भारतको नाकबन्दीले फाटफुट मात्रै भित्रिएको ग्यास आयात ६ गतेयता ह्वात्तै बढेको छ । मन्त्रिपरिषद्ले संविधान संशोधनमा प्रतिबद्धता जनाएसँगै भारतले त्यसको स्वागत गरेपछि ३ दिनमा मात्रै १ सय ८ बुलेट ग्यास भित्रिएको छ ।
भन्सार विभागका अनुसार महानिर्देशक शिशिर ढुंगानाका अनुसार विभिन्न नाकाबाट पुस महिनाको पहिलो ८ दिनम १ सय ८३ बुलेट ग्यास भित्रिएको छ । ती बुलेटबाट १४ दशमलव २ किलोअनुसार २ लाख २८ हजार ७ सय ५० सिलिन्डर र (एक बुलेटमा १२ सय ५० सिलिन्डर) ग्यास आयात भएको छ ।
नाकाबन्दीयता अभाव चुलिएपछि सिलिन्डरमा परिमाण आधा घटाएर ७ किलो मात्रै ग्यास भएको सिलिन्डर बिक्री भइरहेको छ । जसअनुसार ८ दिनमा ४ लाख ५७ हजार ५ सय ग्यास सिलिन्डर आयात भएको देखिन्छ । यति ग्यास भित्रिँदा पनि सर्वसाधारणको सास्ती घट्न सकेको छैन ।
विभागको तथ्यांकअनुसार सबैभन्दा पुस ८ मा ४४ बुलेट ग्यास भित्रिएको छ । ७ गते २८, ६ गते ३६ बुलेट ग्यास भित्रियो । नेपाल आयल निगमको ‘ग्यास कन्ट्रोल रुमको तथ्यांकमा भने ८ दिनयता १ सय ७५ बुलेट मात्रै भित्रिएको उल्लेख छ ।
जसअनुसार ८ दिनमा ४ लाख ३७ हजार ५ सय ग्यास सिलिन्डर आयात भएको देखिन्छ । तथ्यांकमा बुलेट आयातको संख्या वृद्धि भएको देखाए पनि मुलुकमा ग्यासको अभाव यथावत नै छ । यसले ग्यासको कालोबजारी मौलाएको पुष्टि गर्छ ।
निगमका अनुसार भारतीय नाकाबन्दीयता औसतमा दैनिक १० वटा मात्रै बुलेट नेपाल भित्रिएको थियो । पुस ६ गतेदेखि ग्यास संख्या ह्वात्तै बढेको तथ्यांकमा छ । निगमका प्रवक्ता मुुकुन्द घिमिरेका अनुसार अहिले सुनौलीमा १० र वीरगन्ज नाका २ सय ८ बुलेट मात्रै ग्यास रोकिएको छ ।
अन्य नाकाहरूबाट भने लोडअनुसार भित्रिएको निगमले जनाएको छ । ‘भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले बुलेट/ट्यांकर पुगेअनुसार लोड दिएको छ,’ घिमिरेले भने, ‘रक्सौल नाकाबाहेक अन्य नाका केही दिन अघिको तुलनामा धेरै सहज छ ।’
नेपालमा एलपी ग्यासका ५३ वटा उद्योग छन् । तिनका ६२ लाख सिलिन्डर छन् । संघका अनुसार ग्यास ढुवानी गर्न करिब साढे ४ सय बुलेट छन् । ती सबै भारतका हुन् । भारतसँगका ६ वटा नाका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टाबाट ग्यास भित्रिन्छ ।
त्यसका लागि भारततर्फ ४ वटा रिफाइनरी सेन्टर (करनाल, मथुरा, बरौनी र हल्दिया) छन् । सामान्य अवस्थामा ६ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास नेपाल छिर्छ ।
अहिले सबैभन्दा बढी समस्या रक्सौल नाकामा छ । रक्सौल नाकाबाट आयात हुने इन्धन उपत्यकाको लागि हो । ती नाकाबाट करिब ६५ प्रतिशत इन्धन आयात हुन्छ । मुख्य नाका पूर्ण रूपमा सञ्चालन नहुँदा इन्धन अभाव कायमै रहेको निगमको भनाइ छ । जिल्लाका लागि आयात भएको इन्धन कुल आयातको ६० प्रतिशत उपत्यकामा भित्र्याइएको निगमले जनाएको छ ।
निगमका अनुसार आयात भएको ग्यास अधिकांश काठमाडौं उपत्यका लक्षित हो । ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थ पनि आयात बढेको प्रवक्ता घिमिरेले बताए । ‘ग्यासजस्तै डिजेल र पेट्रोलको लोडिङ पनि बढाएको छ,’ घिमिरेले भने ।
बेतालपुरबाट भैरहवाका लागि भित्रिन्छ । बरौनीमा लोड भएका इन्धन विरानगर जान्छ । यस्तै गोन्डाबाट लोड हुने नेपालगन्जबाट भित्रिन्छ । रक्सौलबाट तत्काल आयात सम्भव नभएकाले बरौनीबाट पनि अन्य नाका हुँदै इन्धन ल्याउने पहल भइरहेको निगमले जनाएको छ ।
‘बेतालपुर डिपोका कर्मचारीहरूसँग छलफल गर्दा लोडिङ बढाउने जनाएका छन्,’ प्रवक्ता घिमिरेले भने । घिमिरेका अनुसार बेतालपुरबाट सहज अवस्थामा दैनिक २ सय किलोलिटर पेट्रोल र ४ सय किलोलिटर डिजेल आयात हुन्थ्यो । यस्तै बरौनीबाट औसतमा ५०/५५ ट्यांकर लोड हुन्छ । लोडिङ संख्या बढाएर ८० ट्यांकर पुर्याउने पहल भइरहेको घिमिरेले बताए ।
बुलेट आयात
पुस १ गते : १६
पुस २ गते : १४
पुस ३ गते : १४
पुस ४ गते : १८
पुस ५ गते : १३
पुस ६ गते : ३७
पुस ७ गते : २८
पुस ८ गते : ४४
स्रोत : भन्सार विभाग
(@ kantipur Daily )