काठमाडौं-झ्याप्लेखोला सुरुङ मार्ग निर्माण गर्न जापान सरकारले १८ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने

511 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,भाद्र १५- प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले आज प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले जापानले गर्दै आएको सहयोगको सरहाना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका थिए।

प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालले काठमाडौँ-झ्याप्लेखोला (नौबिसे गाविस) सुरुङ मार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा गरेका थिए ।

जापानका राज्यमन्त्री नोबु किसाइले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनःनिर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्रीको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताए ।

राज्यमन्त्री किसाइले काठमाडौं-झ्याप्लेखोला सुरुङ मार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीको प्रस्तावलाई समर्थन गर्दै जापानको तर्फबाट रु १८ अर्ब बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी दिए ।

उक्त सुरुङ मार्ग काठमाडौंको थानकोटस्थित नेपाल आयल निगमको डिपो नजिकैबाट धादिङको नौविसे गाविसको झ्याप्ले खोला निकालिने छ । यो सुरुङ मार्ग बनेपछि अहिलेको भन्दा करिव साढे पाँच किलोमिटर दुरी कम हुनेछ । त्यसो त आयल निगमको डिपो नजिकैबाट पृथ्वी राजमार्ग आइपुग्न भने साढे १ किलोमटर लाग्ने बताइएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग लिन उनी यहाँ आएका हुन् ।

नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्त रूपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री दाहाल र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । रासस