काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ ।
यसरी नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँ छन् । प्रहरीका अनुसार उनीहरूले जिल्ला प्रशाासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको देखिएको छ ।
तर, जिल्ला प्रशासन कार्यालय काभ्रेको अभिलेखिकरण राखिने ढड्डामा भने उनीहरूको नागरिकता लिएकोबारे कुनै अभिलेख भेटिएको छैन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले भन्यो, ‘प्रारम्भिक अनुसन्धानमा दावासहित केहीको नागरिकताबारे बुझ्दा ढड्डामा केही अभिलेख भेटिएको छैन भन्ने जवाफ आएको छ । हामी थप अनुसन्धान गर्दैछौँ ।’
प्रहरीका अनुसार उनीहरूलाई सेटिङमा नागरिकता दिएको अनुमान गरिएको छ ।
उनीहरूलाई सीआईबीले पक्राउ गरेको हो । सुन प्रकरणबारे सीआईबीले हालसम्म २३ जनलाई पक्राउ गरेको छ ।