यहि बर्षबाटै बुढीगण्डकी आयोजनाको निर्माण शुरु हुने भो
2174 पटक पढिएको
धादिङ, २३ बैशाख । राष्ट्रिय गौरवको प्रस्तावित बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७६/०७७ बाट सरकारले शुरु गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा आयोजनाको निर्माण शुरु गरिने उल्लेख भएकाले बुढीगण्डकीको निर्माण अघि बढ्न विश्वास गरिएको हो ।
आयोजनाले धादिङ र गोरखा जिल्लाको गरी साविकका २७ वटा गाविसलाई प्रभावित पारेको छ । आयोजना भित्र डुवानमा पर्ने केही ठाउँको बाहेक अधिकांश जमिनको मुआव्जा वितरण भईसकेको छ । सरकारले प्रभावित सबै जनताहरुका लागि मूआब्जा निर्धारणको काम नसकिदैं आयोजनाको काम शुरु गर्ने योजना बनाएको छ । आयोजना प्रभावित स्थानीय जनताहरुले पटक पटक मुआब्जा निर्धारण गर्न दबाब दिदा समेत सरकारले हाल सम्म गोरखा र धादिङको सिमानामा रहेको आरुघाट बजार क्षेत्र र धादिङको खहरे क्षेत्रको मूआब्जा निर्धारण गर्न भने सकिरहेको छैन ।
त्यस्तै सरकारको नीति तथा कार्यक्रममा सरकारले नेपालको पानी जनताको लगानी अभियान अन्र्तगत ३५ सय मेगावट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना प्रसतुत गरेको छ । उक्त आयोजनामा देशभरका सम्पूर्ण नेपालीलाई शेयर स्वामित्वमा प्रवेश गराउने सरकारले लक्ष्य लिएको छ । यस्तै आगामी चार वर्षभित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच र्पुयाइने र उज्यालो नेपाल अभियानअन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पु¥याइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले यसै आर्थिक वर्ष भित्र देशका विभिन्न स्थानमा निर्माण भईरहेका ८७ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्ने सरकारी लक्ष्य छ । त्यसबाट एकहजार मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । निर्माणाधीन विद्युत् आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्न गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।
१२ सय मेगावाट बिजुली उत्पादन गर्न पृथ्वीराजमार्गको बेनीघाटबाट उत्तर तर्फ २ किमी टाढाको दुरीमा गोरखाको घ्याल्चोक गण्डकी गाउँपालिका र धादिङको सिद्धलेक गाउँपालिका (सलाङ गाविस) को बिचमा २ सय ६३ मिटर उचाई र ७ सय मिटर चौडाईको बाँध निर्माण हुने छ । उक्त बाँधले नेत्रावती (आँखु)मा २२ किमी र बुढीगण्डकीमा करिव ४५ किलोमिटर मानव निर्मित ताल निर्माण हुनेछ जुन ताल पोखराको फेवा ताल भन्दा १६ गुणा ठूलो हुनेविश्वास गरिएको छ ।
यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा परिणत गर्न करिव २ सय ३५ किलोमिटर लम्बाइको चक्रपथ निर्माण र चक्रपथ वरपर १० वटा पर्यटकीय ग्रामिण सहरहरु निर्माण हुने प्रस्ताव अघि सारिएको छ । रंगशाला, प्याराग्लाइडिङ, मोटरबोट, रिसोर्ट, रेष्टुरेण्ट र हरित सडकहरुको अवधारणा पनि प्रस्तावमा ल्याइएको छ ।कुल २ सय ६३ मिटर अग्लो बाँध बनाउँदा सो आयोजनाले फेवातालभन्दा १६ गुणा ठूलो ताल बनाउने र पर्यटकीय गतिविधि समेत बढ्ने भएकाले सामान्य आयोजनाभन्दा पनि बहुउद्देशीय बनाउनुपर्ने आयोजना विकास समितिका पुर्व अध्यक्ष अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा बताउनुहुन्छ ।