घाईतेहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन अध्यक्ष तिमिल्सिना अस्पतालमा
215 पटक पढिएको
काठमाण्डौ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधबार भएको बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । अध्यक्ष तिमिल्सिनाले शुक्रबार काठमाण्डौका बिभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराई रहेका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले ललितपुरमा रहेको क्रिष्ट मेडिकल कलेज, काठमाण्डौमा रहेको बयोधा लगायतका अस्पतालमा पुगेर उपचार गराई रहेका घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई अध्यक्ष तिमिल्सिनाले आग्रह पनि गर्नुभएको छ ।
बुधवार विहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा पर्ने कासीछहरा स्थित पृथ्वीरामार्गबाट त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १७ जना घाईते भएका थिए । घाइतेहरुको काठमाण्डौंमा उपचार भईरहेको छ ।
बस दुर्घटनामा परेका घाइतेहरु मध्ये काठमाण्डौको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बि एण्ड बि अस्पतालमा १/१ जनाको उपचार भैरहेको छ । काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दीको बेनीबजार जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९५२ नंको बस बुधबार विहान सवा ११ बजे सडक बाट ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।