अनलाइन / पत्रपत्रिकाबाट

मलेसियाले विदेशी कामदारमाथिको बन्देज हटायो

By Dhading News

May 16, 2016

रोजगारीका चार क्षेत्र खुला गर्ने तयारी, नेपालले लाभ लिन सक्ने

नयाँ विदेशी कामदार लिनमा रोक लगाएको मलेसियाले फेरि कामदार लिने भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सरकारले अब उत्पादन, निर्माण, प्लान्टेसन र फर्निचर–निर्माणलगायत रोजगारीका चार क्षेत्र विदेशी कामदारका लागि पुन: खुला गर्ने भएको छ । तर उक्त निर्णय कहिलेदेखि लागू हुने भन्नेबारे स्पष्ट छैन ।

मलेसियाली आवासीय तथा औद्योगिक क्षेत्रमा कामदार चरम अभाव भएपछि रोजगारदाता र सरोकारवालाले सरकारलाई यसअघि लगाइएको उक्त बन्देज हटाउन अनुरोध गर्दै आएका थिए । केही साताअघि मलेसियाका करिब ८४ प्रतिशत विभिन्न उत्पादन क्षेत्रमा कामदार अभाव भएको रिपोर्ट सार्वजनिक भएको थियो इकान्तिपुरमा खबर छ ।

‘कामदार गम्भीर अभाव भएको सन्दर्भमा हामीले लगाइएको बन्देज यी क्षेत्रमा कामदार ल्याउन फुकुवा गर्नुर्पछ,’ मलेसियाली यातायातमन्त्री लियो तियोङको भनाइ उद्धृत गर्दै स्थानीय दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ । उनका अनुसार सरकारले गैरकानुनी कामदारलाई वैध गराउन हाल सञ्चालनमा रहेको ‘पुन: भर्ना’ कार्यक्रमलाई थप सुधार गर्न र प्रभावकारी बनाउनतर्फ लागिरहेको छ । मलेसियामा रहेका नेपालीमध्ये बहुसंख्यक सेवा, सुरक्षा र उत्पादन क्षेत्रमा कार्यरत छन् । यीमध्ये सेवा क्षेत्रमा तत्काल खुला गर्ने कुनै संकेत देखिएको छैन । यद्यपि मन्त्री तियोङले विदेशी कामदारका लागि रोजगारीका अन्य क्षेत्र पनि चरणबद्ध रूपमा खुला गरिने बताएका छन् ।

यसअघि करिब १५ लाख बंगलादेशी कामदार ल्याउने घोषणा गरेपछि मलेसियाली श्रम बजारमा हल्लाखल्ला मच्चिएको थियो । पछि विभिन्न सरोकारवालाले नयाँ कामदार ल्याउनुभन्दा मुलुकमै भएका गैरकानुनी विदेशी कामदारलाई वैधानिकता दिंएर कामदार माग पूर्ति गर्नुपर्नेमा जोड दिंदै आएपछि सरकारले गैरकानुनी कामदारको ‘पुन: भर्ना’ कार्यक्रम सञ्चालनमा ल्याएसँगै सबै विदेशी कामदार लिनमा रोक लगाएको थियो ।

सरकारले बहुसंख्यक विदेशी कामदार कार्यरत क्षेत्र उत्पादन, सेवा, निर्माण, कृषिलगायतमा नयाँ विदेशी कामदारको सट्टामा आफ्नै नागरिक कामदारलाई प्रोत्साहन गराउँदै आए पनि उनीहरू खासै रुचि देखाएका छैनन् । ‘थ्रीडी’ समेत भनिने ‘फोहोर, गाह्रो र जोखिमयुक्त’ काममा स्थानीय कामदारले खासै रुचि नदिने हुँदा विदेशी कामदार नै मलेसियाका लागि बलियो ‘विकल्प’ रहँदै आएको छ । मलेसियाको अर्थतन्त्रमा उत्पादन र निर्यातमुखी बजारको उल्लेखनीय योगदान रहँदै आएको छ । यहाँका रबर, फर्निचर, तेललगायत सामग्री विश्व बजारमा निर्यात हुँदै आएका छन् । यी क्षेत्रमा अधिकांश विदेशी कामदार कार्यरत छन् ।

करिब २६ सय नेपाली दर्ता गैरकानुनी आप्रवासी कामदारलाई वैध गराई रोजगारी दिन मलेसियाले गत फेब्रुवरी १५ देखि सुरु गरेयताको करिब ३ महिने अवधिमा करिब २६ सय नेपाली कामदार दर्ता भएका जनाइएको छ । उनीहरूले दर्तापछि स्वास्थ्य परीक्षण, कागजात परीक्षणलगायतमा बाँकी प्रक्रिया पूरा गरेपछि योग्य देखिए आगामी तीन वा पाँच वर्षसम्म काम गर्ने अनुमति पाउनेछन् ।

केही दिनअघि सार्वजनिक एक तथ्यांकअनुसार ती नेपालीसहित हालसम्म गैरकानुनी हैसियतका करिब ५५ हजार उक्त कार्यक्रममा दर्ता भएका छन् । कार्यक्रम मार्फत रोजगारदाताले अनलाइन मार्फत आफूले रोजगारी दिन चाहेका कामदारका सबै विवरण अनलाइनबाटै सम्बन्धित सरकारी निकायमा पठाई दर्ता गराउन सक्नेछन् ।

अनलाइन प्रणाली मार्फत सञ्चालनमा ल्याइएको यो कार्यक्रम आगामी जुन ३० मा सकिनेछ । मलेसियाले हाल गैरकानुनी कामदार दर्ता कार्यक्रममा सामेल गराउन दबाबमूलक अभियान सञ्चालन गर्दै नियमित रूपमा उनीहरूको ‘खोजी र कारबाही’ समेत गर्दै आएको छ ।

मलेसियाले यसअघि पनि पटक पटक आममाफी एवं वैधानिकता लिने अवसर दिएको थियो । करिब २१ लाख वैध विदेशी कामदार र झन्डै त्यति नै संख्यामा अवैध कामदार रहेको ठानिएको मलेसियामा यसपालिको पुन: रोजगारी कार्यक्रमबाट अपेक्षित संख्यामा कामदार सामेल भएका छैनन् । नेपाली दूतावासको एक तथ्यांकअनुसार गत २ वर्षयता ‘स्वेच्छिक फिर्ती कार्यक्रम’ (थ्री प्लस वान् भोलुन्टार्ली डिपोर्टेसन प्रोग्राम) मार्फत करिब ६० हजार नेपाली स्वदेश फिरेको देखिन्छ ।