कभर फोटो

रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

By Dhading News

September 26, 2020

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट २५.४ मेगावट विजुली उत्पादनका लागि लगानीकर्ता जुटेका छन् ।

गोरक्ष हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न लगानीकर्ता जुटेका हुन । आयोजना सम्पन्न गर्न लाग्ने कुल लागत ४ अर्ब ५६ करोडको ७५ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लि.को नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले कम्पनीसँग ऋण लगानी सम्झौता गरेको छ ।

गोरक्ष हाइड्रोपावर प्रालिले निर्माण कार्य अघि बढाईरहेको आयोजना डिसेम्बर २०२३ अर्थात पौष २०८० भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना सम्पन्न भएपछि सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९९.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । उत्पादित विजुली बिक्रीका लागि कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पे आधारमा विद्युत खरिद बिक्री सम्झौता पीपीए समेत गरिसकेको छ ।

आयोजनाका लागि प्रभु बैंकले १ अर्ब ८२ करोड, कर्मचारी सञ्चय कोषले ८५ करोड र कृषि विकास बैंकबाट ७५ करोड ऋण लगानी गर्ने गरी सम्झौता भएको छ । कुल लागतको २५ प्रतिशत १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पुँजीमार्फत जुटाउने भएको छ ।

हाइड्रोपावरमा जर्मनी र अमेरिकालगायत प्रवासमा रहेका नेपालीको समेत लगानी रहने छ । मुख्यगरी ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड यो आयोजनाको प्रवद्र्धकमा रहेको छ । ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी संयुक्त अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीको लगानीमा स्थापना गरिएको व्यवसायिक संस्था हो ।