ब्रेकिङ समाचार

संविधानमा उल्लेख गरिएको समाजवादको मर्मअनुसार अभ्यास नै गर्न नपाएको देउवाको भनाइ

By Dhading News

September 10, 2023

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा उल्लेख गरिएको समाजवादको मर्मअनुसार अभ्यास नै गर्न नपाएको बताउनु भएको छ। आज पार्टी कार्यालय सानेपामा तीन दिने ‘वीपी साहित्य महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भएपनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको बताउनु भएको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले समयको अन्तरालसँगै मुलुक पनि वीपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको जिकिर गर्नुभयो। कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको उहाँले बताउनुभयो।

वीपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको भन्दै उहाँले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले अहिले पनि वीपी विचारको अनुकरण गर्दै आएको बताउनु भयो।

सभापति देउवाले राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गराउनु वीपीको स्वभाव रहेको जिकिर गर्नुभयो।

वीपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक संघको संयोजनमा सुरु महोत्सव भाद्र २६ गतेसम्म चल्ने छ ।