अपांगता भएका व्यक्ति सम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको प्रधानमन्त्रीको भनाइ

104 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अपांगता भएका व्यक्तिसम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

आज राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि संकल्प प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । उहाँले अपांगता भएका व्यक्तिहरुको मानव अधिकार रक्षा, उनीहरुको सशक्तिकरण तथा विकासका लागि सरकार सैद्धान्तिक, राजनीतिक तथा व्यवहारिक रुपमा प्रतिवद्ध रहेको बताउनु भयो ।

संघ, प्रदेश र स्थानीय सरकारका वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत अपांगता र फरक क्षमता भएका व्यक्तिहरुको अधिकार संरक्षण, परिचय पत्र वितरण, तथ्यांक संकलनलगायतका लक्षित कार्यक्रम सञ्चालन भईरहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले त्यसलाई थप प्रभावकारी बनाई उनीहरुको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि सरकार लागि परेको बताउनु भयो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहमा वार्षिक रुपमा विनियोजन हुने बजेटमार्फत अपांगता भएका व्यक्तिका लागि थप लक्षित कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको उल्लेख गर्दै ती समस्या समाधान हुने गरी स्थानीय तहलाई सवलीकरण गर्ने काममा आफूहरु लागेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई संविधानको भावना र मर्म अनुसार काम गर्न सक्ने बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।