युक्रेनको दोनेत्स्क क्षेत्रमा रुसी आक्रमणबाट दर्जन धेरै सर्वसाधारणको मृत्यृ

161 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । युक्रेनको दोनेत्स्क क्षेत्रमा रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट कम्तिमा डेढ दर्जन सर्वसाधारणको मृत्यु भएको छ ।

दोनेत्स्कको कोस्त्यान्तिनिक्भा शहरमा भएको विष्फोटबाट १ बालकसहित १७ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुले बताएका छन् । घटनामा ३३ जना घाइते भएका छन् ।

रुस–युक्रेन युद्धका क्रममा अहिलेसम्म उक्त शहर शान्त रहेकोमा रुसले निशाना बनाएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनु भएको छ । किनमेलका लागि मानिसहरुको भिडभाड रहेको सडकमा विष्फोटपछि कोलाहल मच्चिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बजार, फार्मेसी र पसलहरु रहेको क्षेत्रमा क्षेप्यास्त्रको निशाना रहेको युक्रेनी अधिकारीहरुले बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गैर सैनिक क्षेत्रमा भएको अहिलेसम्मको दर्दनाक घटना भन्दै निर्दोष मानिसहरुको ज्यान लिएर रुसले अर्को अपराध गरेको भन्दै आक्रोश पोख्नुभएको छ ।

रुसले भने उक्त घटनाप्रति कुनै प्रतिक्रिया जनाएको छैन । आक्रमण भएको शहर बाख्मतबाट १७ किलोमिटर पर रहेको जनाइएको छ ।