मान्यवर छविलाल काका, देशको प्रधानमन्त्री तपाइँ टीका बहिष्कार गरेर बालुवाटारमै बस्नुभो भन्ने समाचारहरु आएका छन् । प्रधानमन्त्रीका रुपमा तपाइँसँग टीका थाप्न चाहनेहरु कि शीतलनिवास (राष्ट्रपति कहाँ) गए, कि त निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र कहाँ) । आगामी निर्वाचनमा तपाइँका मतदाता बढे कि घटे होलान्, हिसाब गर्दै गर्नुहोला ।
कुनै धर्म वा संस्कृति मान्ने वा नमान्ने स्वतन्त्रता तपाइँलाई छ । तर, दशैंमा टीका लगाएको भए, सांस्कृतिक पोशाक दौरासुरुवाल लगाइ दिएको भए तपाइँको कथित क्रान्तिकारी छवि बिग्रने थिएन । बरु, ८१ प्रतिशत नेपालीहरुसँग सांस्कृतिक सद्भाव र सामिप्यता अझै बढ्ने थियो । अझ राजनीतिक नेताहरुले त जनसम्पर्कका लागि सांकेतिक रुपमा सबै कुराको नेतृत्व लिनु पर्ने हुन्छ ।