएको गा.वि.स तिप्लीङ्ग ६०७५ मिटर र दक्षिणमा ३९२ मिटरमा छत्रेदेउराली गा.वि.स. रहेको छ । यसले गर्दा यस जिल्लामा हिमाली क्षेत्र, पहाडि क्षेत्र, उपत्यका जस्ता टारहरु, खोच, विभिन्न जैविक विविधता पाइन्छ । त्रिशुली, वुढी गण्डकी जस्ता नदिहरु, आँखु, थोपल खोला लगायत ४५ भन्दा वढी सानाखोलाहरु, गणेश हिमाल, सल्यानटार , आदमटार, जोगीटार, गंगाजमूना झरना, चमेरे गुफा, गोला भञ्याङ्ग, त्रिपुरासुन्दरी ढोला मण्डली मन्दीर जस्ता भौगोलिक, ऐतिहासीक, पर्यटकीय महत्पूर्ण स्थानहरु यस जिल्लामा रहेका छन् । झार्लाङ्गको आलु, सल्यानटारको मास, खाल्टेको सख्खर, धुनिवेशीको उखु, ज्याम्रुङ्ग÷स्यादुलको सुन्तला, मलेखुको माछा, तसर्पुको इस्कुश आदि एद्यापी प्रशिद्ध छ । काठमाडौं लगायत शहरहरुमा खपत हुने तरकारी वजारको महत्वपूर्ण हिस्सा धादिङ्गले वोक्दै आएको छ । धादिङ्ग भोली गएर काठमाडौंको वैकल्पीक स्थान पनि हो । सधै काठमाडौले जनसंख्याको चापलाई धान्न सक्दैन, त्यो सम्भावना धादिङ्गले वोकेको छ । काठमाडौंको नागढुँगादेखि जोगीमारा सम्मको झण्डै ८० कि.मी. राजमार्ग धादिङ्गमै पर्दछ । यी राजमार्ग हुदै हजारौ यात्रुहरु राजधानी ओहोर दोहोर गर्दछन् । यसर्थ उनीहरुले देखेको धादिङ्ग जोगीमारा देखि नागढुङ्गा सम्मको हो । अधिकाँशले धादिङ्ग वढी दुर्घना हुने, वढी वन्द हुने, गिटी वालुवा वोक्ने मिनि ट््रकले पानी चुहाउदै सडक विगार्ने, वढी क्रसर उद्योग भएको, वढी पर्यावरण नाश भएको , अस्वस्थकर र मंहगो खानेकुरा खुवाउने, यौन व्यापार हुने, वढी लुटपाट हुने जिल्लाको रुपमा लिएको पाइन्छ । उनीहरुले देखेका धादिङ्ग यही हो । साच्चै यी आरोपहरु यथार्थतामा सत्य पनि हुन् । कयौ चोटी यी मार्ग भएर यात्रा गर्दा म आफू पनि साथीहरुको पेचीलो प्रहारले लज्जीत हुनु परेको थुप्प्रै अनुभवहरु सगालेको छु । यसैले यस कटु सत्यतालाई आरोप मात्र भन्न पनि सकिदैन । राजमार्गको यात्रा गर्दा थुप्प्रैले यस्ता समस्या भोगेका पनि होलान् । राजमार्गको वरिपरि थुप्प्रीएका क्रसर उद्योगहरुले धादिङ्गको पर्यावरणको विनास गर्दै गएका छन् । दिनुहुँ सयौ टिपका वालुवा, गिटी, रोडा ढुवानीले सडकको स्वरुप विगारेका छन् । वालुवा, गिटी, रोडा आदिको लोभले सार्वजनिक जग्गाहरुमा भुमाफियाहरुको गिद्दे नजर लाग्दै गएको पाइन्छ । सामुदायीक जंगलहरुको विनास वढ्दो छ । त्यसै गरी राजमार्ग वरिपरि खुलेका विभिन्न नामधारी होटल, रेस्टुराहरुले यात्रुहरुको स्वास्थ्यमा खेलवाड गरी रहेका छन् । महंगो मूल्यमा अस्वस्थकर खानेकुरा वितरण मात्र गरेका छैनन् खाना वाध्य वनाएका छन् । त्यहाँ पाइने पाकन मात्र हैन जंग फुडको पनि मूल्य अन्यत्र पाइने भन्दा दोव्वर सम्मका हुन्छन् । अझ विभिन्न कारणले राजमार्ग वन्द हुदाँ एउटा चाउ चाउको ९० रुपैयाँ सम्म तिर्नुपर्ने अवस्था सिर्जना हुन्छन् । कतिपय समयमा व्यापार वढाउन व्यापारीहरु आफैले पनि राजमार्ग वन्द गर्छन् भन्ने आरोप कतिपय यात्रुहरुले लगाउने गरेको सुनिन्छ । उनीहरुको भनाईमा राजमार्गमा खुलेका कतिपय भट्टीहरुमा यौन व्यापार र नसालु पदार्थको विक्रि वितरण पनि हुने गर्दछ । राजमार्गमा डाका लाग्नु, लुटपाट हुनु सामान्य वन्दै गएको छ । राजमार्गमा चल्ले पुराना र मापदण्ड विपरितका गाडीहरुले प्रदुषण वढाउदै लगेका छन् । सडक दुर्घनाको मात्रा घट्नुको सट्टा झन झन दिनहुँ वढ्दै गएको टिभी र रेडियोहरुले प्रशारण गरिरहेका हुन्छन् । साच्चै यस्ता समस्याहरुको वारेमा धेरै गोष्ठी र सेमिनारहरु भएका पनि होलान । तर समस्याहरु निराकरण भएका छैनन् । यसैले पनि फेरी हामी सवैले गहिएर सोच्ने वेला भएको छ । राजनीतिज्ञ, नागरिक समाज, सरकारी संयन्त्र, पत्राकार लगायत सवै जनसमुदायहरुले राजमार्गको सुधारमा ध्यान दिनुपर्दछ । राजमार्गमा सुरक्षा गस्ती वढाउनु पर्ने, होटल तथा रेष्टुराहरुको अनुगमन हुनु पर्ने, निश्चित मूल्य निधारण सहितका मापदण्डहरु तोक्नु पर्ने, पर्यावरण जैविकता संरक्षणमा ध्यानपुराउनु पर्ने, सडकको उचित संरक्षण गर्नु पर्ने जस्ता धेरै कार्यहरु गर्नूृपर्ने खाचो अहिले पनि उत्तिकै छ । त्यसैगरी त्रिशुली नदी, आँखु र थोपल खोलाको सरसफाई र उचित संरक्षणको जरुरी भैसकेको छ । धादिङ्गलाई हामीले काठमाडौको वैकल्पीक शहरको रुपमा रुपान्तरण गर्दै धादिङ्ग भनेको शान्त र समुन्नत, वन्द हड्ताल नहुने, हराभरा भएको, स्वास्थकर र सहुलियत दरमा खानेकुरा पाइने, जैविक र पोषणयुक्त तरकारी र फलफूल पाइने, विश्व विद्यालय भएको , धेरै उद्योग र कलकारखाना भएको, राजनैतिक सुझवुझ भएको, अत्यन्त कम दुर्घटना हुने आदि थुप्पै विशेषता भएको जिल्लाको रुपमा परिणत गर्न सवै कम्मर कसेर लाग्नु पर्ने देखिन्छ ।