वृद्धि भएको मूल्यपछि अब पेट्रोलको प्रतिलिटर मूल्य एक सय १३ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा भने प्रतिहजार लिटरमा ७५ डलर वृद्धि गरेको छ ।
नयाँ मूल्य सूची शनिबार राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समितिका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिए ।
पछिल्लो समय भएको समायोजनपछि पनि निगमलाई इन्धनमा घाटा छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५९ पैसा तथा डिजेलमा तीन रुपैयाँ ४९ पैसा घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर एक सय ३९ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढेकाले नेपालमा पनि समायोजनका क्रममा वृद्धि भएको निगमले जनाएको छ ।