मुख्य समाचार

दाउराकै भरमा दसैं

By Dhading News

October 19, 2015

भक्तपुर – सूर्यविनायक नगरपालिका वाराहीस्थानका वासु खडकाको घरमा ग्यासको सिलिन्डर रित्तिएको तीन साता भयो । उनको परिवारले दाउराबाट खाना पकाउने गरेका छन् । ‘बाध्यता हो, दाउराको चुलोमा खाना पकाउँदा रमाइलो लाग्न थालेको छ’, उनले भने, ‘यो दसैंमा दाउराको चुलोमा पाकेको खाने हो ।’

आफ्नै वरिपरिको स्रोतसाधनलाई उपयोग गरी भान्सा टर्ने र स्वादिष्ट पनि हुने उनको भनाइ छ । डेढ वर्षदेखि हाइवेको नजिक खाना र खाजा पसलसमेत सञ्चालन गर्दै आएका वासुको पसलमा महिनामा १५ वटा ग्यासका सिलिन्डर सिद्धिन्थे । ग्यास अभावसँगै एउटा पाटोमा भने फाइदा पुगेको उनी बताउँछन् ।

‘महिनामा २२ हजार ५ सयको ग्यास लाग्थ्यो, अहिले खर्च पनि कम भएको छ’, उनले भने, ‘ग्यासको तुलनामा दाउरा एक भाग मात्र लाग्छ ।’ दाउरा र भूसको चुलोमा पकाउन केही झन्झट भए पनि व्यवस्थित रूपमा धूवाँ कम गर्न चिम्नी राख्न सकिने उपायसमेत अपनाउन थालेको उनले बताए । ‘दसैंसम्म यही भूसे चुलो र दाउरामै खाना पकाउँछौं’, उनले भने, ‘दाउराबाट कोइला निकाल्न सकिने र त्यही कोइलाबाट थप खाना पकाउन सकिने उपाय अपनाइसकेको छु ।’

केहीमा पनि काम नलाग्ने भूस र अनावश्यक काठमा पकाएको स्वादिष्ट खाना भन्दै ग्राहकले समेत हौसला दिने गरेको उनी बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।