आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

2130 पटक पढिएको

सम्पादक: Dhading News

निर्मला अधिकारी 

दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको आयातकर्ता कम्पनी भएको हुनाले सधैं ब्यस्त भईरहनु पर्ने कोविड सुरु भयपछी त झनै ब्यस्त  लकडाउनमा पनि हामी १ दिन पनि घरमा बसेनौ । सधैं हतार हुने हस्पिटलबाट अर्डरहरु आइरहने समयमै दिन नसक्दा झन तनाव  हुने फोन  आइरहने अनी  सरकारलाई औषधी ब्यबस्था बिभाग मार्फत अत्यावस्यक औषधीहरुको मौज्दात विवरण पठाइरहनु पर्ने ।
जे होस् फ्रन्टलाइनमा काम गर्ने मान्छेहरु जत्तिकै ब्यस्त हुन्थ्यौ हामी । सबै सुरक्षाको मापदन्ड अपनाएर काम गर्दै दिनहरु वितिरहेका थिए ।  दशै सकिएपछी श्रीमान लाङटाङ ट्रेकिङमा निस्कनुभयो ।  घरमा आमा ,म र बच्चाहरु मात्र ।  एक दिन अफिसबाट फर्कदा आमालाई हन्हनी जरो आइरहेको रहेछ , रुघा खोकी पनि थियो पारासिटामोल खान दिए कोरोना पो हो कि भनेर डर लाग्यो । जाच गराउन जाउ भन्दा १ / २ दिन हेरम मौसमी ज्वरो हुन सक्छ भन्नुभयो आमा लाई ज्वरो आको २ दिन पछी मलाई पनि रुघा खोकी ज्वरो आयो । २ दिन अफिस गइन ।  तातो पानी,बेसार पानी,ज्वानो पानी खाएर घरमै आराम गरे ।  बच्चाहरुबाट त सुरुदेखी नै अलग्गै बसेको थिए । ३ /४ दिनमा पनि सन्चो भएन ।
आमाको  ज्वरो नै नघट्ने ४ दिन लगातार १०२ बाट ज्वरो नघटे पछी धेरै तनाव भयो यता आफु पनि बिरामी भर्र्याङ् चढ्दा स्वा स्वा हुने जिउ पुरै दुखेर चल्न नसक्ने भईसकेको थिए । श्रीमान ट्रेकिङ बाट फर्कनु भयो घरमा सबै बिरामी,आमालाई चै पिसिआर गरौ अनी के रिपोर्ट आउछ त्यस पछी हाम्रो गर्ने सल्लाह भयो । कार्तिक २५ गते बिद ल्याब मा टेस्ट गरायौ आमा को रिपोर्ट पोजेटिभ आयो । आवश्यक औषधी र अक्सिजन नाप्ने अक्सिमिटर लिएर घर गयौ । सिटी भ्यालु ३६ देखाएको थियो निको हुने क्रममा छ  डराउनु पर्दैन भन्नुभयो डाक्टर ले । हामी २ जनाको पनि  २७ गते परीक्ष्यण गरायौ । २८ गते दुई जनाकै रिपोर्ट पोजेटिभ आयो ।
मेरो चै अली कडा खाल कै कोरोना रहेछ । सिटी भ्यालु १४ मात्र थियो । श्रीमान को २५ थियो । मलाई ज्वरो कम भएकै थिएन । खाना खान फिटिक्कै मन नलाग्ने । जबर्जस्ती खायो फेरी बान्ता हुन खोज्ने । सास लिदा नि घाटिमा खर खर आवाज आउन  थाल्यो । कहाँ जाने के गर्ने केही सोच्नै सकिएन । अस्पतालहरुमा बेड खाली हुन्न , अनी डाक्टर ले हेर्दा नि  हेर्दैनन भन्ने सुनेको थिए। अफिसमा फोन गरे आफुलाई सन्क्रमण भएको जानकारी गराए। नजिक भएकाहरुलाई लक्ष्यण भय जाच गराउन भने । यता आफुलाई झनै गार्हो हुन थाल्यो । बेड बाट बाथरुम सम्म जान नि नसक्ने , जिउ पुरै दुखेर चल्न नसक्ने हुन थाल्यो । श्रीमानले आफ्नो साथी सुनिल डङ्गोललाई फोन गरेर सबै बताउनुभयो उहा सुमेरु हस्पिटलको संचालक हुनुहुन्छ । उहाले तुरुन्त अस्पताल आउन भन्नुभयो । आँफै गाडी  चलाएर अस्पताल गयौ । उहाले डाक्टर निरोज हिराचन भेटाइदिनु भयो l डाक्टर पाटन अस्पतालको कोभिड वार्डमै काम गर्नु हुदोरहेछ । मेरो सिटी भ्यालु एकदम कम भएको र सबै लक्षण देखिएकोले शरीरमा भाईरस लोड धेरै छ । एकदम ख्याल राख्नु भन्नु भयो छाती को सिटी स्क्यान गराउनु भन्नुभयो । सबै को पालो सकिएपछी मात्र  कोभिड वाला बिरामी को पालो आउने रहेछ काम सकिएपछी पुरै कोठा डिस इन्फेक्ट गर्नु पर्ने रहेछ आधा घण्टामा सबै काम सकियो डाक्टर ले रिपोर्ट हेर्नु भयो फोक्सोमा थोरै इन्फेक्सन छ । ख्याल राख्न भन्नुभयो भिटामिन बि, सि ,एनटिबायोटिक ,  कफ सिरप लिएर घरमै आराम गर्ने र अली बढी अफ्टेरो महसुस हुनासाथ फोन गर्न भन्नु भयो । साँझ घर गयौ ।
घरमा तिनै जना संक्रमित के गर्ने के । बच्चा हरुलाई कस्ले पकाएर खुवाउने तनाव भयो । लक्ष्मीपूजा को दिन सबैको घरमा सरसफाइ , रौनक , झिलीमिली छ आफ्नो घरमा भने सबैजना बिरामी एस्तो बेला कसैलाई बोलाउन नि नमिल्ने संक्रमण होला भन्ने डर । आमा लाई चै अली अली सन्चो भएको जस्तो भयो . मास्क लगाएर भान्छामा जान थाल्नुभयो । छोरा छोरीले घरको अली अली सफाइ गरे झिलिमिली बत्ती लगाए धेरै ज्ञानी भएर । छोरा १०,छोरी ७ बर्ष को छन त्यै पनि हामी ले टाढा बाट सिकाएको सबै गरे ।  साँझमा दियो बाले लक्ष्मीपूजा पनि उनीहरु ले नै गरे । सबै सामान हरु अनलाइन बाट अर्डर गर्यौ । अघिल्लो बर्ष तिहार आउनु भन्दा १ हप्ता अघी देखी नै आमा र म  ब्यस्त हुन्थ्यौ । सेल फिनी अनर्शा ठेकुवा आदी घरमै बनाउथ्यौ। यसपाली त मुङको जाउलो , बेसार पानी,  ज्वानो पानी  खायो सुत्यो। ३ जना एकअर्का को स्वास्थ्य बारे बेला बेला मा सोध्यो बाफ लियो तातो पानी खायो  १ / २ दिन राम्ररी निदाउन सकिन । यसो निदाउन खोज्यो सास फेर्न गार्हो भएको जस्तो लाग्ने । बिउँझीहाल्ने घडी हेर्दा हेर्दा बल्ल बल्ल बिहान् हुने ।
टिकाको दिन आफ्नो आफ्नो दाजु भाई दिदी बहिनी सँग फोन मा कुरा गर्यौ । यो बर्ष यस्तै भयो अर्को बर्ष नि तिहार आइहाल्छ भनेर चित्त बुझायौ। छोरा छोरी को भाईटिका को लागि सबै सामान मगायौ । छोरीले दाई को कपालमा तेल लगाइ , दियो बाली , तेल को घेरा लगाइ सम्पूर्ण बिधी हामीले पर बसेर सिकाएको जसरी खुरुखुरु गरी जम्मा ७ बर्षकी मात्र भइ त्यै पनि सबै काम आँफै गरी ।  दुई जनाले एकअर्कालाई टिका लगाए, छोराले कहिले कही तातोपानी ल्याइदिन्थ्यो । कस्तो छ  भनेर सोध्थ्यो । आफ्नो  सबै काम आँफै गर्ने , बेला बेला हात धोइ रहने जे भन्यो त्यो खुरुखुरु मान्ने यती साना छोरा छोरी को बिबेक देखेर म छक्क पर्थे।
 केही हप्ता पहिले हाम्रो कम्पनी को एम डी प्रदीप मान वैद्य सरलाई पनि कोरोना संक्रमण भएको थियो ।निको हुन धेरै समय लाग्यो सात दिन ह्यम्स अस्पताल बस्नु पर्‍यो रेम्डिसिविर भन्ने औषधी चलाऊनु पर्‍यो, त्यती बेला त्यो औषधी कतै नपाउने । धेरै कोशीस गरेर स्वास्थ्य मन्त्रालय सम्म पुगेर जोहो गर्नु परेको थियो । अस्पताल भर्ना हुनुपर्‍यो भने त धेरै गार्हो पो हुन्छ त यस्तै सोचेर डर लाग्थ्यो ।  एनटिबायोटिकको पाँच दिनको डोज पुरा भएपछी मलाई अलिकती आराम महसुस हुन थाल्यो घर बाट नै काम गरे । शरीरमा कमजोरी चै  महसुस हुन्थ्यो ।
पन्ध्रौ दिनमा जाच गराउदा आमा र श्रीमान को नेगेटिभ आयो । मलाई अझै १ हप्ता आइसोलेटेड् हुनु पर्‍यो । मुख मा स्वाद फर्केको थिएन गन्ध पनि आएको छैन । गोरखाबाट दिदीले गुर्जो पठाईदिनु भएको थियो त्यो पनि पानीमा उमालेर ३ / ४ दिन  खाए । खाने तरिका थाहा नभएर होला मलाई त झन टाउको भारी हुने दुख्ने हुन   थाल्यो । सत्रौ दिन सम्म नि घाटी ट्याप्प सुक्ने जिउ दुख्ने भई रहेकैछ । हेरौ अझै कती दिन लाग्ने हो पुरै निको हुन ।
मेरो अनुभवमा यो कोरोना भन्ने भाईरस खतरनाक नै हो । कती लाई केही नभै निको भयो भन्छन । कोही सामान्य रुघा खोकी जस्तै हो भन्छन । यो सामान्य त हुँदै होइन । बिना कुनै लक्षण निको भयो भने त ठिकै हो लक्षण हुनेहरु लाई त सिधै फोक्सोमा संक्रमण गराउदो रहेछ । समयमा औषधी गरिएन र हेल्चेक्र्याइ गर्‍यो भने त ज्यान जाने रहेछ । रुघा खोकी वा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिना साथ परीक्षण गराउन पर्ने रहेछ ।  डाक्टरको सल्लाह बिना  जे पायो त्यै घरेलु औषधी खादा स्वास्थ्य झन बिग्रन सक्छ भन्ने कुरा  सबै जना सचेत हुनु जरुरी छ ।
– धादिङ , हाल भैसेपाटी ललितपुर ।