कुमार जमकट्टेल
बेनिघाट( धादिङ ) । मुटुनै कमाउने माघको ठण्डिमा चिसोमा पुरानो भएर च्यातिईसकेको एकसरो पातलो कपडाको भरमा बिद्यालय आउने गरेका अति विपन्न धादिङका एकसय चेपाङ बिद्यार्थीलाई स्वेटर बितरण गरिएको छ । चरम गरिबीका कारण खाद्यान्न अभाव संगै लगाउने कपडाको समेत अभाव झेल्न वाध्य भएका चेपाङ वालवालिकालाई नियमित बिद्यालय आउने वाताबरण वनाउने उद्धेश्यले सहयोगी दाताहरु गाउं गाउंमै पुगेर अति विपन्न बिद्यार्थीलाई एक एक थान स्विटर बितरण गरिएको हो । जाडो याममा लगाउने वाक्लो कपडा नभएकै कारण चेपाङ बालबालिकाहरु विद्यालय छाड्ने क्रम बढिरहेको बेला अन्तराष्ट्रिय सृजना समता प्रतिष्ठानका संस्थापक अध्यक्ष सृजना उप्रेती र उहाँका सहयोगी साथीहरु बासुदेब घिमिरे, चाँदनी सिह, चन्द्र धिताल र धन बहादुर दवाडी,लक्ष्मण फुयाल, मणीराज चौलागाइको सहयोगमा बेनिघाट गाविसको बेलडाडा कालिका प्रा.वि. बेनिघाट–५ को रुदिङ्गमा ३९ जना, त्यसैगरी सिद्ध बागेश्वरी प्रा.वि. बेनिघाट–६, बट्टारको १५ जना र बेनिघाट–९ को भुमेस्थान प्रा.वि., माथिल्लो ओर्वाङ को ४६ जना गरी कुल १०० जना चेपाङ वालवालिकाहरुलाई स्वेटर वितरण गरिएको हो । बर्षै भरी खाद्यान्न अभावको कारण निकै कष्टका साथ जिवन यापन गर्दै आईरहेका दक्षिणी धादिङका चेपाङहरुको दैनिकी बैशाख १२को महाभुकम्प पछि निकै कष्टकर वन्दै गएको सिद्ध वागेश्वरी प्रा.वि. को प्रध्यानाध्यापक लक्ष्मण दाहालले बताउनु भयो ।
अन्य समुदायको तुलनामा चेपाङ समुदायमा खाने अन्न र मौसम अनुसारको लत्ताकपडाको ज्यादै समस्या रहने गरेकोमा सहयोगी दाताहरुले निकै महत्वपूर्ण सहयोग गरेर बिद्यालय छाड्ने अवस्थामा पुगिसकेका चेपाङ वालवालिकाहरुलाई नियमित पढ्न आउने वाताबरण वनाईदिएको दहाल बताउनुहुन्छ । गाविसलाई पृथ्वीराजमार्गलले छोएको भएपनि बेनिघाट गा.वि.स. को वडा नं. ५, ६ का गाउं बस्ति गा.वि.स. कै विकट बस्तिका रुपमा रहेको र त्यहांका चेपाङहरु झनै विपन्न रहेका छन । राजमार्गवाट ग्रामिण सडक भएर सवारीसाधन मार्फत १ घण्टा र पैदल यात्रा मार्फत करिव ४,५ घण्टा हिडेपछि पुग्न सकिने चेपाङ बस्तिमा वालवालिका मात्रै होइन ठुला उमेरकाहरु संग पनि लगाउने कपडा एक सरो भन्दा नहुने गरेको स्थानीय वताउंछन ।
भिरालो जमिनमा गरिएको खेतीले बर्षको ३ महिना पनि धान्न मुस्किल हुनु चेपाङ बस्तिको बिशेषता जस्तै बनिसकेको छ । वेनिघाट गाविसमा मात्रै होइन धादिङ जिल्लाको जोगिमारा, धुषा, वेनिघाट, महादेवस्थान, गजुरी, पिडा,कुम्पुर, गोगनपानी,थांक्रे, नौविसे लगायतका गाविसका विभिन्न स्थानमा रहेका सबै चेपाङको अवस्था उस्तै दयनीय रहेको छ । अधिकांशले गरिबीका कारण आफ्ना छोरा–छोरीहरुलाई गाँस, बाँस र कपासको राम्रो व्यवस्था दिलाउन नसक्ने स्थिती रहेको छ ।