उद्योग /व्यापार

सहुलियत कर्जाका लागि बेनिघाटरोराङ र मेगा बैंक बिच सम्झौता

By Dhading News

January 19, 2021

बेनिघाटरोराङ- मेगा बैंक नेपाल लिमिटेडले वेनिघाटरोराङ गाउँपालिकाका विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग गर्ने भएको छ ।

सहुलियत दरमा कर्जा लगानी गर्ने कार्यक्रमका लागि बेनीघाटरोराङ्ग गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटससँग सम्झौता गरेको छ ।

 

सोमबार एक कार्यक्रमका बिच मेगा बैंक नेपाल लिमिटेड, बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटस्का तर्फबाट हस्ताक्षर भएको हो ।

यो सम्झौता पश्चात् मेगा बैंकले बेनिघाट रोराङ्ग गाउँपालिका, धादिङ्गका साना किसान, व्यवसायिका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

उक्त कार्यक्रममा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीहरुलाई आ—आफ्नो पक्षबाट बेनिघाट रोराङ्ग गाउँपालिकाका उद्यमीहरुलाई सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा प्रदान गर्ने सिलसिलामा भरपुर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकले गाउँपालिका तथा उद्योग वाणिज्य संघसँग आवद्ध साना किसान, लघु, घरेलु तथा साना उद्यमीहरुलाइ प्राथमिकताका साथ बैंकको मलेखु, धादिङ स्थित शाखा कार्यालयबाट सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने  बैंकका  विभागीय प्रमुख पुण्यप्रसाद खनियाले बताउनुभयो ।