कभर फोटो

सिद्धलेकमा सरकारी सुविधा लिनेले छोरा छोरी सरकारी बिद्यालयमै पढाउनु पर्ने

By Dhading News

March 31, 2019

 धादिङ– धादिङको सिद्धलेक गाउँपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी लागू गरेको सिद्धलेक गाउँपालिकाले अवको शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो । बैशाख देखि शुरु हुने शैक्षिक सत्रमा आफ्ना छोरा छोरीलाई अनिवार्य रुपमा सरकारी बिद्यालयमा भर्ना गर्न भन्दै गाउँपालिका भित्र रहेका सरकारी कार्यालय र बिद्यालयहरुमा पत्राचार गरेपछि यो बिषयले अहिले सर्वाधिक चर्चा पाएको छ ।

सुविधा सरकारको खाएर निजी क्षेत्रको प्रवद्र्धन गर्न नपाइने भन्दै गाउँपालिकाको तेश्रो गाउँसभाबाट यस्तो निर्णय गरेको हो । निर्णयसँगै अवको शैक्षिक सत्रबाट सरकारी सेवा सुविधा लिने शिक्षक र कर्मचारी जनप्रतिनिधि तथा गाउँपालिका क्षेत्रभित्र कार्यरत सबैतहका सरकारी कर्मचारीलाई उक्त नियम लागू हुनेछ । सिद्धलेक गाउँपालिका क्षेत्रमा गाउँपालिका, ७ वडा कार्यालय, ४७ सामुदायिक विद्यालय, तीन स्वास्थ्य चौकी, पाँच बर्थिङ सेन्टर रहेका छन् ‘आफू जहाँ आफ्ना छोराछोरी त्यहाँ’ भन्ने उद्धेश्यका साथ सामुदायिक बिद्यालय प्रति सकारात्मक सन्देश प्रवाह गर्न र शिक्षाको गुणस्तर बढाउन यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रेमनाथ सिल्वालले वताउनु भयो । गाउँपालिकाले गरेको निर्णयल अहिले जिल्ला स्तरमा मात्रै होइन बाहिर पनि निकै चर्चा पाउन थालेको छ । सरकारी बिद्यालयमा शिक्षाका लागि भईरहकेको लगानीबाट सन्तोषजनक उपलव्धि हासिल हुन नसकेपछि नेपाल सरकारलेनै सरकारी सेवा सुविधा लिनेहरु आफ्ना छोराछोरीलाई सरकारी बिद्यालयमा पढाउनु पर्ने निति अघि सारेको छ । जिल्लाका १३ स्थानीय तह मध्ये सिद्धलेक गाउँपालिकाले मात्रै सरकारी सेवा सुविधा लिनेका छोरा छोरी सरकारी बिद्यालयमै पढाउनु पर्ने निर्णय गरेर कार्यान्वयनका लागि पत्राचार गरेको हो गाउँपालिकाले बैशाख देखि सबै विद्यालय र सरकारी कार्यालयमा ई–हाजिर लागू गर्ने तयारी पनि गरेको छ । त्यसका लागि पुर्वाधार जडानको काम भईरहको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले वताउनु भयो ।