काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । दलीय राजनीतिमा नलाग्ने भन्दै उहाँले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताउनुभयो ।
तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ ।
विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।’ सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उल्लेख गर्नुभयो ।
संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।’ सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो ।