अबदेखि १० कक्षामा माध्यमिक परीक्षा, १२ मा मात्र एसएलसी !

988 पटक पढिएको

सम्पादक: Dhading News

शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो ।

शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यसका कार्यालयहरू सातै प्रदेशमा राख्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले गठन गरेको ६ सदस्यीय प्राविधिक समितिले सहसचिवस्तरको कर्मचारी प्रमुख रहने गरी सातै प्रदेशमा कार्यालय राख्न तथा अहिलेको संरचनाभन्दा केही फरक हुनेगरी संरचना तयार गर्न सुझाब दिएको हो ।

प्रतिवेदनमा सातवटै प्रदेशमा सहसचिवसरहको कर्मचारीको नेतृत्वमा राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय कार्यालयहरूको व्यवस्थापन गर्ने सिफारिस भएको छ । बोर्डका क्षेत्रीय कार्यालयहरू परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सक्षम नहुँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गर्न सिफारिस गरेको छ ।

कक्षा ११ को राष्ट्रिय परीक्षा हाल कार्यान्वयनमा रहेको कक्षा ११ र १२ को पाठ्यक्रम पुनव्र्यवस्थापन नहुँदासम्म मात्र सञ्चालन गर्ने र परिमार्जित पाठ्यक्रमअनुसारको परीक्षा सञ्चालन गर्दा कक्षा ११ विद्यालय तहबाटै र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा परीक्षा बोर्डले सञ्चालन गर्नेलगायतका सिफारिस भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।