हाम्रो पालिका

धादिङबेसी साङकोष तिप्लिङ सडकमा बर्षेनी मर्मतमा लाखौं खर्च,खर्च सदुपयोग नभएको सर्बसाधारणको गुनासो

By Dhadingnews.com

June 16, 2013

धादिङ,२ असार ( धादिङ न्युज ) । धादिङ  जिल्लाको उत्तरी क्षेत्रका दुई दर्जन गाविसलाई सदरमुकाम धादिङबेसीमा जोड्ने धादिङबेसी साङकोष तिप्लिङ सडक निर्माण र  मर्मत सम्भारका नाममा बर्षेनी लाखौं रुपैया खर्च भएपनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन । धादिङको साङकोषमा आईतवार आयोजित सार्वजनिक बहस कार्यक्रममा सहभागी बक्ताहरुले सडक मर्मतका नाममा बर्षेनी बर्षा याममा रकम खर्च हुने गरेको गुनासो गरेका हुन । २०४९ सालवाट निर्माण शुरु हुन थालेको साङकोष तिप्लिङ सडकको दुरी धादिङबेसी वाट दार्खाफेदी सम्म ४३ किमी रहेको छ । सडक मर्मतका नाममा बर्षेनी ५० लाख भन्दा बढी रकम खर्च हुंदै आईरहेको भएपनि सडकको अवस्थामा  भने सुधार हुन नसकेको धादिङ यातायात व्यवसायी संघका बरिष्ट उपाध्यक्ष कृष्णप्रसाद लम्साल बताउंछन । जिल्लाको उत्तरी भेगको  बिकटमा रहेको तिप्लिङ, सेर्तुङ,लापा,रिगाउं सम्म अझैपनि सडक सञ्जाल जोडिन नसकेपनि त्यहांका वासिन्दालाई लक्षित गरी जिल्ला विकास समितिले २०४९ सालवाट सडकको निर्माण कार्य शुरु गरेको हो । निर्माण शुरु भएको २१ बर्षमा ४९ किलोमिटर सडक निर्माण भएपनि सडकको अवस्था भने निकै कमजोर रहेको सर्वसाधारणको गुनासो छ । सडक निर्माणका क्रममा बर्षेनी एउटै ठाउंमा मर्मत सम्भारका नाममा रकम खर्च हुंदै आईरहेको  र आर्थिक बर्ष २०६७÷६८ मा भने धादिङबेसी देखि साङकोष कुमाल गाउं सम्मको अढाई किलोमिटर दुरीमा ग्राभेलिङ गरिएको भएपनि टिकाउ हुन नसकेको स्थानीयवासी बद्रीप्रसाद लम्सालले वताए । कुल ४१ लाख २४ हजारमा अढाई किलोमिटर दुरीमा सडकको नाली,पर्खाल तथा  ग्राभेलिङको काम गरिएको सडक निर्माणको जिम्मा पाएको युएस कन्ट्रक्सन कम्पनीका धर्म लोहनी बताउंछन । जिल्ला बिकास समिति र निर्माण कम्पनीले सडकको मर्मत गरेको बताएपनि निर्माणका क्रममा निर्माण सम्वन्धी जानकारी दिने सार्वजनिक सुचना टांस नगरि उपभोक्तालाई अन्यौलमा राखेको सर्वसाधरणको गुनासोको जवाफ दिंदै जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर निर्मलदर्शन आचार्यले जिल्लाका सबै योजनामा अनिवार्य रुपमा सुचनापाटी राख्ने प्रतिबद्धता जनाएका छन । स्थानीय शासन तथा उत्तरदायी संयन्त्र क्षेत्रीय कार्यालय हेटौंडाको सहयोगमा ग्रामीण आपसी विकास धादिङले जिल्लाका विभिन्न स्थानमा स्थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारित अगुगमन परियोजना अन्र्तगत सार्वजनिक बहस संचालन गर्दै आईरहेको छ । यसै क्रममा आईतवार     साङकोष गाविसको कुमाल गाउंमा धादिङबेसी साङकोष सडकको निर्माण पुर्ननिर्माण तथा स्तरोन्नतीका बिषयमा सार्वजनिक बहस कार्यक्रम आयोजना गरिएको हो ।