मुख्य समाचार

सुशील कोइरालालाई सन्न्यास लिन सुझाव ‘प्रधानमन्त्रीमा उम्मेदवारीले अपूरणीय क्षति’

By Dhading News

October 14, 2015

राजनीतिक जीवनको उत्कर्षमा पुगेका सुशील कोइराला एउटा गलत निर्णयले सधैंभरि पछुताउनुपर्ने अवस्थामा पुगेका छन् । अत्यन्त रहस्यपूर्ण ढंगले पुनः प्रधानमन्त्री पदको उम्मेदवार बन्दा एकातिर उनको कथित त्यागी नेताको छवि धुलिसात भयो भने अर्कोतिर उनी कहाँबाट परिचालित छन् भन्ने शंसयसमेत पैदा भएको छ ।

सुशील कोइराला प्रधानमन्त्री पदका लागि गलत व्यक्ति थिए । यदि हामी ०४६ सालयताका प्रधानमन्त्रीको कुरा गर्छौं भने उनीजति कमजोर र अकर्मण्य प्रधानमन्त्री सायदै अर्को भेट्नेछौं । ०४६ सालअघि पनि नगेन्द्रप्रसाद रिजाल मात्रै उनको तुलनामा आउँछन् ।

कोइरालाको व्यक्तित्वमा कुनै पनि त्यस्तो खुबी भेटिँदैन, जसले देशको नेतृत्व गर्न योग्य बनाओस । देशको मात्रै होइन, कुनै सानोतिनो संगठनको नेतृत्व गर्ने क्षमता पनि उनको देखिँदैन ।

भविश्यको आँकलन गरेर हिँड्न सक्ने दुरदृष्टि भएको, धेरै मान्छेलाई समेट्न सक्ने, स्वविवेकमा निर्णय लिन सक्ने क्षमता कोइरालामा पहिलेदेखि नै थिएन । पार्टी सभापति र त्यसपछि प्रधानमन्त्री नबन्दासम्म आफैंले गुण-दोष छुट्याएर निर्णय लिनुपर्ने ठाउँमा उनी कहिल्यै थिएनन् ।

सुशीलका पिताजी वन विभागका रेन्जर थिए । टाठाबाठा पिताजीको छत्रछायाँमा हुर्के । पढाइतर्फ खासै अगाडि बढ्न सकेनन् । मलाई थाहा भएसम्म उनले आइए ज्वाइनसम्म गरेका हुन् । औपचारिक पढाइ एसएलसी नै हो । ०१६ सालमा तुल्सी गिरी मन्त्री हुँदा उनको पीए भएर काम गरेका हुन् कोइरालाले । सायद उनको व्यक्तित्वका लागि उपयुक्त जिम्मेवारी त्यही थियो ।

पहिले वीपीको र पछि गिरिजा एवं नोनाको सेवा गरेर उनले पार्टीमा हैसियत बनाएका हुन् । गिरिजाले उनलाई केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने अवसर दिएका थिए । केन्द्रीय सदस्य हुँदा गिरिजाको सेवा गर्नेभन्दा उनको दोस्रो काम थिएन ।

कोइरालाका सवलता र दुर्वलता कोइरालाका सवल पक्षहरु असाध्यै थोरै छन् । उनी जानी-जानीकन अनैतिक काम गर्नेखालका मान्छे होइनन् । उनलाई आर्थिक प्रलोभनमा पार्न कठिन छ । त्यसैले अहिलेसम्म उनको स्वच्छतामा प्रश्न उठाउने ठाउँ देखिँदैन । नेपालको सन्दर्भमा यो ठूलै प्लस प्वाइन्ट हो, किनकि यहाँका नेताहरुको मुख्य रोग भनेकै भ्रष्टाचार मानिन्छ ।

आफूले भ्रष्टाचार नगरे पनि आफू मातहतकालाई भ्रष्टाचार गर्नबाट रोक्न भने सकेनन् कोइरालाले । आफ्नो मन्त्रिमण्डलका धेरै सदस्यहरु भ्रष्टाचारमा लिप्त रहँदा उनले रोक्न सकेनन् ।

जहाँसम्म सुशीलको त्यागी छविको कुरा छ, यसमा चाहिँ म विश्वास गर्दिँन । केका आधारमा उनलाई त्यागी भन्ने गरिएको हो, मलाई थाहा छैन । नेपालगञ्जमा रहेको पुख्र्यौली जग्गा मलाई चाहिँदैन भनेर भाइहरुलाई दिएको आधारमा हो भने बेग्लै कुरा । तर, राजनीतिमा लागेको व्यक्तिले मन्त्री बन्दिँन भन्यो भने त्यसलाई त्याग भन्न मिल्दैन । त्यो आत्मविश्वासको कमीले हो ।

कोइरालाका पालामा संविधान घोषणा भयो, यो उनको अहोभाग्य हो । यद्यपि संविधान निर्माण उनको कार्यकालमा हुनु एउटा संयोग मात्रै हो । उनले संविधान निर्माणको नेतृत्व गरेको भन्न मिल्दैन । अन्तिम समयमा पनि उनले खुट्टा कमाइरहेका थिए ।

संविधान निर्माण प्रक्रिया स्थगत गरेर आफू अमेरिकाबाट फर्केपछि मात्रै अघि बढाउने उनको सोच थियो । यदि उनको सोचअनुसार गएको भए संविधान निर्माण तुहिन्थ्यो ।

कोइरालाको दुर्वलताको चर्चा गर्दा लामै फेहरिस्त तयार हुन्छ । यसलाई चारवटा बुँदामा चर्चा गर्न चाहन्छु : १. आत्मविश्वासको अभावः माथि नै चर्चा गरियो कि सुशीलले सभापति र प्रधानमन्त्री बन्नुपूर्व कहिल्यै निर्णायक भूमिकामा बस्नु परेन ।

अथवा बस्न चाहेनन् । यसले गर्दा उनमा लघुताभास पैदा भयो । यो लघुताभास कस्तो खालको भने, जसलाई पनि शंकाको दृष्टिले हेर्ने ।

आफूलाई घेरिरहेको जमातभन्दा बाहिर कसैलाई विश्वास नगर्ने । उदाहरणका लागि कुनै मन्त्रीले राम्रै खालको प्रस्ताव ल्याएको छ भने पनि यसले पैसा खानै खोज्यो भनेजस्तो गर्ने ।

२. राजनीतिक चातुर्य न्यूनः राजनीतिक चातुर्य कत्ति पनि नभएको सबैभन्दा बलियो उदाहरण केपी ओलीविरुद्ध प्रधानमन्त्री पदका लागि दिएको उम्मेदवारी नै हो । केपी ओलीको पक्षमा बहुमत जुटिसकेको अवस्थामा प्रधानमन्त्री पदमा उम्मेदवारी दिनुले उनको अदूरदर्शिता देखाउँछ । । पौडी खेल्न नजान्नेले गहिरो पोखरीमा हाम्फालेजस्तै कुरा हो यो ।

३. निर्णय क्षमता नहुनुः उनी आफ्नो स्वविवेकले कहिल्यै निर्णय लिँदैनन् । सहयोगीहरुमा भर पर्छन् । यसको प्रमुख कारण भनेको विषयवस्तुको ज्ञान नहुनु हो । न कसैले सही प्रस्ताव ल्यायो भने तत्काल ‘एस’ भन्न सक्छन्, न गलत प्रस्ताव आउँदा ‘नो’ भन्न सक्छन् ।

४. साँघुरो घेराः साँघुरो घेरामा रमाउनु कोइरालाको पुरानै स्वाभाव हो । सबैलाई समेटेर हिँड्ने उनको रुची होइन । जस्तो, मन्त्रिमण्डकै कतिपय सदस्यहरुको पहुँचमा हुँदैनन् उनी ।

मलाई थाहा भएसम्म कांग्रेसका नरहरी आचार्य, दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्ती, सशांक कोइराला लगायतका सीमित नेताहरुको कुरा सुन्छन् उनी ।

प्रधानमन्त्रीमा उम्मेदवारीको पहेली

जहाँसम्म सुशीलको त्यागी छविको कुरा छ, यसमा चाहिँ म विश्वास गर्दिँन । केका आधारमा उनलाई त्यागी भन्ने गरिएको हो, मलाई थाहा छैन

सुशील कोइराला परम्परागतरुपमा भारतपरस्त नेता होइनन् । विगतका थुप्रै घटनाक्रमहरुमा भारतले उनलाई नरुचाएका संकेतहरु देखिन्छन् । तर, संविधान जारी भएपछि एकाएक कोइरालाप्रति भारतको सहानुभूति देखियो । अथवा, भारतले यस्तो भ्रम पैदा गरिदियो ।

सञ्चार माध्यममा त यस्तो किसिमले चर्चा भयो कि भारतले नै उनलाई केपी ओलीविरुद्ध खडा गरिदिएको हो ।

शीतलनिवासमा रामवरण, भारतीय राजदूत रणजीत राय, भारतीय गुप्तचर संस्थाका अवधेष विहारी माथुर, शेरबहादुर देउवा र कोइरालाबीच छलफल भएर उम्मेदवारी दिने तय गरिएको पनि पढियो । यो कति सत्य र कति अफवाह हो, म भन्न सक्दिनँ । तर, कोइरालाको उम्मेदवारी आफैंमा एक पहेलीको रुपमा देखिएको छ ।

नेपाली कांग्रेसको बिहीबारको बैठकमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिनुपर्ने कुरा उठेको थियो । रामचन्द्र पौडेलले पार्टीले आफूलाई उम्मेदवार बनाउनुपर्ने माग गरे । शेरबहादुर देउवाले संसदीय दल नेताको चुनाव गर्न माग गरे । सुशील कोइरालाले केही भनेनन् ।

शुक्रबार बेलुका भएको केन्द्रीय कार्यसमिति वैठकमा कोइरालाले रामचन्द्र पौडेललाई अगाडि बढ्न गि्रन सिग्नल दिएका हुन् । तर, भोलिपल्टै उनले पल्टी खाएर आफैं उम्मेदवार बन्न पुग्नु वास्तवमै आश्चर्यको घटना हो । मलाई लाग्छ, एमाओवादीका बाबुराम भट्टराई पक्षधर सभासदले आफूलाई समर्थन गर्ने, राप्रपा र राप्रपा नेपालका केही सभासद पनि आउन सक्ने र बाँकी मधेसी दलका सभासदका भोटले जित्न सक्ने लाटो हिसाब सुनाएर कोइरालालाई आश्वस्त बनाइएको थियो ।

उत्तम विकल्प सन्न्यास यतिबेला सुशील कोइराला चरम हतोत्साही अवस्थामा छन् । भद्र सहमति अनुसार सरक्क प्रधानमन्त्री पद त्यागेर केपी ओलीलाई समर्थन गरेको भए उनको अर्कै छवि हुन्थ्यो । तर, फेरि लालच देखाउँदा कोइरालाको राजनीतिक जीवनमा अपूरणीय क्षति भएको छ ।

यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्दै उनले राजनीतिबाट सन्यास लिनुपर्छ । स्वास्थ्यका कारण पनि कोइराला राजनीतिमा लामो समय निरन्तरता दिन सक्दैनन्

यहाँबाट उठेर फेरि कोइरालाले फेरि राजनीतिमा आफ्नो हैसियत स्थापित गर्ने सम्भावना अब म देख्दिँन । उनलाई फेरि राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्न उक्साइएको सुनेको छु । यदि यो उक्साहटमा लागे भने यो कोइरालाको अर्को आत्मघाती निर्णय हुनेछ । उनी ठट्टाको पात्र बन्नेछन् । प्रधानमन्त्रीमा हारेको व्यक्ति लगत्तै फेरि राष्ट्रपतिमा उठ्नु जस्तो हास्यास्पद कुरा केही हुँदैन ।

यतिबेला कोइरालाका लागि सबैभन्दा उत्तम विकल्प भनेको राजनीतिबाट सन्यास हो । उनले अझै राजनीति गरिरहनुपर्ने कुनै औचित्यपूर्ण कारण छैन । कांग्रेसको आगामी महाधिवेशनमा फेरि सभापति लड्न सक्छन् । तर, यसपालि जित्न सक्दैनन् ।

आम जनमानसमा नै धुमिल भएको उनको छवि पार्टीभित्र पनि सङ्लो छैन । आफ्नो सभापतित्वमा उनले पार्टी भताभुंग पारेका छन् । त्यसैले यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्दै उनले राजनीतिबाट सन्यास लिनुपर्छ । स्वास्थ्यका कारण पनि कोइराला राजनीतिमा लामो समय निरन्तरता दिन सक्दैनन् ।अनलाईनखबर डटकमबाट