काठमाडौंको बौद्धमा लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली प्रहार, एक जना घाइते

125 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । काठमाडौंको बौद्धमा लुटेरा समूहलाई नियन्त्रणमा लिन क्रममा प्रहरीले गोली चलाएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो दुई राउण्ड गोली चलाएर लुटेरा समूहलाई नियन्त्रणमा लिएको हो । तीन वटा मोटर साइकल चढेर आएका लुटेरा समूहलाई पिछा गर्दै गएको प्रहरीले जगडोलमा पुग्दा लुटेरा समूहले प्रहरीलाई पेस्तोल ताकेपछि गोली प्रहार गरी उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले त्यस क्रममा दुई राउण्ड गोली प्रहार भएको जानकारी दिनुभयो । प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ का ३६ वर्षीय अमर घलान घाइते भएका छन् । दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेका उनलाई उपचारका लागि जोरपाटीस्थित एनएमसी अस्पतालमा भर्ना गरिएको पनि प्रहरीले जनाएको छ ।

गोली प्रहारपछि सिन्धुपाल्चोकका ३० वर्षीय जितेन लामा र सर्लाहीका ३६ वर्षिय सन्त लामालाई नियन्त्रणमा लिइएको छ । उनीहरूबाट प्रहरीले एउटा पेस्तोल, सात राउण्ड गोली र मोटरसाइकल बरामद गरेको छ ।