अर्जुन श्रेष्ठ / धादिङ
चार कुनामा उभ्याइएका फलामका डन्डी, जस्ताको अस्थायी टहरा, भाँडाकुँडा बनाउन राखिएका फलामका चाङ अनि फलाम तथा तामाका भाँडाकुँडा बनाउँदै गरेका कालीगढ । नीलकण्ठ नगरपालिका–३ धादिङमा व्यवसाय गर्दै आएका सूर्यकुमार सेन्चुरीको आरनको दृश्य टीठलाग्दो भए पनि उनी फलाम कुटेरै मासिक १ लाख रुपैयाँ आम्दानी गर्छन् ।
पुस्तौंदेखि आरन व्यवसाय गर्दैआएका सेन्चुरीको घर गल्छी गाउँपालिका–३ मा छ । बाली उठाएर आरन चलाउँदै आएका उनले जिल्ला सदरमुकाम धादिङबेंसीमा २०४६ सालदेखि साहुको आरनमा काम गरे ।
२० वर्षसम्म साहुको आरनमा काम गर्दा सेन्चुरीले खान, बस्न र घर खर्च चलाउनबाहेक १ रुपियाँ पनि बचाउन सकेनन् । २०६६ सालमा ३ लाख ऋण लिएर आफैंलेआरन व्यवसाय सुरु गरे ।
‘गाउँमा बाली उठाएर आरन चलाउँदा हातमा १ रुपियाँ पर्दैनथ्यो, गाउँवासीले खेतीपातीबाट भिœयाएको खाद्यान्न बाली उठाएर दिन्थे, त्यही नै जीविकोपार्जनको उपाय थियो,’ अतीत सम्झँदै उनले भने, ‘व्यावसायिक रूपमा आरन चलाउन थालेपछि अहिले आएर हातमुख जोर्न मात्र होइन मासिक लाख रुपैयाँसम्म बचतसमेत भइरहेको छ ।’
आरन व्यवसायबाट जम्मा भएको रकम र थप ऋण खोजेर उनले २०७० सालमा १५ लाख रुपैयाँ लागतमा निर्माण सामग्री बिक्री पसल स्थापना गरेका छन् । सेन्चुरीका दुई छोरामध्ये एउटा नर्सरी र अर्को एलकेजीमा पढ्छन् । श्रीमतीसहित चार जनाको परिवारको मासिक १० हजार हाराहारीको घर खर्च, आरन रहेको स्थान पसलको घर भाडासमेतमा अर्को १२ हजार हाराहारी उनको खर्च छ । यी सबै खर्च उनको आरन र निर्माण सामग्री पसलबाटै जुट्छ ।
तयति मात्र होइन उनी वित्तीय संस्थाको मासिक ५० हजार ब्याज र किस्तासमेत आफ्नै व्यवसायबाट आर्जन गरेर तिर्छन् । ‘नुनको जोहो गर्न हामी परदेश पुग्छौं तर घरदेशमा सुन देख्दैनौं,’ आशावादी हुँदै उनी भन्छन्, ‘विदेशमा गएर रगत बगाउनुभन्दा नेपालमै पसिना बगाउनसके यहाँ सुन फल्छ ।’
उनी आरन व्यवसायबाट भएको आम्दानी बचत गर्दै पसलमा सामान थप्दै गर्छन् । तीन जनालाई रोजगार दिन पाउँदा खुसी लागेको भन्दै आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको उनले बताए । पेसालाई सानो र ठूलोको रूपमा हेरिन नहुने भन्दै आरन व्यवसाय गर्न चाहनेलाई तालिम पनि दिने सोचमा रहेको उनले बताए ।
नयाँ सामग्री किन्नजस्तै फलाम तथा तामाका पुराना सामग्रीहरू बेच्न पनि उत्तिकै आउने गरेको सेन्चुरी बताउँछन् । नियमित रूपमा आफ्नो आरनबाट निर्माण गरिएका सामग्री धादिङ जिल्लाका विभिन्न स्थानीय तह तथा छिमेकी जिल्लामा समेत लैजाने गरेको उनले बताए ।
कृषि औजारदेखि लिएर पूजाआजा, जन्मोत्सव, विवाहजस्ता शुभकार्य तथा दाहसंस्कारमा आवश्यक पर्ने सामग्रीसम्म आरनमा पाइन्छ । सेन्चुरीकै आरनमा काम गरिरहेका चितवनका ५६ वर्षीय चन्द्रबहादुर विकले मासिक करिब ३० हजार कमाइ गरिरहेको बताए । ३५ वर्षदेखि आरनमा काम गर्दै आएका विकले राम्रो आम्दानी भएपछि छोरालाई पनि सेन्चुरीकै आरनमा काममा लगाएका छन् ।
मकवानपुरका भीमसेन सुनार पनि विगत एक दशकदेखि सेन्चुरीकै आरनमा काम गर्दै आएका छन् । अन्यत्रभन्दा राम्रो तलब दिएका कारण आफू सेन्चुरीसँग काम गरिरहेको उनको भनाइ छ ।
जिल्लाको सदरमुकाम आसपास तथा जिल्लामा आरन व्यवसाय गरेर बस्नेहरू धेरै छन् । पहिले गाउँघरमा बालीमा काम गर्नेहरू केही वर्षदेखि व्यावसायिक रूपमा लागेका हुन् । दैनिक उपभोग्य तथा अति आवश्यक सामग्री बनाइने हुँदा बढी बिक्री हुने गरेको आरन व्यवसायीहरू बताउँछन् ।
पुर्खाैली व्यवसायलाई प्राथमिकता दिँदै नयाँ ज्ञान, सीप तथा प्रविधिको प्रयोगबाट गरिएको आरन व्यवसायीहरूले मनग्य आम्दानी गरिरहेका छन् । रोजगारी नपाएका युवा जमातमा आरन व्यवसायप्रति आकर्षित गर्ने नीति बने आर्थिक उपार्जनका लागि कोही बिदेसिनु नपर्ने सेन्चुरीको दाबी छ राजधानी दैनिकले खबर लेखेको छ ।