विपरीत लिङ्गी एउटै सवारी साधनमा बस्न नपाइने
350 पटक पढिएको
धादिङ-समाचारको शिर्षक पढ्ने बित्तिकै तपाई झसंग हुनु भयो होला । अब के गर्ने भन्ने पनि लाग्यो होला । तपाईले सोचे जस्तै यो नियम नेपालमा होइन इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तमा लागू भएको हो । आचेका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका हुन् ।
पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी साधन र सार्वजनिक स्थानमा सगै बस्न रोक लगाईएको हो । त्यहाँका अधिकारीहरुले पारिवारिक सम्वन्ध नभएका विपरित लिङ्गीलाई अलग्गै बस्न आदेश दिएका हुन् । त्यहाँको स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ ।
एकान्त, सार्वजनिक र सवारी साधानमा विवाह नगरेका नारीपुरुष बस्न नपाइने परिपत्र इन्डोनेसियाको आचे प्रान्तमा गत साता जारी गरिएको हो । यो क्षेत्रमा अति–रुढिवादी समु्दायको वसोबास रहेको छ ।
दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयासस्वरुप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताएका छन् । इस्लामिक धर्मगुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले वताएका छन् ।
सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित आचे इस्लामिक कानून लागू गर्ने विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुस्लिम बहुल देशको एक मात्र प्रान्त हो । व्यापक आलोचनाको बाबजुद उक्त आदेश कार्यान्वयनको प्रयास भएको छ । जकार्ताले दिएको व्यापक स्वायत्तता अन्तर्गत शरिया कानुन भएको आचेमा जुवा खेल्ने, मदिरा सेवन गर्ने र विवाह बाहिर पनि सम्बन्ध राख्नेलगायतका अपराधमा सार्वजनिकरूपमा कोर्रा हानिन्छ ।