धादिङमा ३ अर्बको तरकारी उत्पादन, खेती योग्य फाँटमा इट्टा उद्योग खुल्नेक्रम बढ्दै

1933 पटक पढिएको

सम्पादक: Dhading News

कुनै बेला राजधानी काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथसँग सिमाना जोडिएका र आसपासका  वस्तीका किसानहरू बाह्रमासे तरकारी खेतीमा लाग्ने गरेकोमा अहिले यो स्थानमा ईट्टा उद्योगहरु खुल्नेक्रम बढ्दै गएकाले व्यवसायिक तरकारी उत्पादन भने घट्दै जान थालेको छ ।

केही वर्षअघिसम्म घर खर्चका लागि मात्रै तरकारी बेच्ने किसानहरू अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन र राम्रो कमाईका लागि भन्दै लाखौंको तरकारी बेच्ने बेच्ने भएपनि राजमार्ग आसपासका फाँटहरुमा भने विस्तारै तरकारी फल्ने फाँटमा इट्टा भट्टा खुल्ने क्रम बढ्दै गएकोले विगतमा भन्दा तरकारी उत्पादन पनि घट्न थालेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार ६ हजार २२ हेक्टर (१२ हजार ४ सय ४०) रोपनी) क्षेत्रफलमा तरकारी खेती गरिएको छ ।

जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लाको साविकको छत्रेदेराली, जीवनपुर, नौबिसे, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी र भुमेस्थान गाविस व्यावसायिक तरकारी लागि पकेट मानिन्थ्यो अहिले यिनै ठाउँमा एक सय भन्दा धेरै इट्टा भट्टा खुलिसकेका छन् । साविकको बैरेनी, कल्लेरी खाल्टे, कुम्पुर, किराञ्चोक, पिडा, गजुरी, महादेवस्थान, बेनीघाट, सलाङ, धुषा र जोगिमारासमेतलाई पकेट क्षेत्रका रूपमा लिइन्छ । पहिलेको १९ गाविसका १० हजारभन्दा बढी किसान बाह्रै महिना तरकारी खेती गर्दै व्यावसायिक बनेका छन् ।

पकेट क्षेत्रमा ४ हजार ५ सय १६ हेक्टर (९ हजार ३ सय २० रोपनी) क्षेत्रफलमा ५७ हजार ८ सय ५ मेट्रिक टन (५ लाख ७८ हजार ५० क्विन्टल) सरदर मूल्य ४५ रुपैयाँका दरले बिक्री हुँदा २ अर्ब ६० करोड १२ लाख २५ हजार किसानहरूले प्राप्त गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

पहिला  तरकारी बेच्न कालिमाटी तरकारी बजार जानु पर्ने बाध्यता हटेसँगै किसानहरू धेरै उत्पादन गर्नेतर्फ लागेका छन् । किसानहरूले धेरै परिमाणमा उत्पादन गरे व्यापारीहरू खेतबारीमै गाडी लिएर पुग्ने गरेको पाइन्छ ।राष्ट्रिय समूह किसान महासंघ धादिङ सदस्य श्यामचन्द्र आचार्यका अनुसार तरकारी उत्पादनमा लाग्ने किसानहरूको आर्थिक हैसियत राम्रो बन्दै गएको छ । किसानले लागतको तुलनामा तरकारीको उचित मूल्य भने पाउनै नसकेको आचार्यको गुनासो छ ।

चार महिनासम्म श्रम र लगानी गर्ने किसानले भन्दा एक दिन लगानी गर्ने व्यापारीले धेरै कमाउने व्यवस्थाको अन्त्य भए नेपाल तरकारीमा परनिर्भरता अन्त्य हुने आचार्यको दाबी छ । सरकारले किसानलाई कमजोर ठानेर नै होला तरकारी पकेट क्षेत्रमा उद्योग खोल्न दिएको आईपिएम कृषक पाठशालाका प्रशिक्षक अर्गानिक तरकारी खेतीका अगुवा कृष्ण पोखरेलले बताए ।

तरकारीबालीमा छर्किने विषादीको प्रयोग धादिङका किसानहरुले पहिलेको भन्दा थोरैमात्रामा घटाउँदै लगेका छन् । केही बर्ष देखिको अथक् प्रयास र विषादी न्यूनिकरणका विभिन्न क्रियाकलापहरुले हरियो तरकारीमा विषादीको प्रयोग घट्दै गएको छ ।

राजधानीको कालीमाटी तरकारी बजारलाई २७ प्रतिशत हरियो तरकारी निर्यात गर्ने धादिङ जिल्लामा मात्रै देशमा जम्मा खपत विषादीको परिमाणको तुलनामा धादिङ्ग जिल्लामा लगभग १३ प्रतिशत विषादी खपत भएको पाइन्छ । ‘धादिङ जिल्लामा विषादीको वार्षिक खपत परिमाण ५८ मे.टन रहेको छ । विगत वर्षहरुमा ६४ देखि ६९ मेट्रिक टनबाट घटेर यसपाला ५८ मे.टन खपत भएको तथ्याङ्क कृषि विकास कार्यालय संग छ ।

विषादी प्रयोगले तरकारीका उपभोक्तालाई असर पर्छ भन्ने चेतनाको कमीले विषादीको प्रयोग एउटा तरकारीबालीमा १८ पटकसम्म प्रयोग गरेको पाइएपछि विषादीको प्रयोग न्यूनिकरणका उपायहरु अपनाउन किसानलाई चेतना दिन थालिएको हो । ‘तरकारी संकलन केन्द्रहरुमा पनि विषादी प्रयोग गरिएका तरकारीहरुभन्दा नगरिएका तरकारीहरुको मूल्य बढी हुन थालेपछि घटाउँदै लगेका हौं’ धुषाका किसान कृष्ण सिलवाल बताउँछन ।

तरकारीबालीमा रोग, कीरा नलागे पनि तरकारीमा प्रतिबन्ध गरिएका रातो निलो लेवल लगाएका विषादीको प्रयोग समेत हुने गरेको पाइएको थियो । हाल जिल्लामा १४३ वटा एग्रोभेट सञ्चालनमा रहेका छन् । त्यसका अलावा काठमाडौंस्थित एग्रोभेटहरुबाट पनि घातक विषादीहरु ल्याई कृषकहरुले प्रयोग गर्ने गरेको पाइएको छ । सबैभन्दा बढी एग्रोभेटहरु पृथ्वीराजमार्गमा छन् ।

जिल्लामा विषादी न्यूनिकरणका लागि जिल्ला कृषि विकास कार्यालयले एकीकृत रोग, कीरा व्यवस्थापन पद्धती (आई.पि.एम.), कृषक पाठशालामार्फत सञ्चालन भइरहेका पनि छन् । ‘किसानहरुलाई बाली संरक्षण निर्देशनालयबाट प्रत्यक्षरुपमा राष्ट्रिय आई.पि.एम.कार्यक्रममार्फत कृषकहरुलाई जनचेतना फैलाइएको छ ।’ जिल्लास्थित खाद्य अधिकार सञ्जालका फिल्ड संयोजक राजेन्द्र बस्नेतले बताए ।