काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा आज दोस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् ।
काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ ।
शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर्नुपर्ने, शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने माग पनि गरेका छन् ।
त्यसैगरी शिक्षकहरुले शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्नुपर्ने्, शिक्षा विधेयक संशोधन गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।