काठमाण्डौं नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ । आइतबार बसेको स्थायी समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले सचिब प्रदिप ज्ञवालीले यस अघिको सहमति अनुसार आफ्नो निर्णयमा काँग्रेस र एमाओवादीले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन पहल गर्नको लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र विद्या भण्डारी सम्मिलित कार्यदल समेत बनाएको छ । संविधान अनुसार आउदो २२ गते सम्म प्रधानमन्त्री चयन गरिसक्नुपर्ने प्राबधान छ । संविधान जारी भएपछि एमाले अध्यक्ष ओलीलाई सरकारको नेतृत्व गर्न दिने दलहरुबीच भद्र सहमति भएको भनिंदै आएको छ । राष्ट्रपतिले असोज १५ गते सात दिनभित्र सहमतीय सरकार गठनको लागि राजनीतिक दललाई आग्रह गरिसक्नुभएको छ ।