धादिङ । धादिङका किसानहरुले पुरानो तथा लोपउन्मुख खाद्यान्न बालीहरुको बिउ संरक्षण गर्न थालेका छन् । जोगिमारा गाविसमा सामुदायिक बिउ बैंकको स्थापना गरी पुरानो तथा लोपोन्मुख खाद्यान्नका बिउहरु संकलन गर्न थालेका हुन् । नेपालको सबै भु–भागमा उन्नत जातको खेति गरी धेरै उत्पादन गर्ने भन्दै विदेशी बिउहरु भित्रिने क्रम बढ्दै जाँदा आफुहरुले स्थानीय बिउ संरक्षणमा लागेको किसानहरुले बताएका छन् । तीन वर्ष अघिदेखि बिउ बैक सुरु गरेको भएपनि यसवर्षबाट भने बिउ संरक्षणप्रति किसानहरुको आकर्षण बढेको बैक संचालक किसानहरुले बताएका छन् । गाउँमा जैविक विविधता संरक्षण तथा विकास समिति गठन गरेर दुई वर्ष सम्म तालिम र अर्गानिक उत्पादन गर्न किसानलाई सिकाएपछि अहिले किसानहरु आफै सक्रिय देखिएको बैक संचालक समितिका उपाध्यक्ष कुमारी डल्लाकोटीले बताइन् । उनी भन्छिन्, ‘औषधि मुलक बाली र चेपाङ समुदायको परम्परागत खाना कन्दमुलहरुको संरक्षण समेत यहाँ गरिएको छ ।’
स्थानीय जात बिना नयाँ जातको विकास गर्न नसकिने हुँदा यसको संरक्षण गर्नु पर्छ भन्ने ज्ञान भएपछि लोपोन्मुख बालीको संरक्षण गर्ने उद्देश्य राखेर स्थापना गरिएको बिउ बैंकमा हाल एक सय भन्दा बढी बिउहरु संरक्षण गरिएको छ । गाउँमा पुराना बिउहरु मासिंदै जाँदा त्यस्ता विउहरुको संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ लिवर्ड नेपालको संगको साझेदारीमा सामुदायिक बिउ बैंक स्थापना गरी संचालनमा ल्याइएको हो । स्थानीय जातका बिउबाट उत्पादन कम भए पनि झरी तथा खडेरी सहन सक्ने र रोग किरा कम लाग्ने भएको हुँदा संरक्षणमा लाग्नै पर्ने अवस्था आएको डल्लाकोटी बताउँछिन् । संस्था स्थापना गरेपछि गाउँभरी संरक्षणको अभियान सुरु गरिएको छ । प्रत्येक वडामा कम्तिमा एउटा जातको बिउ संरक्षण गर्न सामुदायिक ब्लक बनाएर उत्पादन गर्ने गरिएको छ । केही ठाउँमा व्यक्तिको जग्गामा भाडा तिरेर मौसम अनुसारको खेति लगाएको छ ।
विउ बैकमा औषधि मुलक बाली र चेपाङ समुदायको परम्परागत खाना कन्दमुलहरुको समेत संरक्षण गरिएको छ । तर, समुदाय स्तरबाट सञ्चालनमा ल्याईएको बिउ बैंकलाई सरकारी सहयोग खासै छैन । विउको गुणस्तर मापनको लागि कृषि कार्यालयसंग पटक पटक अनुरोध गर्दा पनि सहयोग नपाएको उनीहरुको गुनासो छ । अन्य आम्दानीको श्रोत नहुँदा निरन्तरता दिन गाह्रो भएको उनीहरु बताउँछन् । प्रत्येक वडामा डाइभर्सिटी ब्लक बनाएर घैया, धान, मकै, कागुनो, सामा, तील, जुनेलो, सिलाम, मस्याङ, गहत, वोडी, भट्टमास, घिरौंला, फर्सि, सिमी लगायतका बालिको संरक्षण गरिएको छ । जंगलमा पाइने गिठा, भ्याकुर भार्लाङ जस्ता कन्दमुलहरु पनि संरक्षण गर्न थालिएको बैकका कोषाध्यक्ष एवं व्यवस्थापक हरिमायाँ शाहीले बताइन् । अन्य कन्दमुल बारीमा लगाइएको छ । कन्दमुल र जडिबुटीको ब्लक बनाउने योजना पनि छ ।
सुरु सुरुमा किसानलाई बुझाउन निकै कठिन भएको बैक संचालकहरुको उनुभव छ । सामा, कोदो, कागुनो जस्ता बाली प्रयोगमा आउनै छाडिसकेका थिए, गाउँमा किसानहरु पुरानोबाट नयाँ तिर अगाडी बढी सक्यौं, फेरी यतै तिर फर्कनेर ! भन्ने जवाफ आउँथ्यो । हामीले स्थानीय बाली विना नयाँ जातको विकास गर्न सकिन्न भन्ने कुरा बुझाएपछि गाउँलेहरुले पनि सहयोग गरेको बैक संचालकहरु बताउँछन् । धादिङ, गोरखा, तनहँु, नुवाकोट लगायतका जिल्लालाई नै अर्गानिक उत्पादनमा नमूना बनाउने उद्देश्यले किसानहरुकै पहलमा स्थापना भएको यस विउ बैंकमा स्थानीय प्रविधिबाट विउ सुरक्षित गर्ने गरिएको छ ।