इजरायलमा ज्यान गुमाएका साहकाे परिवारलाई मधेस प्रदेशले पाँच लाख दिने

107 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । मधेस प्रदेश सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका धनुषा लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार हिजो बेलुका एक शोक वक्तव्यमार्फत् राहतस्वरुप पाँच लाख रुपैयाँ मृतक साहको परिवारलाई दिने बताउनु भएको हो ।

उहाँले आक्रमणमा परि ज्यान गुमाएका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनाहीन कार्य भएको बताउनुभयो ।

जारी विज्ञप्तिमा भनिएको छ ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । अनाहकमा ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’