मुख्य समाचार

नाकाबन्दी गर्दा भारतलाई हुने पाँच घाटा नाकाबन्दीले नेपाललाई भन्दा भारतलाई बढ्ता नोक्सानी –

By Dhading News

September 22, 2015

अरुण बराल/विश्लेषण

कतिपय मानिसहरुले सोच्दछन् कि भारतले नेपालको सीमानामा नाकाबन्दी गर्‍यो भने यसबाट नेपाललाई समस्या पर्नेछ । तर, आर्थिक, राजनीतिक एवं भौगोलिक अवस्थितिलाई हेर्दा नेपाललाई नाकाबन्दी गर्ने नीतिले नेपाललाई भन्दा ठूलो घाटा भारतले व्यहोर्ने देखिन्छ । नेपालमाथि नाकाबन्दी गरिएमा भारतलाई पर्न जाने पाँचवटा नोक्सानी यी हुन् :

१. नेपालमा भारत विरोधी भावना बढ्छ

नेपालीहरुमा रहेको भारतविरोधी भावनालाई कसरी कम गर्न सकिन्छ भन्ने दिल्लीलाई ठूलो चिन्ता छ । सुरुमा मोदीले यसलाई केही कम गराएकै हुन्, जसका कारण बिप्पा, कर्णाली तेस्रोको पीडीएलगायतका सहमति गर्न भारतीयलाई सहज भयो । तर, नाकाबन्दीको बाटोमा भारत हिँड्यो भने नेपालीहरुमा विगतको भन्दा चर्को गरी भारतविरोधी भावना बढ्नेछ । कम्युनिष्ट स्कुलिङको पुरानो पुस्ता वा दक्षिणपन्थी राष्ट्रवादीहरुमात्रै होइन कि राजनीतिमा प्रवेश गरिनसकेको नयाँ पुस्ता पनि भारतविरोधी बन्ने छ ।

modi-walking-in-street-2

नेपाल भ्रमणका क्रममा सर्वसाधारणसँग हात मिलाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

नेपालमा यसरी बढ्ने भारतविरोधी भावनाको मूल्य दिल्लीलाई निकै महंगो पर्न जानेछ । दक्षिण एशियामा भुटानबाहेक अन्य छिमेकीसँग राम्रो सम्बन्ध नरहेको भारतको प्रभाव नेपालबाट कम हुन थाल्नेछ । नेपालीहरुले पाकिस्तानीसँग अंकमाल गर्नेछन्, जसको परिणाम के हुन्छ, दिल्लीले राम्रैसँग आँकलन गरेको हुनुपर्छ ।

नेपालमा जतिजति भारतविरोधी भावना बढ्छ, त्यति नै यहाँका विकास आयोजना, नदीनाला, विद्युत, लगानी, ठेक्काट्टा र बन्द व्यापारमा भारतको बिजनेस चौपट बन्न थाल्नेछ । भावनाको असर भारतको मार्केट इकोनोमीमा पर्नेछ । उसको उर्जा र सिंचाइको संकटमा पर्नेछ । किनकि नेपाललाई खुशी नपारेसम्म भारतको सिंचाइ र उर्जासंकट समाधान हुनेवाला छैन ।

२.नेपालमा भारतको बजार सुक्छ

तथ्यांकले भन्छ, नेपालले एक वर्षमा भारतबाट झण्डै ५ खर्ब (४ खर्ब ९१ अर्ब ६५ करोड) रुपैयाँ बराबरको वस्तु र सेवा खरीद गर्छ । विशाल भारतका लागि उसको राष्ट्रिय आयमा नेपालको यो रकमले खासै ठूलो योगदान नगर्ला । तर, यसमा ध्यान दिने कुरा के छ भने भारतप्रति ६४ प्रतिशत व्यापारमा निर्भरता देखिएको नेपालमा उसको नाकाबन्दीले फेरबदल ल्याउने सम्भावना प्रवल हुन्छ ।

भारतबाट ५ खर्ब हाराहारीको सामान आयात गर्ने नेपालले उसको देशमा निर्यात गर्ने वस्तु र सेवा एक खर्ब पनि पुग्दैन । नेपालले एउटा आर्थिक वर्षमा ५५ अर्बको हाराहारीमा वस्तु निर्यात गर्दै आएको छ ।

व्यापारको कुरा गर्दा यो पनि स्मरण गर्नुपर्ने हुन्छ कि नेपालले भारतसँगको व्यापारको ठूलो घाटा व्यहोर्दै आएको छ । निर्यात र आयातको सन्तुलनमा ठूलो खाडल छ । आर्थिक नाकाबन्दीले नकारात्मकरुपमै भए पनि सही, यो खाडललाई केही घटाइदिने छ ।

व्यापारको कुरा गर्दा एउटा देशको इच्छाले मात्रै त्यो बन्द हुँदैन । पछिल्लो समयमा आफूलाई जतिसुकै शत्रु राष्ट्र भनिएकाहरुका वीचमा पनि आन्तरिक-निर्भरता बढ्दै गएको छ । अमेरिकामा हुने व्यापारबाट चीनले आफ्नो राष्ट्रिय आयमा १२ प्रतिशत भन्दा बढी योगदान गर्छ, जसलाई अमेरिकाले रोम्न सक्दैन । नेपाल र भारतको व्यापारिक सम्बन्धको हकमा पनि नाकाबन्दस् लगाउँदैमा एकापसमा हुने व्यापारिक अन्तरसम्बन्ध शुन्यमा झर्न सक्दैन ।

बरु के चाँहि भन्न सकिन्छ भने मधेसका जनतालाई सहानुभूति देखाउन भारतले सीमाना ‘सील’ गर्‍यो भने यसको मार मधेसमा रहेका नेपाली जनतामाथि पर्नेछ । पहाडका जनताले चिनियाँ नाका प्रयोग गर्न सक्छन् । नेपालमा यतिबेला टुथपेष्ट, ड्राइफुड, सियो, दाह्री काट्ने मेसिनदेखि बच्चाले खाने ल्याक्टोजीनसम्म र नेपालीका घरमा पाक्ने चामलसम्म भारतले बेचिरहेको छ । नाकाबन्दी गरेर यो व्यापार सुकाउँदा पक्कै पनि भारतलाई फाइदा हुनेछैन ।

नाकाबन्दीका बेला भारतीय माल नपाइएको झोंकमा चिनियाँ सामान किन्ने आदत नेपालीहरुमा पर्‍यो भने नाकाबन्दी खोल्दा भारतलाई घाटा भइसकेको हुनेछ ।

अहिलेसम्म नेपालीहरुले भारतीय माल बहिस्कार गरौं भनेका छैनन्, तर तनाव बढ्दै गयो भने भारतीय माल बहिस्कार अभियान पनि चल्न सक्छ जसरी गान्धीले अंग्रेजी मालको विरोध गर्दै चर्खा आन्दोलन चलाएका थिए ।

३. चीनलाई सोझो फाइदा पुग्छ

नेपालमा चीनको प्रभाव बढ्यो भनेर दिल्लीलाई निकै ठूलो चिन्ता गर्दै आएको छ । तर, सीमानामा नाकाबन्दी गर्ने वा नेपालको संविधानलाई स्वागत नगरेर नेपालीलाई चिढ्याउने भारतीय नीतिले नेपालमा चीनको प्रभाव अरु बढाउनेछ ।

नेपालको राजनीतिमा चीनको खासै चासो छैन, तर चीनले नेपालको बजारमा आफूलाई अरु विस्तारित गर्ने मौका पाउनेछ भारतीय नाकाबन्दीले ।

नेपाली बजारका चिनियाँ मालहरु अरु थपिने छन्, यहाँको विकास आयोजना र ठेक्कापट्टामा चिनियाँ ठेकेदार कम्पनीहरुले सहज प्रवेश पाउन थाल्नेछन् । फास्ट ट्रयाक, एयरपोर्ट निर्माणको ठेक्का इत्यादि भारतीयलाई होइन, चिनियाँलाई दिनुपर्छ भन्ने माग हुन थाल्नेछ । यसले गर्दा पाकिस्तानमा जस्तै नेपालमा पनि चीनको बजार विस्तार सहज हुनेछ ।

र, यही आवश्यकतालाई महसुस गरेर उत्तरतर्फबाट सीमा जोड्ने सडकहरुको विस्तारमा राज्य लाग्न थाल्नेछ । विस्तारै नेपाल दक्षिण एशियाको भारतविरोधी मुलुक बन्न जानेछ ।

नेपाललाई दुःख दिने भारतीय नीतिका कारण नेपालमा चिनियाँ प्रभावमात्रै बढ्ने छैन, पश्चिमाहरुको प्रभाव पनि थप विस्तारित हुन गई भारतको प्रभाव कमजोर एवं निरीह बन्न सुरु गर्नेछ । तर, यसबाट सबैभन्दा बढी फाइदा चीनले उठाउनेछ । नेपाल ढुक्कसँग चीनको बजार बन्न थाल्नेछ ।

मधेसमा द्वन्द्व बढ्यो भने राष्ट्र संघले प्रवेश गर्न सक्छ । जबकि विगतमा राष्ट्र संघ नेपालमा आउँदा भारतलाई टाउको दुखाइएको विषय बनेको थियो ।

४. भारतसँग ‘डिपेन्डेन्सी’ घट्छ, राष्ट्रिय स्वाभिमान बढ्छ

नेपालको अर्थतन्त्र भारतप्रति बढ्ता निर्भर रहँदै आएको छ । तर, सीमामा नाकाबन्दी गर्ने र नेपाललाई चिढ्याउने भारतीय नीतिले नेपालमा भारतको ‘डिपेन्डेन्सी’ घटाउनका लागि भूमिका खेल्नेछ ।

व्यापार र बजारमा भारतीय निर्भरताका सूचकहरु ओरालो लाग्नेछन् । भारतमा कुल्ली गर्न जानेहरु घटेर बरु अरबतिर जानेछन् । भारतीय सिमेन्टको साटो नेपाली सिमेन्टको प्रयोग बढ्नेछ । नेपालमा उत्पादित बस्तुहरुको प्रयोग बढ्नेछ । तरकारी र मासुसमेत भारतबाट मगाएर खानुपर्ने अवस्थामा पुगेका नेपालीले स्वदेशी तरकारी उत्पादन बढाउने छन् । काँकडभिट्टाको बाटोबाट भारत छिर्न नपाएको तरकारी काठमाडौंतिर आउन थाल्ने छ । भारत जाने धान नेपालमै कुटिन थाल्नेछ र भारतबाट चामल आयात गर्ने कार्य घट्नेछ ।

मानव जीवनका हरेक क्षेत्रमा नेपालीहरुले भारतीय निर्भरता घटाउन थाल्नेछन् । नेपाली निर्भरता भारतबाट अरुतिर सर्न थाल्नेछ । नेपाल र चीनवीच सोझो हवाइ मार्ग जोडिएको अहिलेको आधुनिक युगमा भारतसँगको नेपालको निरर्भरता विगतकैजस्तो जकडिएको अवस्थामा रहनेछ भने कल्पना गर्नु गलत हुनेछ ।

विगत ०४५ सालमा जस्तो नेपालीहरुले धेरै कुरामा भारतको भर पर्नुपर्ने स्थिति थियो भने अहिले बजारमा यत्रतत्र पाइने चिनियाँ अत्यावश्यक सामाग्रीहरुका कारण भारतसँगको ‘डिपेन्डेन्सी’ घट्दै गइरहेको छ । भारतले लगाउने नाकाबन्दीले भारतसँगको डिपेन्डेन्सी अरु घट्छ र चीनसँगको ‘डिपेन्डेन्सी’ अझ बढ्नेछ ।

नेपालीहरुमा हामी गरीब छौं, तर स्भाविमानी हुन्छौं भन्ने भावना जागृत भयो भने यो एउटा त्यस्तो जात हो, जसले बेलायती साम्राज्यको घेराबन्दीमा पनि आफूलाई स्वतन्त्र राखेको थियो । र, अहिले पनि निश्चितरुमा राख्न सक्नेछ ।

भारतको भक्ति नगरी नेपाल टिक्नै सक्दैन भन्ने राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन राख्नेहरुलाई एउटा ठूलो झापड बन्न पुग्नेछ भारतले लगाउने आर्थिक नाकाबन्दी ।

५. भारतको आन्तरिक सुरक्षामा चुनौती थपिन्छ

नेपाल एउटा त्यस्तो भौगोलिक अवस्थितिमा रहेको देश हो, जहाँका जनतालाई चिढ्याउनु भारतका लागि हानिकारक छ ।दक्षिण एशियामा शत्रुजस्ता देशका रुपमा रहेका भारत र पाकिस्तानवीच सुमधुर सम्बन्ध रहेको कुनै मुलुक छ भने त्यो नेपाल हो । अहिलेसम्म कसैको उपनिवेश नबनेको देश पनि दक्षिण एशियामा नेपालै मात्र हो । नेपालको सम्बन्ध पाकिस्तानसँग पनि राम्रो छ । भारतले नेपालमा पाकिस्तानी गतिविधि बढेको आरोप लगाउने गरेकै छ ।

अब भारतले नेपालीहरुको मन दुखायो भने उसले भन्दै आएको पाकिस्तानी प्रभाव नेपालमा बढ्न सक्छ र यसबाट भारतको सुरक्षा मामिलामा असर पार्न सक्छ । पाकिस्तानबाट नेपाललाई खासै फाइदा छैन, तर यो नेपालको मामिलामा हैन, भारतको मामिलामा चिन्ताको कुरा हो । पाकिस्तानीहरु पनि भारतसँग सम्बन्ध सुधार्नै चाहन्छन्, तर त्यताबाट आतंकवाद छिर्ने भारतलाई ठूलो डर छ ।

तराईमा यदि भारतले भाँडभैलो मच्चायो भने त्यहाँबाट धेरैथोक छिर्न सक्छ । अहिलेसम्म नेपालले भारतको उत्तरी सीमानामा रखवारी गरिदिँदै आएको छ ।

सामाजिक अन्तरनिर्भरताको कुरा गर्दा भारतको सैन्य सेवामा ठूलो संख्यामा गोरखालीहरु छन् । भारतीयहरुका भान्साघरमा र गेटमा नेपाली कामदारहरु छन् । लोकतन्त्रको दुहाइ दिने भारतीयहरुको यौन तिर्खा मेट्ने दिल्लीका वेश्यालयहरुमा नेपाली चेलीहरु छन् । भारतीयहरुको पवित्र तीर्थस्थल पशुपतिनाथ नेपालमा छ । लुम्बिनी नेपालमा छ, बोधगया भारतमा छ । नेपालीहरुका तीर्थस्थल पनि भारतमा छन् ।

यतिमात्रै होइन, गोरखाल्याण्ड, असाम, मेघालय, सिक्किम लगायतका स्थानमा नेपालको जनसंख्याकै हाराहारीमा नेपालीभाषीहरु बसोबास गर्छन् । नेपालको तराई मधेसमा र सीमा जोडिएको युपी विहारमा दुबैतिर आफन्त र नातेदारहरुको आँगन जोडिएको छ ।

हो, मधेसीहरु नेपालको तराईमा बढी बसोबास गर्छन् छन् । तर, भारतमा पनि त नेपाली भाषीहरु बसोबास गर्छन् । मधेसमा पहाडी मूलका नेपालीहरु पनि बस्छन् । र, काठमाडौंमा पनि लाखौंको संख्यामा मधेसी मूलका नेपालीहरु बस्छन् । यो अन्तरनिर्भरताले मधेस र काठमाडौंलाई जसरी जोडेको छ, भारत र नेपाललाई पनि त्यसरी नै कसिलोगरी जोडेको छ । कसैले चाहँदैमा यो अन्तरसम्बन्धको डोरी काट्न सजिलो छैन ।

अन्त्यमा दुईवटा प्रश्न :

एक- त्यति ठूलो भारतले नेपाललाई नाकाबन्दी गर्दा के नेपालीहरु चाँहि निसासिँदैनन् ? नेपालले चाहिँ दुख पाउँदैन ?

दुई- के साँच्चै नरेन्द्र मोदीले इन्दिरा गान्धी र राजीव गान्धीको जस्तो मध्ययुगीन नाकाबन्दीको नीति अपनाउलान् ?

पहिलो प्रश्नमा के भन्न सकिन्छ भने नेपालीहरु ती बहादुर जाति हुन्, जसले रोटी र स्वाभिमानमध्ये अहिलेसम्म रोटीलाई कम प्राथमिकता दिँदै आएका छन् । भारतको नाकाबन्दीले नेपालमा तिनीहरुलाई मात्रै घाटा हुनेछ, जो राष्ट्रिय आत्मसमर्पणवादी छन् ।

दोस्रो प्रश्नमा के भन्न सकिन्छ भने भारतीयहरु त्यही गँवार छैनन्, जसले जाजाजान नेपालजस्तो छिमेकीलाई चिढ्याएर आफ्नो देशमाथि विपद निम्त्याउन चाहँदैनन् ।

बुद्धि बिग्रयो भने भन्न सकिन्न, तर, दक्षिण एशियाको नेतृत्व गर्छु भन्ने मोदीका लागि नेपाल सानो देश होइन, महत्वपूर्ण, बलियो र सामरिक देश हो । गोर्खालीको रगतबारे उनले नेपाल भ्रमणबा बेला संसदमा भाषण गर्दैखेरि भनिसकेका छन्, त्यसलाई सबैले सम्भिmए पुग्छ ।